२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
अर्थ

स्तरोन्नतिपछि गैंडाछाप सिमेन्टको उत्पादन सुरु

लाइनमा रहेका ट्रकमा सिमेन्ट लोड गर्दै उद्योगका मजदुरहरु । तस्बिरः महेश्वर

उदयपुर – महिनादिन लामो स्तरोन्नतिपछि पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेस्थित गैंडा छाप सिमेन्टको उत्पादन सुचारु भएको छ। स्थापनापछि पहिलो पटक उद्योगका साना–ठूला सबै यन्त्रको मर्मत र स्तरोन्नतिका लागि  महिनादिनयता गैंडाछापको उत्पादन रोकिएको थियो।

भदौं अन्तिम सातादेखि सुरु उद्योगको स्तरोन्नति कार्य यसै साता सकिएर ३ दिनयता सुरु उत्पादनको बिक्री वितरण कार्य आइतबारदेखि सुरु भएको उद्योगले जनाएको छ। उद्योगले ८ करोड रकम लगानी गरेर सबै यन्त्रको मर्मत, स्तरोन्नति र फेरबदल गरेको उद्योगका महाप्रवन्धक (जिएम) सुरेन्द्र पौडेलले बताएका छन्। ३० जना भारतीय इन्जिनियर प्राविधिक टोलीले दिनरात गरेर ३० दिनसम्म लगाएर स्तरोन्नति कार्य सम्पन्न भएको पौडेलको भनाई छ।

यो मर्मतपछि कम्तीमा १० वर्षसम्म उद्योगको मर्मत गर्नुनपर्ने व्यवस्थापन पक्षको दावी छ। त्यसैगरी उद्योगबाट आउदो ६ महिनासम्म निर्धक्क सिमेन्ट उत्पादन हुने गरी स्तरोन्नति मर्मत भएको छ। मर्मत कार्यमा कन्सल्टेन्ट इन्जिनियरिङ कम्पनीलाई प्रतिस्पर्धा गराएर ठेक्काद्वारा गराउदा महँगो भएपछि उद्योगले आफै प्राविधिक टोली मगाएर मर्मत कार्य गरेको उनले बताए। ‘मर्मतका लागि उद्योगले ८ करोड रुपैयाँ खर्च गरेको छ’ जिएम पौडेलले भने ‘जव कि प्रतिस्पर्धा गराएर कन्सल्टेन्टमार्फत मर्मत गरेको भए यत्तिको काम गर्न कम्तीमा १ अर्ब बराबर खर्च हुन्थ्यो।’

०४४ सालमा जापान सरकारको सहयोगमा स्थापित उद्योगको वर्षेनी मर्मत सम्भार गर्ने गरिए पनि यति ठूलो पूर्णमर्मत (ह्जुज मेन्टेन) गरिएको थिएन। खासगरी बहुदलताका राजनीतिक कोपभाजनमा परेर सत्ताधारी पार्टीको कार्यकर्ता भर्तिकेन्द्रको रुपमा परिणत भएसँगै वर्षेनी करोडौं रुपैंया मर्मतमा खर्चिने भएपनि पटकपटक बिग्रेर उत्पादनमा कमी हुने गरेको थियो। दैनिक ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन क्षमताको उद्योगले दैनिक आधाभन्दा कम उत्पादन गर्ने गरेको उद्योगले पछिल्लो २ वर्षयता उत्पादनमा वृद्धि गर्दै दैनिक ७ सय मेट्रिक टनसम्म पुर्याउन थालेको छ।

भर्खरै सम्पन्न स्तरोन्नति मर्मतपछि भने उद्योगमा दैनिक ८ सय ५० देखि ९ सय टनसम्म उत्पादन गर्न सक्षम भएको जिएम पौडेल बताउँछन्। पछिल्लो समय नाफा कमाउँदै आएको उद्योगले गतवर्ष ०७४–०७५ मा २ अर्ब १४ करोड रुपैयाँको सिमेन्ट बिक्री गर्न सफल भएको विक्री विभाग प्रमुख रामबहादुर जिसीले बताए। उनका अनुसार पूर्ण मर्मतपछिको बिक्रीमा आइतबार पहिलो दिन मात्र २४ हजार बोरा सिमेन्ट बिक्री गरेको छ।

उद्योगका नायव महाप्रबन्धक (डिजिएम) नबलकिशोर साहका अनुसार मर्मत कार्यमा महिनादिन बिक्री रोकिएकाले खुलेको पहिलो दिन नै १ सय २० ट्रक सिमेन्ट बिक्री भएको बताए। त्यत्तिकै संख्यामा रकम बुझाएको भौचर लिएर अरु ट्रक सिमेन्ट लिन लाइन लागेको पनि उनले बताए। डिजिएम साहका अनुसार आइतबार १ दिनकै बिक्रीबाट मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक उद्योगमा १ करोड ६० लाख रुपैयाँ जम्मा भएको छ।

प्रकाशित: १४ कार्तिक २०७५ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App