३ मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

मुलुकको पहिचान बोकेको हस्तकला

काठमाडौं - हरेक हातमा कला हुन्छ । यही कलाले मुलुकको पहिचान निर्माण गर्छ । जसलाई हस्तकला भनिन्छ । हस्तकलाले कला, संस्कृति, परम्परालाई धानेको हुन्छ । यही हस्तकलाले मुलुकलाई विश्वमा चिनाएको हुन्छ।

परम्परादेखि मुलुकमा हस्तकला निर्माण र यसको व्यवसाय सुरु भयो । यही हस्तकलाले मुलुकलाई विश्वसामु चिनाएन मात्र, लाखौंको हात–मुख जोर्ने र अर्थोपार्जन गर्ने व्यवसाय पनि बन्यो । यति मात्र होइन, वैदेशिक व्यापारमा प्रमुख निर्यात वस्तुमा हस्तकला आयो तर बिडम्बना मुलुकको प्राथमिकतामा यो व्यवसाय पर्न सकेन।

राज्यले हस्तकला व्यवसायलाई प्रवद्र्धन गर्ने उपयुक्त नीति नबनाउँदा वर्षौंदेखिका समस्या ज्युँका त्युँ छन् । तैपनि व्यवसाय चलिरहेको छ।

नेपालका नागरिकहरु विभिन्न हैसियतमा विश्वका विभिन्न कार्यक्रममा भाग लिन जान्छन्। कहिले खेलकुद, त कहिले नेपाल चिनाउने प्रदर्शनी, जहाँ हस्तकला नभई देश चिनाउन सकिँदैन। कहिले सभा–सम्मेलन हुन्छन् त, कहिले दुईपक्षीय वार्ता । यहाँ पनि मुलुकको पहिचान भन्दै हस्तकला अगाडि सारिन्छ, प्रदर्शनीका रुपमा वा उपहारको रुपमा।

पर्यटन प्रवद्र्धन गर्न त हस्तकलाको ठूलै कक्ष राखिन्छ। हस्तकलाबिना नेपाललाई विश्वसामु चिनाउनै नसकिने नेपाल हस्तकला महासंघका उपाध्यक्ष होमनाथ उपाध्याय बताउँछन् । भन्छन्, ‘हरेक प्रदर्शनीमा नेपाली हस्तकला एक प्रमुख वस्तु हो।’

मुलुक चिनाउने कलामात्र होइन, मुलुक बचाउने आर्थिक क्षमतासमेत यसमा छ। मुलुकबाट निर्यात हुने विभिन्न वस्तुमध्ये ७० प्रतिशत भाग यही व्यवसायले ओगटेको छ। धातुकला, धातुकला, मूर्तिकला, क्लस्टर, पस्मिना, कार्पेट, फेल्टका विभिन्न सामग्री जस्तै दर्जनौं हस्तकला विदेशमा लोकप्रिय छन् । जसको निर्यात अन्य सामग्रीभन्दा उच्च भएको उपाध्यायले बताए।

मुलुकमा ४२ विधाका हस्तकला उत्पादन हुन्छन् । जसको माग विश्वका अधिकांश मुलुकमा छ । महासंघका अनुसार नेपाली हस्तकला अमेरिका, युरोप, चीन, भारत, लगायत २५ भन्दा धेरै मुलुकमा निर्यात भइरहेको छ । ‘गत वर्ष झन्डै सात अर्ब रुपैयाँ बराबरको हस्तकला सामग्री निर्यात भएको छ,’ उपाध्यायले भने, ‘हरेक वर्ष ५–७ प्रतिशतले निर्यात वृद्धि भइरहेको छ।’

सरकारी तथ्यांकमा सात अर्ब उल्लेख भए पनि अनौपचारिक रुपमा निर्यात भएको हस्तकला यसभन्दा धेरै रहेको उपाध्याय बताउँछन् । विदेशमा रहेका नेपाली र नेपाल आएका भारत लगायत अन्य देशका पर्यटकले साथमा लैजाने हस्तकलाको मूल्य यसमा जोडिएको छैन । आन्तरिक बजारमा करिब १० अर्ब रुपैयाँ बराबरको खरिद–बिक्री भइरहेको महासंघको भनाइ छ । तीन वर्षअघिको भूकम्प र त्यसपछि भारतको नाकाबन्दीले केही सुस्ताएको व्यवसाय अहिले फेरि आफ्नै लयमा फर्किन थालेको छ। 

परम्परागत रुपमा चल्दै आएको व्यवसायमा १० हजारभन्दा धेरै उद्योग छन् तर सरकारी रुपमा दर्ता भएको संख्या कम भएको उपाध्याय बताउँछन् । महासंघमा दर्ता भएका व्यवसायी एक हजार पाँच सयभन्दा धेरै छन् । यो क्षेत्रले ११ लाखलाई रोजगारी दिएको छ।

‘हस्तकला व्यवसायको हरेक विधामा धेरै समस्या छन्,’ उपाध्यक्ष उपाध्याय भन्छन्, ‘समस्या समाधान गर्न राज्य अग्रसर छैन ।’ समस्या समाधान गर्दै हस्तकला व्यवसायमा राम्रो नीति बनाउन आवश्यक रहेको उनले बताए।

त्यही राम्रो नीति नहुँदा हस्तकला व्यवसायमा विद्यमान लाखौं रोजगारी समेत प्रयोग हुन सकेको छैन। एकातिर हरेक दिन सयौं युवा रोजगारीको खोजीमा विदेश उड्छन् अर्कोतिर मुलुकभित्रै जनशक्ति अभाव छ । यही तारतरम्य मिलाउन नसक्दा हस्तकला व्यवसायमा जनशक्तिको अभाव छ।

व्यवसायीका अनुसार अहिले पनि यो व्यवसायमा हजारौं दक्ष–अदक्ष जनशक्ति अभाव छ । सरकारले युवालाई हस्तकलाको सीप सिकाउने र मुलुकभित्रै व्यवसाय गर्न प्रेरित गर्ने हो भने युवाले रोजगारी मात्र पाउँदैनन्, मुलुकले अर्बौं रुपैयाँको वैदेशिक मुद्रा भिœयाउन सक्छ। हरेक दिन त्रिभुवन विमानस्थलमा लाम लाग्ने १५ सय हाराहारी युवालाई स्वदेशमै रोक्न सकिन्छ।

यसको लागि उपयुक्त तालिमको आवश्यकता छ । ‘तत्कालै राम्रो तालिम केन्द्रको आवश्यकता छ,’ उपाध्याय भन्छन्, ‘यसो भएमा दक्ष जनशक्ति उत्पादन हुन्छन्, जसले मुलुकमै रोजगारी पाउँछन् ।’
समस्या दक्ष जनशक्तिको मात्र होइन, राज्यका विभिन्न निकायसँग सम्बन्धित समस्या पनि छन् । हाते कागज उत्पादनमा वनसँग समस्या छन् । क्लस्टर उत्पादनमा ढुंगाखानी उत्खनन् र ल्याउने समस्या छन् । त्यस्तै, ऊनका उत्पादनमा लाग्ने भन्सार धेरै हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न समस्या भइरहेको उपाध्यायको भनाइ छ।

हस्तकलामा ४० प्रतिशतभन्दा धेरै मेसिनको प्रयोग हुँदैन । अधिकांश हातले बुनेका यी कलाले समस्या भोग्दाभोग्दै पनि मुलुक चिनाउने काम गरिरहेका छन् । मिथिला आर्ट, पाल्पाको करुवा, पोखरको पर्यटन चिनाउने उत्पादन, संखुवासभाको अल्लोको कपडा, भक्तपुरको मूर्तिकला यस्ता उदाहरण हुन्, जसले मुलुकको पहिचान बोकेका छन् र विश्वलाई नेपाल चिनाएका छन्।

प्रकाशित: ३० कार्तिक २०७५ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App