७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

काठमाडौं–पोखराको जहाज भाडा १५ सय

काठमाडौं - बसको सुविधाअनुसार काठमाडौंबाट पोखरा पुग्न सात सयदेखि दुई हजार रुपैयाँसम्म भाडा लाग्छ। तर, हवाईजहाजको भाडादर १५ सय रुपैयाँ भएको छ।

निजी क्षेत्रका यती एयरलाइन्स र बुद्ध एयरले १५ सय रुपैयाँ भाडामा काठमाडौंबाट पोखरा यात्रु लग्न थालेका छन्। तीन दिनअघिबाट सस्तो दरमा उडान थालेका एयरलाइन्सले अझै केही दिन सोही भाडादर कायम रहने जनाएका छन्।

जहाजबाट पोखरा जाने यात्रुको चाप घटेसँगै भाडा घटाएका हुन्। पोखराबाट काठमाडौं आउन भने तोकिएकै भाडा ५२ सय रुपैयाँ लाग्छ।

यतीले पाँच दिनका लागि भन्दै बिहीबार काठमाडौं–पोखरा उडानको भाडा १५ सय रुपैयाँ तोकेको छ। दिउँसोको उडानमा भने दुई हजार रुपैयाँ तोकेको छ । यतीका प्रवक्ता भीमराज राईका अनुसार पाँच दिनको लागि सार्वजनिक गरिएको यो भाडादर अझै केही दिन थपिन सक्छ । पोखरा जाने यात्रु कम भएपछि खाली जहाज उडाउनुको सट्टा भाडा घटाइएको उनले बताए । भाडा घटेपछि जहाजमा पोखरा जाने यात्रुको चाप बढेको छ।

बुद्ध एयरले पनि काठमाडौं–पोखराको भाडा घटाएको छ । उसले यात्रु संख्या हेरेर उडान र दिन अनुसार भाडा तोक्ने गरेको छ । बुद्धका बजार प्रमुख रुपेश जोशीका अनुसार शुक्रबारको पहिलो उडानमा बुद्धले पनि १५ सय रुपैयाँ भाडा तोकेको थियो।

यती र बुद्धले पोखरालाई प्रमुख गन्तव्य मानेर दैनिक दर्जन हाराहारी उडान गर्छन् । दसैंपछि पोखराबाट काठमाडौं आउनेको चाप भए पनि पोखरा जानेको संख्या कम छ । यसले गर्दा यात्रु तान्न भाडा घटाइएको वायुसेवा सञ्चालक संघ नेपालका महासचिव तथा प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए। ‘अफ सिजनमा जहाजले भाडा घटाउने गर्छन्,’ संघका प्रवक्ता आर्चायले भने, ‘यात्रु नभएपछि रित्तो उडाउनुको सट्टा थोरै भाडामा भए पनि सिट भर्न यसो गरिएको हो।’

प्रकाशित: ११ कार्तिक २०७५ ०३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App