११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आजबाट पूर्ण स्वचालित अनलाइन प्रणाली

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन प्रणालीलाई सञ्चालनमा ल्याउने भएको छ।

गत कात्तिक २० गतेदेखि सो प्रणाली सञ्चालनमा ल्याएको भए पनि प्राविधिक कठिनाइ र प्रयोगमा देखिएको समस्याका कारण पूर्ण कार्यान्वयनमा आउन सकेको थिएन। प्रणाली सञ्चालन गर्न नसकिएको भन्दै गुनासो आएको थियो। बजारसमेत प्रभावित भएको भन्दै लगानीकर्ताले स्टक र धितोपत्र दलाल व्यवसायीसँग गुनासो गरेका थिए।

सबै पक्षको गुनासो सम्बोधन हुने गरी आवश्यक तयारी गरिएको स्टकले जनाएको छ। स्टकका प्रवक्ता मुराहरि पराजुलीले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउन स्टक, धितोपत्र दलाल व्यवसायी र लगानीकर्ता सहमत भएको बताए। 

पूर्ण स्वचालित अनलाइन प्रणालीमा देखिएका समस्या समाधान भएको जानकारी दिँदै प्रवक्ता पराजुलीले धितोपत्र दलाल व्यवसायीले आवश्यक तयारी गरेको बताए। प्रणाली सञ्चालन गर्न धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच हुने सम्झौतापत्र तयार पारिएको छ। सबै लगानीकर्ताको हात हातमा पुर्याउने लक्ष्य राखिएको छ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ का आधारमा सम्झौता गरी कारोबार हुनेछ। त्यसबाट सेयर किनबेच प्रक्रियामा रहेको जोखिम तथा अन्य कठिनाइ व्यवस्थापन गर्न सहज हुनेछ।

प्रवक्ता पराजुलीका अनुसार सम्झौतापत्रमा दुवै पक्षले पालना गनुपर्ने ३९ बुँदे सर्त समावेश गरिएका छन्। सम्झौतापत्रमा ब्रोकरलाई प्रथम पक्ष र लगानीकर्तालाई दोस्रो पक्षका रुपमा लिइएको छ तर बैंक खाताबाट सेयर बिक्रीकर्ता वा खरिदकर्ताले भुक्तानी गर्ने रकमका सम्बन्धमा भने अझै तयारी पूरा भइसकेको छैन।

त्यसका कारण कारोबार अनलाइन प्रणालीबाट भए पनि भुक्तानीका लागि भने अझै केही समय धितोपत्र दलाल व्यवसायी कहाँ नै जानुपर्नेछ।    (रासस)

प्रकाशित: २३ मंसिर २०७५ ०८:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App