२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

दशकपछि फेरि तेल निर्यात सुरु

निर्यातका लागि तयार वीरगन्ज–पथलैया करिडोरको एक उद्योगको उत्पादन । तस्बिर : रितेश/नागरिक

वीरगन्ज – नेपालबाट भारततिर ‘पाम आयल’को निर्यात सुरु भएको छ । यो एक प्रकारको खाने तेल हो । सुरुमा निर्यातको उद्देश्यले वीरगन्ज करिडोरमा स्थापित भएका घिउ–तेल उद्योग पछिल्लो समयमा स्वदेशी बजारमा मात्र सीमित हुँदा समस्या बेहोरिरहेका थिए । आधा दशकको अन्तरालपछि फेरि एकपटक नेपाली तेल उद्योगको उत्पादनले देशबाहिर बजार पाएको छ।

भारतले निर्यातको अनुमति दिएपछि गत असोज २२ गते वीरगन्ज भन्सार भएर पहिलो खेप ‘पाम आयल’ निर्यात भएको छ । त्यसयता निकासी निरन्तर छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार पाँच लाख ४८ हजार एक सय ३९ किलोग्राम तेल निर्यात भएको छ । करिब सवा महिनाको अवधिमा तेल निर्यातबाट ६ करोड ५३ लाख ७३ हजार रुपैयाँ आर्जन भएको छ।

नेपाली उद्योगले भारतीय बजारतिर वनस्पति घिउ–तेल निर्यात गर्न पाएपछि त्यस्ता उद्योगमा धमाधम लगानी थपिए । आर्थिक वर्ष २०५८–५९ मा भारतले वार्षिक एक लाख टन नेपाली वनस्पति घिउ खरिदको कोटा दिएको थियो । कोटाले निर्यातको परिमाण सीमित भएपछि नेपाली वनस्पति घिउ तथा तेल उद्योगले चिन्ता जनाएका थिए।

भारतमा लागू भएको नयाँ करको दरले गर्दा करिब पाँच वर्षअगाडि वनस्पति घिउ निर्यात बन्द हुन पुगेको उद्योगी ओमप्रकाश सिकारिया सम्झिन्छन् । नेपालका वनस्पति घिउ उद्योग भारतीय कर सम्बन्धी नीति परिवर्तनपछि समस्यामा पर्न थाले । कतिपय उद्योग बन्द भए । नेपाली उद्योगले वनस्पति घिउ बनाउने एकाइलाई ‘रिफाइन्ड’ तेल उत्पादन गर्ने एकाइमा रुपान्तरित गरे।

अब ‘पाम आयल’ अर्थात खजुरको तेलको निर्यात सुरु भएको छ । नेपालसँगै भारतीय बजारमा वनस्पति घिउका प्रयोगकर्ता न्यून भइसकेकाले त्यसको निर्यात फेरि ब्युँतिने आशा भने नेपाली उद्योगीले गरेका छैनन् । अहिले आएर ‘पाम आयल’ निर्यात सुरु भएपछि उद्योगहरु फेरि तंग्रिने विश्वास उद्योगीमा जागेको छ । विदेशबाट कच्चा तेल आयात गरी उद्योगहरुले प्रशोधन र ‘रिप्याकिङ’ गर्छन् । त्यही रिप्याकिङ तेलको निर्यात सुरु भएको हो।

‘हामीले आफैं र सम्बन्धित सरकारी निकायको सहयोगमा निर्यात अनुमतिका लागि भारतसँग माग गरिरहेका थियौं । यसपालि चाँही आधिकारिक पत्रहरु प्राप्त भएको छ,’ वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताले भने, ‘यो नेपाली तेल उद्योग क्षेत्रका लागि उपलब्धि हो । देशको लागि पनि किन महत्वपूर्ण छ भने व्यापार घाटाका कम गर्नका लागि निर्यातका क्षेत्र बढाउँदै लैजानुपर्ने हाम्रो आवश्यकता हो ।’ नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्षसमेत रहेका गुप्ताले तेल उद्योगलाई सम्भावनायुक्त संज्ञा दिए।

उनले पिनामा लाग्दै आएको निकासी शुल्क सरकारले हटाउनुपर्ने बताए । ‘हामीले अहिले निर्यात सुरु गरेका छौं, माग अनुसार निर्यात बढाउँदै लैजाने हो,’ शिवशक्ति घिउ उद्योगका प्रशासकीय अधिकृत उमेशजंग पाण्डेले भने, ‘निर्यात प्रक्रिया अलि अझ सहज हुन जरुरी छ, वारिबाट निस्केपछि पारिको भन्सारमा लाग्ने समय घटाउन सरकारी पहल भए सजिलो हुन्थ्यो ।’

प्रकाशित: २ मंसिर २०७५ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App