२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

विमानस्थल दैनिक १४ घन्टा मात्रै खुल्ने

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ गतेबाट दैनिक १४ घन्टा मात्रै खुला रहने भएको छ। धावनमार्ग मर्मतको लागि विमानस्थल दैनिक १० घन्टा बन्द गर्न लागिएको हो।

अहिले विमानस्थल दैनिक २१ घन्टा सञ्चालनमा छ। चैत १८ गतेबाट भने विमानस्थल दैनिक १४ घन्टा मात्रै सञ्चालनमा आउनेछ। विमानस्थल कार्यालयका अनुसार धावनमार्गको कालोपत्रे उप्काएर नयाँ कालोपत्रे गर्न दैनिक १० घन्टा बन्द गर्न लागिएको हो। अहिले धावनमार्ग पुरानो भएर समस्या छ। धावनमार्ग कालोपत्रे तथा अन्य मर्मतको काम जेठ १० गतेसम्म सकिने अनुमान गरिएको छ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार मर्मतको बेला विहान ८ देखि बेलुका १० बजेसम्म मात्रै विमानस्थल खुल्नेछ। त्यसको लागि अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै आएका आन्तरिक र बाह्य सबै विमान कम्पनीलाई जानकारी गराइसकेको छ। ‘हामीले विमानस्थल बन्द हुनेबारे सबैलाई जानकारी गराइसकेका छौं,’ महाप्रबन्धक क्षेत्रीले भने, ‘चैत्र १८ बाट विमानस्थलले सोही अनुसारको उडान तालिका बनाउनुपर्छ।’

उनका अनुसार रातिको समयमा हुने अन्तर्राष्ट्रिय र बिहानको समयमा हुने आन्तरिक उडान बढी प्रभावित हुनेछन्। ती उडानलाई व्यवस्थित गर्न तालिका मिलाउने काम भइरहेको उनले बताए।  अहिले रातिको समयमा कतार एअरवेज, चाइना साउदर्न, जेट एअर, मलेसियन एअर, मालिन्दो एअर, टर्किस एअर लगायतले राति र बिहानको समयमा उडान गर्दै आएका छन्। ती वायुसेवा कम्पनीलाई विमानस्थलको मर्मत अवधिभर तालिका परिवर्तन गर्न यसअघि नै सूचना जारी गरिसकेको क्षेत्रीले जानकारी दिए।

त्यसैगरी, बिहानको समय ५ देखि ८ बजेसम्म तीन दर्जनभन्दा बढी आन्तरिक उडान हुने गरेका छन्। ती कम्पनीलाई पनि उडान तालिका सोही अनुसार बनाउन भनिएको छ। यद्यपि, विहानको समयमा अन्य दिनमा पनि आन्तरिक उडानको तालिका मिलाउन जटिल हुने विमानस्थललाई मर्मतको बेलामा भने अधिकांश कम्पनीले एउटै समयमा तालिका राख्ने हुँदा उडान व्यवस्थापन चुनौतीको विषय बनेको विमानस्लथका प्रवक्ता प्रतापबाबु तिवारी बताउँछन्। वायुसेवा कम्पनीले उडान तालिका तीन महिनाअघि स्वीकृत गराउनुपर्छ। उडान स्वीकृत गराउँदा तालिका हेरेर उडानको व्यवस्था गरिरहेको उनले बताए। तर, लुक्ला लगायत कतिपय ठाउँमा बिहानकै समयमा उडान गर्नपर्ने बाध्यता छ। पर्यटकीय सिजन भएकाले लुक्लामा चैत, वैशाख र जेठ महिनामा अत्यधिक उडान हुने गर्छ। त्यसले लुक्लाको उडान व्यवस्थापन भने चुनौतीपूर्ण रहेको अनुमान गरिएको छ। विमानस्थलको मर्मत अत्यावश्यक भएको र अन्य अन्तर्राष्ट्रिय विमानस्थल पनि तयार भइनसकेको अवस्थामा उडान व्यवस्थापनको चुनौती भने छ।

धावनमार्ग कालोपत्रेको लागि चाइना नेसनल एरोटेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग मर्मतको ठेक्का तीन अर्ब ७५ करोड रुपैयाँमा दिएको हो। प्राधिकरणले सन् २०१४ मा विमानस्थल सुधार कोष बनाएर विमानस्थल विकास शुल्कको नाममा अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीबाट प्रतियात्रु एक हजार रुपैयाँ संकलन गर्दै आएको छ। सोही शुल्कबाट विमानस्थलको धावनमार्ग मर्मत गर्न लागिएको प्राधिकरणले जनाएको छ। उक्त शुल्क बापत उठेको रकम हालसम्म सात अर्बभन्दा बढी रुपैयाँ छ।

चिनियाँ कम्पनीले तीन हजार ५० मिटर लामो धावनमार्गमा कालोपत्रे गर्नेछ। विमानस्थल सञ्चालनमा आएदेखि नै धावनमार्ग पूर्णरूपमा मर्मत गरिएको छैन। पटकपटक धावनमार्गको माथिल्लो भाग कालोपत्रे गर्ने र सामान्य मर्मत मात्रै हुने गरेकामा पहिलोपटक कालोपत्रे उप्काएर पूर्ण रुपमा मर्मत गर्न लागिएको विमानस्थल कार्यालयले जनायो।

चिनियाँ कम्पनीले ४९ दिनभित्रै धावनमार्ग मर्मत सक्ने प्रतिबद्धता जनाएको छ। प्राधिकरणले भने कम्पनीलाई ७० दिनको समय दिएको छ। कम्पनीले दैनिक ८० मिटरभन्दा बढी धावनमार्गमा ३० देखि ५३ सेन्टिमिटर बाक्लो कालोपत्र गर्ने जनाएको छ।

धावनमार्गको मर्मतपछि त्रिभुवन विमानस्थल २४ सै घन्टा सञ्चालनमा ल्याउने तयारी भइरहेको विमानस्थलका महाप्रबन्धक क्षेत्रीले जानकारी दिए।

प्रकाशित: २० फाल्गुन २०७५ ०१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App