१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोल्ट्रीका सवारीसाधन चालकलाई ट्राफिक नियम

पोल्ट्री सवारीसाधनका चालक, सहचालकका लागि गरिएको ट्राफिक सचेतना कार्यक्रमका सहभागी।    तस्बिरः सविता/नागरिक

चितवन – गाडीमा ठूलो आवाजमा स्पिकर घन्काउँदै, बत्तिँदै आउने गाडी पोल्ट्री व्यवसायको उत्पादन ओसारपसार गर्ने गाडी हुन् भन्ने छाप आम सर्वसाधारणमा रहेको छ। तीव्र गतीमा हुइँकिने र ठूलो हर्न बजाउने गरेका कारण सर्वसाधारण पोल्ट्रीका सवारीसाधनदेखि तर्सिने गर्छन्। कुखुराका उत्पादन ओसारपसार गर्ने सवारीसाधनबारे सर्वसाधारणमा रहेको यो छाप अझै पनि हट्न नसकेको कुखुरा व्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेल बताउँछन्। 

सवारीसाधन सञ्चालनका नियम कार्यान्वयनमा कडाइ हुन थालेसँगै पोल्ट्रीका सवारीसाधन चलाउने चालकले समेत व्यवहार परिवर्तन गरेको उनले बताए। कुखुरा, चल्ला ओसारपसार गर्ने सवारीसाधन राती चलाउनुपर्ने र बिहान हुनुअघि नै डेलिभरी दिनुपर्ने पेसा भएकाले पनि चालकले सवारीसाधन तीव्र गतीमा चलाउने गरेको उनी स्वीकार गर्छन्। ‘समयमा नै डेलिभरी दिन नसक्दा उत्पादन क्षति हुने हुन्छ,’ उनी भन्छन्, ‘पोल्ट्रीको उत्पादन ओसारपसार गर्नु संवेदनशील पेसासमेत हो।’

पेसाकै संवेदनशीलताका कारण पोल्ट्री क्षेत्रको सवारीसाधनको गति बढी हुने गरेको नेपाल दाना उद्योग संघका वरिष्ठ उपाध्यक्ष शंकर कँडेल बताउँछन्। अरु क्षेत्रका सवारीसाधनका तुलनामा पोल्ट्रीमा सवारी चालक अधिकांश युवक हुन्छन्। युवा जोशका कारण पनि तीव्र गतिमा सवारीसाधन चल्ने गरेको उनले बताए। दाना, अण्डा, कुखुरा, चल्लालगायत पोल्ट्री उत्पादन ओसारपसार गर्ने गाडीको संख्या चितवनमा करिब दुई सयको संख्यामा छन्। पहिले ओसारपसार गर्ने गाडी कम हुँदा र चालकले आराम गर्न नपाउँदा पोल्ट्री उत्पादन ओसारपसार गर्ने सवारीसाधन धेरै दुर्घटनामा पर्ने गर्थे। 

जिल्लाका पोल्ट्रीका सवारीसाधन दिनहुँजसो दुर्घटना हुन्थे। अहिले सवारीसाधन धेरै भएका र आलोपालो गरेर चलाउने गर्दा दुर्घटना कम हुँदै गएको कुखुरा व्यवसायी बताउँछन्। नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेल पोल्ट्री गाडी चालकबारे सर्वसाधारणमा रहेको धारणा परिवर्तन गर्नु आवश्यक रहेको बताउँछन्। पोल्ट्री गाडी चलाउनेले व्यवहार सुधार गरेर, नियमको पालना गरेर मात्र धारणा परिवर्तन गराउन सक्ने उनको भनाइ छ।  

यमबहादुर तामाङले सात वर्ष पोल्ट्री व्यवसायका उत्पादन ओसारपसार गर्ने सवारीसाधन चलाउँदै आएका छन्। बा५ख ४२७२ नम्बरको सवारीसाधनका चालक तामाङ शनिबार ट्राफिक सचेतना कार्यक्रममा सहभागी भए। चितवनबाट काठमाडौं कुखुरा उत्पादन पु¥याउँदै आएका उनी आफुले दैनिक पालना गर्नुपर्ने नियमसँग जानकार भए। सवारीसाधन चलाउँदाका सामान्य नियम थाहा भए पनि दुर्घटना निम्तिने कारणबारे भने उनले यसअघि खासै जानकारी लिएका थिएनन्। 

नेपाल  दाना, अण्डा, कुखुरा वितरक संघ र प्रदेश ३ ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा गरिएको ट्राफिक सचेतना कार्यक्रममा तामाङले सवारीसाधन चलाउँदा पालना गर्नुपर्ने नियम र दुर्घटनाको बारेमा जानकारी लिए। कुखुराका उत्पादन ओसारपसार गर्ने चालक र सहचालकलाई सवारीसाधन चलाउँदाका नयाँ नियमबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे बताउँछन्। कार्यक्रमले यो क्षेत्रमा रहेका बिकृति हटाएर नियमको पालना गर्न चालकलाई झकझक्याउने उनले बताए। 

विश्वमा २० प्रतिशतसम्म मृत्युको कारण सवारीसाधन दुर्घटना बन्ने गरेको छ। नेपालमा दैनिक सातजनाले सवारीसाधन दुर्घटनामा ज्यान गुमाउने गरेका छन्। वर्षमा २५ सयभन्दा बढीको ज्यान दुर्घटनामा जाने गरेको छ। चितवनमा मासिक १६ जनासम्मको मृत्यु सवारीसाधन दुर्घटनामा हुने गरेको छ। हरेक दुई दिनजसोमा एक जनाले दुर्घटनका कारण अकालमा ज्यान गुमाउनु दुःखद् रहेको प्रदेश ३ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं ट्राफिक प्रहरी नायब उपरीक्षक नविनराज राई बताउँछन्। 

सवारीसाधनको संख्या बढेसँगै सडक पूर्वाधार बन्न नसक्दा पनि दुर्घटनाको संख्या बढ्दै गएको उनले बताए। सवारीसाधन चालकले अगाडि मात्र ध्यान नदिई दायाँ, बायाँ र पछाडी समेत ध्यान दिन सवारीसाधन चलाउनुपर्छ। ‘चालकले निश्चित दुरीमा मात्र देख्छ, त्यो भन्दा अगाडीको ब्लाईन्ड स्पट देख्न सक्दैन,’ उनी भन्छन्, ‘सिधा अगाडि हेरेर मात्र सवारीसाधन गुडाइरहँदा दुर्घटनाको जोखिम बढ्छ।’

६० स्पिडमा गुडाइरहेको गाडी ४० मिटरको दूरी पार गरेर मात्र रोक्न सकिने उनी बताउँछन्। एक सेकेन्डका कारण पनि दुर्घटनाको जोखिम बढी हुन्छ। गाडीमा ठूलो आवाजमा स्पिकर घन्काउँदा, मोबाइलमा कुरा गरेर चलाउँदा दुर्घटना धेरै हुने ट्राफिक प्रहरी नायब उपरीक्षक राई बताउँछन्। 

पोल्ट्री सवारीसाधनमा बढीमा तीन जनासम्म बस्न सकिने भए पनि धेरै जना चढेर यात्रा गर्दा पनि जोखिम बढेको छ। त्यसैले पोल्ट्रीका सवारीसाधनमा यात्रा गर्ने चालक, सहचालक वा कति जनाको बिमा गरिएको छ त्यति संख्या र सिट क्षमताअनुसार मात्र यात्रा गनुपर्ने उनले बताए।

प्रकाशित: ७ चैत्र २०७५ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App