४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेयर खरिदमा प्यान लगाउने विषयमा विवाद

काठमाडौं – सरकारले नयाँ वर्षदेखि सेयर खरिदमा अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लगाउने तयारी गरिरहेका बेला लगानीकर्ता त्यसको विरोधमा उत्रिएका छन्। सरकारले वैशाखदेखि सेयर खरिद गर्दा अनिवार्य रुपमा प्यान लगाउने तयारी गरेको छ। तर, लगानीकर्ता भने अनिवार्य होइन् ऐच्छिक बनाउनु पर्ने भन्दै विरोधमा उत्रिएका छन्। योे विवाद अहिले चर्किदै गएको छ। 

सरकारले २०५८ को आयकर ऐनमा अनिवार्य प्यानको व्यवस्था गरेकाले त्यही अनुसार सेयर खरिदमा पनि लागू गर्न लागेकोे सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बताए। ‘सेयर बजार निरन्तर ओरालो लागेका बेलामा प्यान लगाउँदा झनै समस्या आउने भएकाले यसलाई ऐच्छिक रुपमा राखिनुपर्छ,’ उनले सोमबार नागरिकसँग भने, ‘घट्दो सेयर बजामा प्यान लगाउँदा लगानीकर्तालाई हतोत्साहित पार्ने र बजार झनै घट्ने सम्भावना हुने भएकाले हतारमा लागू गर्न हुँदैन।’ सरकारले सेयर बजारलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउनुपर्नेमा लगानीकर्तालाई ढोका बन्द गर्ने काम गर्न नहुने उनको भनाइ छ।

सरकारले ऐन आएको १७ वर्षपछि सेयर खरिदमा प्यान लगाउँदा पनि विरोध गर्नुको तुक नहुने धारणा सार्वजनिक गर्दै आएको छ। 

नेपाल धितोपत्र बोर्डले सोमबार आयोजना गरेको कार्यक्रममा सरकारी अधिकारी र लगानीकर्ताले आ–आफ्नो भनाइ राखेका थिए। आन्तरिक राजस्व कार्यालय बत्तिसपुतलीका प्रमुख कर अधिकृत टंकनाथ पौडेलले प्यान सम्बन्धी कानूनी व्यवस्था, प्यान लिने प्रक्रिया तथा आवश्यक कागजात र प्यान लिँदाका फाइदा सम्बन्धमा लगानीकर्तालाई जानकारी गराएका थिए।

सरकारको चालु आवको बजेटमार्फत धितोपत्रको दोस्रो बजारमार्फत सेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसै अनुसार आगामी वैशाखदेखि लागू गर्ने तयारी गरिएको हो।

कार्यक्रममा नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पुँजी बजार लगानीकर्ता संघ, नेपाल पुँजी बजार संघ र सेयरलगानीकर्ता दबाब समूह गरी लगानीकर्ताका पाँच संस्थाका पदाधिकारी उपस्थित थिए।

उक्त कार्यक्रममा पाँच संघ संस्थाका पदाधिकारीले लगानीकर्ता प्यानको विरोधी नरहेको धारणा राखेका थिए। तर, बजार ओरालो लागेको समयमा प्यान लागू गर्नु व्यवहारिक नहुने तर्क लगानीकर्ताको छ। 

लगानीकर्ताले प्यान स्वतःस्फूर्त रुपमा लिने वातावरण बनाउनु पर्ने र प्यान लिन देशभर सहज व्यवस्था नभएकाले सहज बनाएर मात्र लागू गर्न सरकारलाई सुझाव दिएका थिए। उनीहरुले देशको भौगोलिक अवस्थाका साथै अन्य व्यवहारिक पक्षलाई समेत मध्यनजर गरी प्यान २०७६ वैशाख १ देखि अनिवार्य रुपमा लागू नगरी चरणबद्ध रुपमा ऐच्छिक रुपमा लिने व्यवस्था लागू गर्नुपर्ने धारणा राखेका थिए। कार्यक्रममा धितोपत्र दलाल व्यवसायीले हालै सञ्चालनमा ल्याइएको कारोबार प्रणाली तथा सिडिएससीको प्रणालीमा समेत प्यान इन्ट्री गर्ने व्यवस्था नरहेको भन्दै यसमा प्राविधिक समस्यासमेत रहेको बताएका थिए।

कार्यक्रममा लगानीकर्ताका तर्फबाट राखिएका जिज्ञाशाको सम्बोधन आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत पौडेल तथा उपस्थित अन्य कर अधिकृत गरेका थिए। बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले स्थायी लेखा नम्बरका सम्बन्धमा रहेका समस्या तथा व्यवहारिक पक्षबारे जानकारी गराएका थिए। सेयर बजारमा प्यान लागू गर्ने विषय प्राविधिक विषयसमेत भएकाले यसका व्यवहारिक पक्ष र बजारको अवस्थालाई समेत ध्यान दिई सम्पूर्ण पक्ष अघि बढ्नुपर्ने धारणा राख्दै उनले लगानीकर्ताका तर्फबाट प्राप्त सुझाव तथा राखिएका विचार सरोकारवाला निकायसमक्ष राखी आवश्यक सहजीकरणका लागि बोर्ड तयार रहेको जानकारी गराए। बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बैंशाख १ गतेदेखि लागू गर्ने तयारी भए पनि लगानीकर्ताको व्यवहारिक पक्षलाई ध्यानमा राखेर पछि धकेल्न सकिने सम्भावना रहेको बताए। बोर्डका अर्का कार्यकारी निर्देशक परिष्टनाथ पौडेलले सेयर बजार सुधारका कार्यक्रम भइरहेको जानकारी गराएका थिए।

प्रकाशित: १४ फाल्गुन २०७५ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App