बर्दिया – बहुप्रतिष्ठित आयोजना भेरी बबई डाइभर्सनबाट बबई नदीमा खसालेको पानी किसानको खेतसम्म पुर्याउन बबई सिँचाइ आयोजनाले नहर निर्माण कार्यलाई तीव्र पारेको छ।
बबई सिँचाइले भेरी बबई डाइभर्सनबाट खसालेको ४० क्युमेक्स पानी बाह्रै महिना किसानको खेतसम्म पुग्नेगरी काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
जग्गा अधिग्रहण गरेर नहर विस्तार कार्य प्राथमिकताका साथ अघि बढाइएको बबई सिँचाइका प्रमुख कुञ्जनभक्त श्रेष्ठले बताए। ‘पुराना र नयाँ संरचना चुस्त र दुरुस्त छन्,’ उनले भने, ‘पुरानो संरचना स्तरोन्नति भएका छन् भने नयाँ संरचना निर्माण कार्य बेरोकटोक अघि बढेकोे छ।’
नाकाबन्दी र आन्दोलनका कारण सुस्ताएको आयोजनाले नहर र स्लाप निर्माणलाई तीव्रता दिएको छ। ‘विगतका वर्षमा इन्धन अभाव, आन्दोलन र निकुन्जभित्र समस्या भएको थियो,’ उनले भने, ‘समय अनुकूल हुनासाथ आयोजनाको लक्ष्य मिट गरिसक्यो।’
हालसम्म पूर्वतर्फ मूल नहरबाट चारवटा शाखा र १७ वटा उपशाखास्तरका नहर निर्माण भइसकेका छन्। उक्त नहरलाई सवलीकरण, स्तरोन्नति र पुनरुत्थान गर्ने काम भइरहेको आयोजनाले जानकारी दिएको छ। पूर्वतर्फ मूल नहरमा कंक्रिट लाइनिङ गर्न बँकी रहेको चार किमि खण्ड यो वर्ष सक्ने योजना रहेको छ। पूर्वतर्फ २१ हजार हेक्टरमध्ये १७ हजार हेक्टरमा पानी पुगेको छ।
पश्चिमतर्फ १५ हजार हेक्टरमा सिँचाइ गर्न ४२ किमि मूल नहर गुलरियासम्म पुर्याउने लक्ष्य रहेकामा हालसम्म २० किमि मूल नहर पक्की बनाउने काम सम्पन्न गरेर परम्परागत रुपमा रहेका सबै शाखा÷उपशाखामा सिँचाइ भइरहेकोे छ।
पश्चिमतर्फ जम्ती, वर्गदा र उत्तर कुलोमा पनि सिँचाइ पुगेको छ। वर्गदा र जम्तीकुलोको पुनरुत्थान र स्तरोन्नति कार्य अघि बढेको छ। चाइना गेटबाट पानी दिइँदै सिँचाइ भइरहेकाले पुनरुत्थान र स्तरोन्नतिका लागि यो वर्ष विस्तृत इन्जिनियरिङ अध्ययन गरी निर्माण अघि बढाइएको आयोजना प्रमुख श्रेष्ठले बताए।
उनका अनुसार स्वीकृत १२ अर्ब ३७ करोडको गुरुयोेजना भौतिक प्रगति ५८ र वित्तीय प्रगति ४७ प्रतिशत भएको छ। आयोजनाको पूर्ण विकासका लागि १७ देखि ३६ अर्बको गुरुयोजना पेस गरिएको छ।
बबई डाइभर्सन सुरु भएपछि पूर्वी र पश्चिममा निर्माण भएको नहरको क्षमता विस्तार पनि जरुरी रहेको विज्ञहरुले औल्याएका थिए। आयोजनाले बबई डाइभर्सनबाट बगाएको पानीलाई थेग्न सक्नेगरी पूर्वी सिँचाइ र पश्चिम प्रणाली क्षमता विस्तारको काम भइरहेको छ।
दुई वर्षअघि पूर्वी सिँचाइ प्रणालीले १९ हजार हेक्टरमध्ये १३ हजार दुई सय ४० र पश्चिम सिँचाइ प्रणालीले १० हजार हेक्टर जग्गा सिञ्चित भइहेको थियो।
बबईमा आएको बाढीका कारण नहरमा क्षति पुर्याउँदा स्थानीय किसान सिँचाइ सुविधाबाट वञ्चित भएको स्थानीय केशव रानाले बताए। सिँचाइ सुविधा पुगेको ठाउँमा पहाडी जिल्लावासीले घडेरी किन्न थालेको उनले सुनाए। भेरी डाइभर्सन आयोजनाले काम सुरु गरेपछि नहरको क्षमता बढाउँने र नयाँ नहर निर्माण गरेर गाउँगाउँमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिइएको छ। बजेट न्यून भएका कारण आयोजना सम्पन्न हुन समय लागेको आयोजना प्रमुख श्रेष्ठले बताए। उनका अनुसार आयोजनाको साघुरो लक्ष्यका कारण विगत ३० वर्षमा जम्मा ६ अर्ब खर्च गर्न सकिएको हो। ‘भेरी बबई बहुउद्देश्यीय आयोजनाबाट वर्षभरी ४० क्युमेक्स पानी प्राप्त हुने र राष्ट्रिय गौरवको आयोजनाको हैसियत प्राप्त भएपछि वित्तीय विनियोजनमा खासै समस्या छैन,’ उनले भने, ‘विभाग र मन्त्रालयको राम्रो सहयोग आयोजनाले पाएको छ।’
पूर्वतिर १९ हजार र पश्चिमतर्फ २१ हजार हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य रहे पनि पूर्वतर्फको १३ हजार दुई सय ४० हेक्टरको सम्भाव्यता अध्ययन २०३५ मा पूरा भएको थियो। प्रथम चरणको इन्जिनियरिङको काम २०४० मा सम्पन्न भएपछि नेपाल सरकारले वृहत सिँचाइ आयोजनाको काम पूरा गर्न आफ्नै आन्तरिक स्रोतबाट २०४५ देखि काम सुरु गरिरहेको छ।
पूर्वी नहरबाट जग्गा सिञ्चित भएसँगै आयोजनाले पश्चिम नहर विस्तार कार्य सुरु गरेपछि स्थानीय हर्षित भएको आयोजनाका पूर्वी नहर अध्यक्ष बलिराम थारुले बताए। ‘पश्चिम नहर प्रणाली सुरु भएपछि असन्तुष्ट किसानका समस्या सम्बोधन गरिएको छ,’ उनले भने, ‘जग्गा अधिग्रहण र भौतिक निर्माण कार्य धमाधम भइरहेको छ।’
पश्चिम बबई सिँचाइ आयोजनाले काम पूरा भएमा कालिका, महम्मदपुर, मोतिपुर, मैनापोखरलगायत ११ गाविस र गुलरिया नगरपालिका क्षेत्रमा सिँचाइ सुविधा पुग्ने आयोजनाले जनाएको छ। ‘सिँचाइ पुगेका जग्गामा उत्पादन राम्रो होस् भनेर किसानले स–सानो ठाउँमा व्यावसायिक खेती गर्न सुरु गरिसकेका छन्। सिँचाइ पुगेको ठाउँमा तेब्बरभन्दा बढी धान उत्पादन भइरहेको कृषि विकास कार्यालयले जनाएको छ।
प्रकाशित: ६ फाल्गुन २०७५ ००:५९ सोमबार