रसुवा - सन् २०१८ मा रसुवागढी नाका हुँदै २९ हजार पर्यटक नेपाल आएका छन्। अध्यागमन कार्यालय रसुवागढीका अनुसार १२ महिनामा २९ हजार एक सय ५४ चिनियाँ तथा विदेशी पर्यटक नेपाल आएका हुन्। सन् २०१६ मा चार हजार नौ सय ६१ र सन् २०१७ मा १७ हजार ६ सय २० जना तथा र ८२ जना अन्य देशका नागरिक नेपाल भित्रिएको अध्यागमन कार्यालयको तथ्यांक छ। उक्त नाकाबाट नेपाल आउने प्रमुख १० देशमा चीन, अमेरिका, स्लोभाकिया, बेलायत, नेदरल्यान्ड, जर्मनी, इटाली, फ्रान्स, चेकोस्लोभाकिया र अस्ट्रेलिया रहेको छ।
जनवरीमा पाँच सय ८५, फेब्रुअरीमा आठ सय १६, मार्चमा तीन सय ६८, अप्रिलमा दुई हजार सात सय २२, मेमा दुई हजार सात सय ३२ र जुनमा चार हजार आठ सय ३० यो नाका हुँदै नेपाल आएका छन्। त्यसैगरी, जुलाइमा चार हजार दुई सय ४४, अगस्टमा चार हजार एक सय २६, सेप्टेम्बरमा चार हजार ११, अक्टोबरमा दुई हजार नौ सय ५०, नोभेम्बरमा एक हजार दुई सय आठ र डिसेम्बरमा पाँच सय ६२ चिनियाँ तथा विदेशी पर्यटक नेपाल आएका कार्यालयले जनाएको छ।
रसुवागढी नाका हुँदै जुनमा सबैभन्दा बढी र मार्चमा सबैभन्दा कम पर्यटक आएको अध्यागमन अधिकृत विष्णु घर्तीले बताए। रसुवागढी अध्यागमन कार्यालयले विश्वका १२ देशका नागरिकलाई अन अराइभल भिसा उपलब्ध गराउँदैन।
सरकारी र कूटनीतिक राहदानीबाहक बाहेक नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाटै अग्रिम भिसा लिई आउनु पर्छ।
भिसाको लागि अनलाइन फारम (पर्यटक भिसा) भर्ने व्यवस्था मिलाइएको उनले बताए। विभागको वेबसाइटमा गएर फारम भर्न सकिन्छ। उक्त फारमले १५ दिनसम्म मात्र काम गर्ने भएकाले फारम धेरै चाँडै भर्न नहुने उनको भनाइ छ। अध्यागमन अधिकृतले कागजात छानबिन गरी नेपालमा प्रवेश दिन उपयुक्त देखेमा पर्यटक भिसा जारी गर्नेछन्। कार्यालयले केआइओएसके मेसिन जडान भएपछि पर्यटकलाई फाराम भर्न सजिलो भएको छ।
प्रकाशित: १९ पुस २०७५ ०४:०८ बिहीबार