१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

चिनी मूल्यमा फेरि खेल

सिजन सुरु भइसक्दा चिनी उद्योग नचलेपछि किसानले सस्तोमा बेचेको उखु पेल्दै कपिलवस्तुको शिवराज नगरपालिका–७ स्थित गणपति गुड उद्योग। फाइल तस्बिर : नागरिक

काठमाडौं- सरकारले उद्योगीको माग अनुसार आयातित चिनीमा कडाइ गर्न भन्सार महसुल बढाए पनि चिनी उद्योगीले त्यसको फाइदा उठाउँदै फेरि मूल्य बढाएका छन्। उपभोक्तालाई भार पर्ने गरी चिनी उद्योगीले फ्याक्ट्री मूल्य नै किलोमा सात रुपैयाँ बढाएका हुन्।

नेपाल चिनी उद्योग संघका अनुसार यो वर्ष चिनीको फ्याक्ट्री मूल्य किलोको ७८ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ। गत वर्षको तुलनामा मूल्य ६ रुपैयाँ ९१ पैसा बढी हो। गत वर्ष फ्याक्ट्री मूल्य ७१ रुपैयाँ १९ पैसा थियो। 

उपभोक्तासम्म पुग्दा चिनीको मूल्य ८५ देखि ९० रुपैयाँ पर्छ। फ्याक्ट्री मूल्य बढेपछि बजारसम्म पुग्दा चिनी किलोमै १५ देखि २० रुपैयाँसम्म मूल्य बढ्ने व्यापारी बताउँछन्। यसको प्रभाव केही समयपछि बजारमा देखिनेछ। सरकारले उखुको मूल्य नबढाए पनि उद्योगीले चिनी आयातमा प्रतिबन्ध लागेको मौका छोपेर भाउ बढाउने निर्णय गरेका हुन्। अहिले वृद्धि गरेको मूल्य यो वर्ष उत्पादित चिनीका लागि हो। चिनी उद्योगले यो वर्ष उखु क्रसिङ गर्ने तयारी गरेका छन्।

सरकारले उखुको न्यूनतम मूल्य प्रतिक्लिन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा तोकेको छ। गत वर्षको मूल्य पनि प्रतिक्लिन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा नै थियो। उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि अनुसार किसानले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले थप अनुदान पाउँछन्। अनुदान घटाउँदा किसानले उद्योगीबाट प्रतिक्लिन्टल उखुको चार सय ७१ रुपैयाँ २८ पैसा पाउँछन्। एक क्विन्टल उखुबाट नौ किलो चिनी तयार हुने बताइन्छ। 

अघिल्लो वर्ष मूल्य तोक्दा मर्कामा परेकाले यो वर्ष चिनीको मूल्य बढाउनु परेको नेपाल चिनी उद्योग संघका उपाध्यक्ष राजकुमार अग्रवालले बताए। ‘लागत बढेकाले गत वर्षको मूल्यमा चिनी उद्योग सञ्चालन गर्न नसक्ने अवस्था भएकाले मूल्य बढाएका हौं,’ अग्रवालले भने, ‘नयाँ मूल्यको बारेमा सरकारलाई जानकारी गराइसकेका छौं।’ सरकारले उखुको मूल्य निर्धारण गरे पनि चिनीको मूल्य भने उद्योगले नै तोक्ने भएकाले कार्यान्वयन हुने उनले बताए। ‘फ्याक्ट्री मूल्य किलोको ७८ रुपैयाँ १० पैसा तोके पनि उपभोक्तासम्म पुग्दा किलोको ८५ देखि ९० रुपैयाँ पुग्छ,’ उनले भने, ‘चिनी उद्योगले न्यूनतममात्र नाफा राखेका छौं।’

संघका अनुसार चिनीमा उखुको लागत मूल्य किलोको ५३ रुपैयाँ ४८ पैसा, प्रशोधन खर्च १३ रुपैयाँ ४७ पैसा, मोलासिस बिक्री रकम कट्टा दुई  रुपैयाँ ६५ पैसा, चिनी उत्पादनको जम्मा लागत खर्च ६४ रुपैयाँ ३० पैसा, चिनी उद्योगको ७.५ प्रतिशत मुनाफा चार रुपैयाँ ८२ पैसा, १३ प्रतिशत मूल्य अभिवृद्धिकरले आठ रुपैयाँ ९९ पैसा जोड्दा फ्याक्ट्री मूल्य किलोको ७८ रुपैयाँ १० तोकिएको हो।

चिनी उद्योगीलाई जति सहुलित दिए पनि उपभोक्तालाई मार पार्ने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। उद्योगीकै आग्रहमा स्वदेशी उद्योगलाई संरक्षण गर्न सरकारले गत वर्ष विदेशबाट आयात हुने चिनीमा कर बढाएको थियो। चिनी आयातको भन्सार महसुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पु-याएको थियो। वार्षिक एक लाख टन चिनीमात्र आयात गर्न पाइने गरी कोटा निर्धारण गरेको थियो। जति सहुलियत दिए पनि चिनी उद्योगीलाई नपुगेको मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए। 

‘सुविधा दिए पनि हरेक वर्ष मूल्य बढाएका छन्,’ ढकालले भने, ‘उपभोक्तालाई मर्कामा पारे विदेशबाट सस्तो चिनी ल्याउँछौं।’ भारतमा चिनी किलोको ३५ रुपैयाँ नेपाली पर्ने भएकाले अस्वाभाविक मूल्य बढाए विदेशबाट चिनी आयात गर्ने उनले बताए। विगतमा मनपरी ढंगले चिनीको मूल्य वृद्धि गरेको भन्दै संसदीय समितिले चिनीको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको थियो। 

उखु किन्न चिनी उद्योगी सहमत
सरकारले निर्धारण गरेको उखुको मूल्य किसानलाई दिन नसक्ने भन्दै चिनी मिल सञ्चालन नगरेका उद्योगीले उखु किन्न सहमति जनाएका छन्। उखु किसान र चिनी उद्योगीबीच बुधबार भएको छलफलपछि बिहीबारबाट चिनी उद्योग सञ्चालन गर्न सहमत भएका हुन्।

मंसिरको दोस्रो साताबाट उखु क्रसिङ सुरु हुनुपर्ने भए पनि उखुको मूल्य धेरै निर्धारण गरेको भन्दै उद्योगीले मिल बन्द गरेर राखेका थिए। बन्द रहेका १४ वटै चिनी उद्योग सञ्चालन गर्ने सहमति भएको उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए। 

‘चिनी उद्योगले उत्पादन गरेको चिनी नबिके सरकारी संस्थानलाई चिनी किन्न अनुरोध गर्ने सहमति भएको छ,’ मैनालीले भने, ‘सरकारले तोककै मूल्य दिने सहमति भयो।’ चिनी नबिके किसानलाई भुक्तानी गर्न सरकारसँग सहुलियत ब्याजका लागि अनुरोध गर्ने मैनालीले बताए। 

चिनी उद्योगीले भने चिनी बिकेपछि उखु किसानलाई भुक्तानी दिने गरी उद्योग चलाउने जनाएका छन्। ‘चिनी बिकेपछि भुक्तानी दिन्छौं,’ नेपाल चिनी उद्योग संघका उपाध्यक्ष अग्रवालले भने, ‘एक–दुई दिनमा सबै उद्योगले उखु लिन सुरु गर्छन्।’ विगतमा उखु किनेको महिनौंसम्म किसानको रकम भुक्तानी नगरेपछि केही उद्योगीलाई प्रहरीले पक्राउसमेत गरेको थियो।

चिनी उद्योग सञ्चालनमा नआउँदा किसानका बारीमा उखु सुक्न थालेका थिए। गत वर्षभन्दा यो वर्ष उखु राम्रो भएकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ। गत वर्ष दुई करोड ६ लाख टन उखु उत्पादन भएको थियो। ‘यो वर्ष दुई करोड ३० लाख टन उखु उत्पादन भएको अनुमान छ,’ अध्यक्ष मैनालीले भने। चिनी उद्योगीका कारण किसानमात्र नभएर उपभोक्ता समेत मारमा पर्दै आएका छन्। चिनी उद्योगी र उखु उत्पादक किसानबीच हरेक वर्ष चिनीको मूल्य निर्धारणमा विवाद हुँदै आएको छ। मजदुर ज्याला, मलखाद, औषधि लगायतको मूल्य वृद्धिका कारण उखु उत्पादन लागत बढिरहेको किसान बताउँछन्। उखु किसानले रकम पाउन सधैं आन्दोलन गर्नुपर्ने अवस्था छ।

प्रकाशित: २६ पुस २०७५ ०३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App