coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड

नेपालगन्ज – नेपाल–भारत खुल्ला सिमानाका कारण नेपालगन्जमा दैनिक उपभोग्य वस्तुको मूल्य घटबढ हुने गरेको छ। उपभोक्तालाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु प्रायः यहाँका व्यापारीले भारतबाटै आयात गर्छन्। भन्सार महसुल तिरेर आयात हुने र अवैध रुपमा भित्रिने सामानको बिक्री मूल्य फरक पर्छ। यसले नेपालगन्जको बजारलाई समेत प्रभाव पार्ने गरेको व्यापारी बताउँछन्। पसलपिच्छे दैनिक उपभोग्य प्वस्तुको मूल्यमा अन्तर देखिन्छ।

नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं किराना व्यवसायी संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपाल–भारत खुल्ला सिमानाले गर्दा उपभोग्य वस्तुको मूल्य सधैं तलमाथि हुने गरेको तर्क गर्छन्। ‘नेपाल–भारत खुल्ला सिमानाले नेपालगन्जको बजारलाई प्रत्यक्ष प्रभाव पारेको छ,’ मन्सुरीले भने, ‘जसले १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट तिरेर व्यापार गरिरहेको छ, उसले थोरै नाफा खाएर बिक्री गर्दा थोरै महँगो पर्न जान्छ, कसैले दुई नम्बरी सामान सस्तो मूल्यमा बेच्न सक्छ।’

खुला सिमानाकै कारण उपभोग्य वस्तुको मूल्यमा घटबढ हुने गरेको उनी बताउँछन्। खुल्ला सिमाना र भारतीय बजार रुपैडिहामा सस्तो मूल्यमा सामान पाईन्छ भन्ने गलत बुझाईका कारण नेपालगन्जको व्यापार, व्यवसाय चौपट भएको संघका वरिष्ठ उपाध्यक्ष मन्सुरी बताउँछन्। भन्सार चेकजाँचमा कडाइ गर्न सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको उनको गुनासो छ।

चामल र चिनीबाहेक अधिकांश उपभोग्य सामान नेपालगन्जमै सस्तो मूल्यमा पाउने किराना व्यवसायी संघका अध्यक्ष मन्सुरीले बताए। ‘नियम अनुसार एक हजारभन्दा बढी मूल्यको सामानमा नेपाल सरकारले भन्सार महसुल लिनुपर्छ, तर त्योभन्दा बढी मूल्यको सामान पनि खुलेआम आयात भइरहेको छ। यसले नेपालगन्जको सिंगो व्यवसायलाई धराशयी पार्ने काम गरिरहेको छ,’ उनले भने ‘भन्सारमा कडाइ भए नेपाली उपभोक्ताले आफ्नै ठाउँमा सस्तो र गुणस्तरीय उपभोग्य वस्तु पाउँछन्।’

केही सामानबाहेक नेपालगन्ज र भारतीय बजार रुपैडिहाको मूल्यमा खासै अन्तर रहेको पाइँदैन। तरपनि सस्तो मूल्यको सामान खोज्दै रुपैडिहा पुग्ने उपभोक्ताको दैनिक रुपमा ठूलो भीड लाग्ने गरेको छ। आफ्नो देशमा उपभोग्य वस्तुको मूल्य बढेर थेग्नै नसक्ने भएपछि सस्तो मूल्यको सामान खोज्न रुपैडिहा आउनु परेको नेपाली उपभोक्ता बताउँछन्। रुपैडिहा बजारमा सामान किन्न पश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट उपभोक्ता सिमा प्रवेश हुने गरेको पाइएको छ। नेपाली उपभोक्ताहरु दैनिक उपभोग्य बस्तु, कपडा तथा हार्डवेयर सामान खरिद गर्न रूपैडिहा पुग्छन्।

‘हाम्रो देशमा हरेक सामानको मूल्य बढेको बढ्यै छ, मूल्य नियन्त्रण गर्न सरकारलाई कुनै चासो छैन,’ जुम्ला तिला गाउँपालिकाका धर्मराज चौलागाईंले भने ‘सरकारले मूल्य नियन्त्रण नगर्दासम्म उपभोक्ताले भारतीय बजार धाइरहन्छन्।’ उद्योग व्यापार संघ रुपैडिहाका अनुसार रुपैडिहामा दैनिक रुपमा पाँच करोड रूपैयाँ बराबरको कारोबार हुन्छ। रुपैडिहा बजार नेपाली उपभोक्ताकै भरमा चलेको संघका महामन्त्री रजा इमाम रिजवीले बताए।

‘रुपैडिहा नेपाली उपभोक्ताले नै चलाएको बजार हो, उपभोक्ता चलाख छन्, जहाँ सस्तो पाउँछन्, उपभोक्ताहरु त्यहाँ गएर खरिद गर्छन्,’ उनले भने। रुपैडिहा बजारमा पनि व्यापारीबीच आन्तरिक रुपमा अस्वस्थ प्रतिस्पर्धा देखिन्छ। उपभोक्ताको लागि पसलमा मूल्य सूची राखिँदैन। सरकारी निकायको पनि त्यति निगरानी हुँदैन। सामानको गुणस्तर र मूल्यमा व्यापारीको मनपरी छ। संघका महामन्त्री रिजवी भन्छन्, ‘महँगीको मारमा परेका नेपाली उपभोक्तालाई रुपैडिहा बजारले स्वाभाविक रुपले राहत दिएको छ, तर यहाँ पनि सिस्टमको व्यापार छैन, सरकारको निगरानी छैन, व्यापारीले सामान खरिद गरेर ल्याउँछन्। त्यसमा १० प्रतिशत नाफा जोडेर सामान बिक्री गर्छन्।

प्रकाशित: २२ माघ २०७५ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App