१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

अब दुर्गममा पनि बैंक

घोराही – पछिल्लो समय स्थानीय तहमा बैंकिङ सेवा पुगेपछि वर्षौँँदेखि सहज बैंकिङ सेवाबाट विमुख पश्चिम दाङका स्थानीयवासीलाई कारोवारको काममा सहज भएको छ। 

दाङको पश्चिममा पर्ने दङ्गीशरण गाउँपालिकामा एनसिसी बैंक, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, बबई गाउँपालिकामा नेपाल बङ्गलादेश बैँक, भार्गव विकास बैंक, वेष्टर्न डेभलपमेन्ट बैंक र शान्तिनगर गाउँपालिकामा इन्भेष्टमेन्ट बैंकका शाखा स्थापना भएका छन् । 

स्थानीय तहमै बैंक स्थापना भएपछि सरकारी तथा निजी कार्यालयलाई मात्र नभएर व्यक्तिगत कामका लागि पनि सहयोग पुगेको दङ्गीशरण–४ मा रहेको सती बचत तथा ऋण सहकारी सस्ंथाका अध्यक्ष वसन्ती वलीले बताए। “गाउँ ठाउँमै बैंक स्थापना भएपछि हामीलाई टाढा जानुपर्ने बाध्यता हटेको छ”, उनले भने “अहिले बैंकसँगको कारोवार आफ्नै गाउँमा हुने गरेको छ।” 

यस्तै गाउँपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका लागि खाता खोल्ने काम लामो दूरीको यात्रा तय गरी तुलसीपुर वा घोराही बजार पुग्नुपर्ने बाध्यता टरेको दङ्गीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरी बताउन्छन। अहिले कार्यालय नजीकै बैंक स्थापना भएपछि कामकाजमा धेरै सहज भएको अध्यक्ष चौधरीको अनुभव छ। 

बैंक स्थापना भएपछि गाउँमा पुगेको गाउँपालिका र वडा कार्यालयका कर्मचारीलाई समेत सहज भएको छ। बैंककै कारण सरकारी खाता सञ्चालन गर्न सजिलो भएको दङ्गीशरण गाउँपालिका महिला तथा बालबालिका शाखाकी कर्मचारी चन्द्रा वलीले बताइन। “स्थानीय तहमै बैंक छ, नजीकै भएकाले आवश्यकताअनुसार काम पूरा भएको छ,” उनको भनाइ छ । 

गाउँपालिकाको कार्यालय नजीक बैंक स्थापना भएपछि विद्यालयको खातासमेत एनसिसी बैंकमा खोलेको वीरेन्द्र माविका प्रधानाध्यापक खिमराज खनालले बताए। बैंकमा अहिले खाता खोल्ने, बचत, ऋण निकाल्ने र विदेशबाट पैसा आउने सेवा दिइरहेको बैंकले जनाएको छ।
पश्चिम दाङमा सबैभन्दा विकट क्षेत्रका रूपमा मानिने शान्तिनगर गाउँपालिकामा इन्भेष्टमेन्ट बैंक खुलिसकेको छ  यसले शान्तिनगरका जनतालाई तुलसीपुर धाउनुपर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए। 

यस्तै बबई गाउँपालिकामा पनि बैंक स्थापना भएकाले बैंकसँग हुने सम्पूर्ण कारोवार गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए। सरकारले २०७४ सालको साउन महीनामै सबै स्थानीय तहमा बैंक पु¥याउने घोषणा गरेको थियो।

प्रकाशित: २४ फाल्गुन २०७५ १०:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App