१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

लगानी सम्मेलनलाई असर पर्ने गरी आन्दोलन नगर्न आग्रह

काठमाडौं – लगानी सम्मेलनको पूर्वसन्ध्यामा केही लगानीकर्ताले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि नेपाल धितोपत्र बोर्डले सेयर बजार प्रतिकूल गतिविधि नगर्न आग्रह गरेको छ। लगानीकर्ताले सेयर बजार सुधारको माग गर्दै आन्दोलन चर्काउन थालेपछि बोर्ड यस्तो आग्रह गर्न बाध्य भएको हो।

सेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री युवराज खतिवडाको बर्खास्तगी माग गर्दै आठदिने आन्दोलन घोषणा गरेपछि बोर्डले उनीहरुलाई संयमित हुन आग्रह गरेको हो। बोर्डले सोमबार एक विज्ञप्ति जारी गर्दै बजार विकास तथा सुधारका प्रयास भइरहेकोले अवाञ्छित गतिविधि नगर्न अनुरोध गरेको छ।

‘आर्थिक विकासको लागि आर्थिक साधन परिचालनमा धितोपत्र बजारको महत्वलाई दृष्टिगत गरी सरकार तथा बोर्डबाट बजारको सुधार र विकासका लागि द्रुत रुपमा काम भइरहेकोे तथा  सरकारद्वारा गठित मुद्रा तथा पुँजी बजारसम्बन्धी कार्यदलको सुझाव अनुसार केही कार्य सम्पन्न भइसकेका, यससम्बन्धी कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको, बोर्डले कानुनी संशोधनको कार्य अघि बढाइरहेको तथा तोकिएको सीमाभित्र केही सुधार गर्ने क्रममा रहेको छ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यस्तो अवस्थामा राष्ट्रको प्रगतिसँग गाँसिएको आगामी चैत १५ र १६ गते काठमाडौंमा हुन गइरहेको अति महत्वपूर्ण दोस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको पूर्वसन्ध्यामा उक्त सम्मेलनलाई समेत प्रतिकूल प्रभाव पार्ने गरी लगानीकर्ताको हकहित हेर्ने केही लगानीकर्ता संघ–संस्थाबाट आन्दोलनको कार्यक्रम सार्वजनिक भएकोमा त्यसप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ।’

लगानीकर्ताले लगानी सम्मेलनलाई प्रभावित हुने गरी धितोपत्र बोर्ड र नेप्से प्रमुखसम्मको घर घेराउ गर्ने कार्यक्रम तय गरेका छन्। दबाब समूहले घोषणा गरेको अन्दोलनका कार्यक्रममा चैत ९ गते पुँजी बजारविरोधी अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने, १० गते बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गर्ने, ११ गते नेप्सेका अध्यक्ष र कार्यकारीको घर घेराउ गर्ने, १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने, १३ गते बोर्डमा तालाबन्दी गर्ने, १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनालाई नेपालको पुँजी बजारबारे अवगत गराउन विवरणपत्र बुझाउने, १५ गते विदेशी पाहुनासँग छलफल गर्ने र १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्। 

लगानीकर्ताको यस्तो कार्यलाई निरुत्साहित गर्न बोर्डले कडा कदम चालेको हो। ‘नियमनकारी निकायको रुपमा बोर्डले समग्र धितोपत्र बजार र लगानीकर्ताको हितको लागि उल्लेखनीय सुधार र विकासका कार्य गर्दै आइरहेकोमा नियमनकारी निकायको पदाधिकारीको घर घेराउ लगायत अन्य गैरव्यावसायिक तथा अवाञ्छित कार्यक्रमले नियमनकारी निकायलाई कमजोर बनाई बजार विकासको कार्यमा बाधा पुग्ने तथा बजार सुसञ्चालन र लगानीकर्ताको हित संरक्षणमा समेत नकारात्मक प्रभाव पर्नेतर्फ समेत बोर्डको ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सरकारको नीति तथा बोर्डको योजना अनुसार नेपालको धितोपत्र बजारको विकास तथा धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन बोर्डले केही समय अगाडिदेखि धितोपत्र बजार सुधार र विकासका लागि विशेष रुपमा कार्य गर्दै आइरहेको छ।’

लगानीकर्ताले भोगेको समस्या समाधान गर्ने, धितोपत्र बजारलाई स्वस्थ, पारदर्शी र आधुनिक बनाउने, नियमन र सुपरीवेक्षणलाई सुदृढ गर्ने तथा संस्थागत क्षमता र बजारको विकास गर्नमा केन्द्रित रहेको बोर्डको भनाइ छ।

‘२०६४ मा धितोपत्र कारोबारमात्र स्वचालित गरिएकोमा २०७२ माघबाट दोस्रो बजारको कारोबारलाई पूर्णरुपमा अभौतिकीकृत गर्ने अर्थात टी प्लस ३ को पूर्ण कार्यान्वयन, धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आइओएससिआको सदस्यता प्राप्तिसँगै धितोपत्र बजारको अन्तर्राष्ट्रियकरण, लगानीकर्ताहरूले बजारको गहिराइ हेर्न पाउने, धितोपत्रको प्राथमिक निष्कासनमा आस्बा प्रणालीको सफल प्रयोग भई घन्टौं लाइन लाग्ने अवस्थाको अन्त भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘साथै सूचीकृत कम्पनीहरुले प्रदान गर्ने नगद लाभांश तथा सेयरधनीको बैंक खाता तथा डिम्याट खातामा जम्मा हुने, कुनै पनि कम्पनीको आइपिओदेखि सेयरको सूचीकरणको ६ महिनाको अवधिलाई बढीमा ४० दिन र आइपिओ सेयर वितरण समय ९० दिनलाई एक हप्तामा घटाई लगानी लागत उल्लेख्य घटाइएको, सेयरको समावेशी वितरण प्रणाली अन्तर्गत कम्तीमा १० कित्ता पाउने प्रावधानले काठमाडौंलगायत ७७ जिल्लाबाट डिम्याट खातामार्पmत लगानीकर्ताको संख्या बढेको, काठमाडौंकेन्द्रित दोसो बजार काठमाडौंबाहिर ४१ स्थानमा पुगिसकेको र अन्य स्थानमा पनि पुग्ने व्यवस्था गरेको, मर्चेन्ट बैंकिङ र दलाल व्यवसायीको पूर्वाधार क्षमता र सेवा सुदृढ गर्दै लगेको जस्ता महत्वपूर्ण सुधार भई धितोपत्र बजार आधुनिकीकरणको चरणमा प्रवेश गरेको छ।’ 

नेपाल सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न अहोरात्र प्रयासरत रहेको पनि बोर्डको भनाइ छ। ‘लगानीकर्ताको हित संरक्षण गर्दै लगानीमैत्री बजारको विकासको दिशामा बोर्ड अगाडि बढिरहेको र सोको लागि लगानीकर्ता, धितोपत्र व्यवसायी तथा अन्य सम्पूर्ण सरोकारवालाको भूमिकाको समेत उत्तिकै महत्व रहने भएकोले बजार विकासको साझा उद्देश्य प्राप्तिको लागि सबैको सहयोग र सहकार्यको अपेक्षा गर्दै बजार प्रतिकूल गतिविधि नगरी संयम अपनाउन बोर्ड आग्रह गर्दछ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

प्रकाशित: ५ चैत्र २०७५ ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App