९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

प्यानको विरोधमा लगानीकर्ता

काठमाडौं  – सेयर बजार निरन्तर ओरालो लागेका बेला वैशाख १ देखि साना लगानीकर्तालाई पनि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने सरकारको तयारीप्रति विरोध सुरु भएको छ।

लगानीकर्ता संघका पदाधिकारीहरु आइतबार नेपाल धितोपत्र बोर्ड पुगेर साना लगानीकर्तालाई वैशाखदेखि नै प्यान लगाउन उचित नहुने भन्दै सुझावसहित विरोध जनाए। संघका पदाधिकारीले शुक्रबार नेपाल स्टक एक्सचेन्जमा गएर यस्तै विरोध गरेका थिए।

सरकारले आगामी वैशाख एकदेखि दोस्रो बजारमार्फत सेयर खरिद गर्ने सबैले अनिवार्य रुपमा प्यान लिएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गर्न थालेको छ। अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई गत कात्तिक १५ मा निर्देशन दिंदै वैशाख १ देखि दोस्रो बजार मार्फत हुने सेयर कारोबारमा अनिवार्य रुपमा प्यान लगाउने व्यवस्था गर्न भनेको थियो। यसैअनुसार बोर्डले प्यान लगाउने तयारी गरेको हो।

लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले सेयर बजार ओरालो लागेको बेला भ्याट, प्यान र  कालोधनको विषय प्रवेशले अझै धराशयी बनेको बताइन्। ‘सेयर बजार थिलथिलो भएको अवस्थामा सरकारले वैशाख १ देखि प्यान अनिवार्य गर्नु उचित हुँदैन,’ उनले आइतबार नागरिकसँग भनिन्, ‘लगानीकर्ता प्यानविरोधी होइनन्; लगाउनुपर्छ। तर, वैशाखदेखि नै लगाउने निर्णय अलि हतारो भयो भन्ने हो।’ 

उनका अनुसार सेयर बजार निरन्तर ओरालो लागेको बेला पुनः प्यान अनिवार्य गर्नु भनेको बजारमा लगानीकर्ताको प्रवेश निषेध गर्नु जस्तै हो। ठूला लगानीकर्ता अहिले पनि प्यानमा दर्ता छन्। साना लगानीकर्तालाई पनि वैशाखदेखि नै अनिवार्य गरिनु उचित हुँदैन। १०–१५ कित्ता भएका गाउँका मनिसले काठमाडौं आएर प्यान लिनुपर्ने व्यवस्था व्यावहारिक नहुने तर्क पोख्रेलको छ।

अहिले पनि १० लाखभन्दा बढीको सेयर खरिद गर्नेले अनिवार्य रुपमा प्यान लिनुपर्ने व्यवस्था छ। ‘विदेशको देखासिकी गरेर साना लगानीकर्तालाई अहिले नै प्यानमा दर्ता हुनुपर्छ भन्नु मुर्खता हो,’ उनले भनिन्, ‘यो त बामे सर्न लागेको सेयर बजारलाई ठूलो भारी बोकाइदिए जस्तै हो।’

लगानीकर्ताहरुले विरोध सुरु गरे पछि बोर्डले आइतबार विज्ञप्ति जारी गर्दै हालका दिनमा बजार तथा विभिन्न सञ्चार माध्यममा स्थायी लेखा नम्बरको विषयलाई लिएर भइरहेको नकारात्मक टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ। 

बोर्डका अनुसार चालु आवको बजेट र बजेट कार्यान्वयन कार्ययोजनामा दोस्रो बजारमार्फत सेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिने व्यवस्था गरिएको छ। बोर्डले यही व्यवस्थालाई कार्यान्वयन गर्न खोजेको बताउँदै विवादको समाधान वार्ता र छलफलबाट हुने जनाएको छ। 
बक्समा

नेप्से ११६२.०९ बिन्दुमा

आइतबार नेप्से परिसूचक १०.६८ बिन्दुले घटेर ११६२.०९ मा बन्द भएको छ। यस दिन ३४ करोड तीन लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

साताको पहिलो दिन आइतबार एक सय ६४ कम्पनीका ११ लाख ८५ हजार आठ सय ७२ कित्ता सेयर किनबेच भएको छ। उक्त दिन १० वटै उपसूचक ओरालो लागे। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ९३.७५ बिन्दुले घटेको छ। यस्तै जीवन बिमा समूहको ६९.९३, उत्पादन तथा प्रशोधन २१.६४, हाइड्रोपावर १६.४१, माइक्रोफाइनान्स १२.६९, होटल १२.५२, विकास बैंक १०.०३, वाणिज्य बैंक ८.३९ अन्य ४.४६ र फाइनान्स १.८ बिन्दुले ओरालो लागे।

आइतबार अपर तामाकोसीको सबैभन्दा धेरै कारोबार भएको छ। तामाकोसीको तीन करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

 

प्रकाशित: १४ माघ २०७५ ०७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App