७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

बजेट हिनामिना भए जानकारी दिनुस् : महालेखा परीक्षक

खोटाङ– सरकारी निकायको लेखा परीक्षणका लागि महालेखा परिक्षकको टोली खोटाङ आइपुगेका छन्। स्थानीय तहदेखि बिभिन्न सरकारी निकायबाट भएका खर्चको लेखा परीक्षणका लागि महालेखा परीक्षकको दुई टोली खोटाङ आएको हो। ३५ दिनभित्र जिल्लाका सबै सरकारी निकायको लेखापरीक्षणको काम सम्पन्न गर्नेगरी काम थालिएको शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका निर्देशक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए। 

कुनैपनि सरकारी निकायबाट बजेटको खर्च गर्नेक्रममा रकम दुरुपयोग गरेको भए जानकारी दिन महालेखा परीक्षकको टोलीले आग्रह गरेको छ। ‘सरकारी निकायको प्रशासनिक, वित्तीय र व्यवस्थापकीय कार्यप्रणालीको स्वच्छता सुनिश्चित एवं सुदृढ तथा सुधारका लागि लेखा परीक्षण गर्न टोली आएको हो’, निर्देशक ज्ञवालीले भने, ‘कुनै कार्यालयबाट बजेटको खर्च गर्नेक्रममा कमजोरी गरेको वा हिनामिना गरेको भए हामीलाई खबर दिएर सहयोग गनुहोस्। हामी असुलउपरसम्म गर्न लगाउनेछौं।’ 

निर्देशक ज्ञवाली र अर्का निर्देशक प्रद्युम्न न्यौपाने नेतृत्वको दुई टोलीले जिल्लाका १० स्थानीय तहमध्ये ५÷५ वटा तहको लेखा परीक्षण गर्ने जनाइएको छ। टोलीले कार्यालयको लेखा, अभिलेख, कागजात र अन्य विषयगत आर्थिक विवरणसँग सम्बन्धित कागजात अध्ययन गरेर मापदण्ड अनुसार बजेट खर्च भए÷नभएको, खर्च गर्नेक्रममा पारदर्शिता कायम भए÷नभएको लगायतका बिषयमा लेख परीक्षण गर्दै ‘राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई दण्डित’ गर्न प्रोत्साहित गर्ने जनाएको छ। प्रचलित विधि, प्रक्रिया तथा कानूनी व्यवस्थाको कमी÷कमजोरी पहिल्याई सुधारका लागि सुझाव प्रदान गर्ने निर्देशक ज्ञवालीले बताए। सरकारी निकायको लेखा परीक्षणका लागि महालेखा परीक्षकले कोष तथा लेखा नियन्त्रकको कार्यालयमा डोर खडा गरेको छ।

सार्वजनिक जवाफदेहिता र पारदर्शिता अभिवृद्धि, सार्वजनिक स्रोतको परिचालनमा मितव्ययिता र कार्यदक्षता कायम, सार्वजनिक निकायको प्रभावकारिता वृद्धि, प्रचलित कानूनको परिपालनामा सहयोग, स्वविवेकीय कार्य शैलीलाई निरुत्साहित गर्न प्रोत्साहन लगायतका उद्देश्यले सरकारी निकायको लेखा परीक्षण गर्ने गरिएको छ। 

प्रकाशित: ७ मंसिर २०७५ ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App