६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

हिमपातले गोसाईकुण्ड पदमार्ग अवरुद्ध

रसुवा – हिमपातका कारण गोसाईकुण्ड पदमार्ग एक महिनादेखि अवरुद्ध भएको छ। स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षणका रूपमा रहेको धार्मिक तथा पर्यटकीय स्थल गोसाईकुण्ड जाने धुन्चे–गोसाइकुण्ड पदमार्ग अवरुद्ध भएका कारण पर्यटक चन्दनबारीसम्म पुगेर फर्कने गरेका छन्।

दैनिक १०–१५ जना पर्यटक गोसाईकुण्ड तथा सोही संख्यामा लाङटाङ गइरहेका निकुञ्जले जनाएको छ। गोसाईकुण्ड जाने पदमार्गको चन्दनबारीसम्म जान सकिने भए पनि त्यहाँबाट माथि जान सकिने अवस्था छैन।

नेपालको तेस्रो गन्तव्य स्थल लाङटाङमा जाने पर्यटक पनि क्यान्जिनसम्म मात्रै पुग्ने अवस्था रहेको छ। लाङटाङबाट क्यान्जिन जाने बाटोमा तीन फिट हिउँ जमेको गोसाईकुण्ड गाउँपालिका–४ लाङटाङका वडाध्यक्ष सुप्पा लामाले बताए।

‘बाटोमा तीन फिट जति हिउँ जमेको छ,’ उनले भने, ‘क्यान्जिनसम्म पुग्नका लागि बाटो मात्रै खोलेका छौं।’ दैनिक १५–२० पर्यटक लाङटाङ आइरहेका छन्,’ उनले भने। पर्यटक आउने क्रम बढेपछि स्थानीय आफैंले बाटो खोलेका हुन्।

एक महिनासम्म रुट बन्द हुँदा पर्यटन क्षेत्रमा धेरै घाटा भएको होटल व्यवसायी निशान गजुरेलले बताए। ‘पर्यटकीय क्षेत्रमा जाने रुट बन्द भएको एक महिना भइसक्यो,’ उनले भने, ‘यसमा निकुञ्जले ध्यान दिनुपर्ने हो।’

पर्यटकको आगमन भइरहँदा हिउँ पर्ने समयमा हुनसक्ने जोखिम, जोखिमयुक्त क्षेत्र, पदमार्गमा होटल तथा लज सञ्चालन भए वा नभएको, बाटोको अवस्थाबारे निकुञ्जले सबैलाई जानकारी दिनुपर्छ,’ उनले थपे।

पिक चढ्न अहिले सम्भव नरहेको पर्यटक आउने क्रम बढेको भए पनि गन्तव्य स्थलसम्म पुग्न नसकेका लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए। फागुन १५ देखि वैशाख अन्तिमसम्म पर्यटक आगमनको सिजन भएका कारण पनि अहिले पर्यटक आउने क्रम बढेको हो,’ उनले थपे।

यो निकुञ्जमा बाह्रै महिना पर्यटक आउने गरे पनि मुख्यतया असोजदेखि मंसिर र फागुन १५ देखि वैशाख अन्तिमसम्म पर्यटक आगमन बढी हुन्छ। ‘हिउँ नपग्लिँदासम्म गोसाईकुण्ड तथा विभिन्न पिक चढ्न जान सकिँदैन,’ उनले भने, ‘यसका लागि निकुञ्जले केही गर्न सक्दैन।’

निकुञ्जका अनुसार चालु आर्थिक वर्षको सात महिनामा ६ हजार एक सय दुई विदेशी र एक सय १० सार्क राष्ट्रका गरी ६ हजार दुई सय १२ पर्यटक निकुञ्ज आएका छन्। निकुञ्जले तथ्यांक राख्न थालेदेखि माघ मसान्तसम्ममा दुई हजार तीन सय पाँच स्वदेशी पर्यटक भित्रिएका छन्। निकुञ्ज स्थापना भएदेखि हालसम्म तीन लाख ११ हजार सात सय ५२ पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन्।

निकुञ्ज प्रवेश गर्दा विदेशीलाई तीन हजार, सार्क राष्ट्रका पर्यटकलाई एक हजार पाँच सय, क्याम्पेनिङमा आउनेलाई एक हजार पाँच सय, नेपालीलाई एक सय र भरियालाई २५ रुपयाँ शुल्क लाग्छ।

यहाँ आउने पर्यटक धार्मिकस्थल गोसाईकुण्ड, नेपालको तेस्रो गन्तव्यस्थल लाङटाङ, ऐतिहासिक स्थल रसुवागढी, कालो गाउँको रूपले परिचित गत्लाङ र थुमनको नागथलीमा जान्छन्।
पर्यटकीय जिल्ला रसुवामा धार्मिक, सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक स्थल हुनुका साथै विश्वकै दुर्लभ रेडपाण्डा, हिमचितुवालगायत जीवजन्तुको अध्ययन, अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक भित्रने गरेका छन्।

प्रकाशित: २० फाल्गुन २०७५ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App