जाजरकोट – आजभोलि निर्माण हुने भौतिक संरचनाहरु पाँच–दश वर्ष भित्रै विग्रिने, भत्किने गर्छन्। निर्माण कम्पनिको गैरजिम्मेवारिपन र कमसल सामग्रीको प्रयोगले भौतिक संरचनाहरु छिट्टै बिग्रिने गरेका हुन्। तर, जाजकोटको एउटा झोलुंगे पुल बनेको ९३ वर्षसम्म पनि जस्ताको तस्तै छ।
पुरै फलामले वनेको उक्त पुलमा खिया लागेको छैन भने पिलरहरु पनि मजबुद् छन्। पुलमा कुनै क्षति भएको छैन। राणा प्रधानमन्त्री चन्द्र सम्सेरले १९८२ सालमा निर्माण गरेको भेरी नगरपालिका–११ मटेलास्थित भेरी नदीमाथिको पुल नेपालका विकास योजनाहरुको उत्कृष्ट नमुना वनेको छ। जाजरकोटी राजाकी छोरी तथा चन्द्रसम्सेरकी कान्छी रानी वालकुमारी शाहले आफ्नो माइतीहरुलाई भेरी नदी वारपार गर्ने सुविधाका लागि निर्माण गरिदिन आग्रह गरेपछि उक्त पुल बनेको स्थानीय ८६ वर्षिय मानवहादुर सिंह बताउँछन्र।
मटेलामा पुल वन्नु अघि जाजरकोटका जनतालाई रुकुम सल्यान मात्र नभई सुर्खेत नेपालगन्ज आवत जावत गर्न भेरी नदीमा डुंगाको सहयता लिनुपर्ने वाध्यता थियो। भेरी नदी डुंगा, चिन्न र पौडी खेलेर पार गर्दा धेरै जाजकोटीहरुको ज्यान गएको घटनाले पनि वालकुमारी चिन्तित भएको बुढापाकाहरु वताउछन्। जाजरकोटकी छोरी वालकुमारीले चन्द्रसम्सेरसँग बिहे गरेर गएपछि आफ्ना माइती अर्थात जाजरकोटवासीलाई रुकुमको चौरजहारी तथा नेपालगन्ज तिर आवागमन गर्न निकै कष्ट बेहोर्नु परेको र भेरीमा पुल जरुरी रहेको भनेर राणा दरवारमा आग्रह गरेपछि उक्त पुल निर्माण भएको सिंहले बताए। आफ्नो आग्रह सुुनुवाइमा ढिलाई भएपछि वालकुमारीले राणा दरवारको भुजा अर्थात भात बहिष्कार गरेको पनि उनले बताए।
उनले चन्द्रसम्सेरकी निकै प्यारी भएकोले वालकुमारीको आग्रहलाई स्वीकार गरी स्कटल्यान्डको एवरडिनस्थित जोन एम हेन्डरसन एन्ड कोअपरेसन लिमिटेड नामक कम्पनीले पुलका सम्पूर्ण सामाग्रीहरु उत्पादन तथा जडानको जिम्मा लिएको थियो। पुल निर्माणमा कति रकम लागेको थियो भन्ने एकिन विवरण थाहा नभए पनि उक्त पुलको डिजाइनिङ नेपालका प्रथम इन्जिनियर कुमार नरसिंह राणाले गरेको इन्जिनियर निरज शाहले बताए।
उनले ९० मिटर लम्वाइ रहेको उक्त पुल नेपालकै पहिलो झोलुंगे पुल भएको उक्त पुलका सामाग्रीहरु २० वटा हात्ती र स्थानीय जनताले भेरीको किनार हुँदै जाजरकोट पु-याएको बताए। स्थानीय जनता र हात्तीले दुई महिना लगाएर पुलका सम्पुर्ण सामाग्रीहरु जाजरकोट पु-याएको इन्जिनियर शाहले बताए। पुलका सामाग्री बोकेवापत स्थानीय जाजरकोटवासीले खाना खर्च मात्र पाएको र अन्य जनश्रमदान गरेका थिए।
यो पुलमा दैनिक सयौं सर्वसाधारणहरुले जाजरकोट र रुकुममा आवातजावत गर्नका लागि प्रयोग गर्ने गरेका छन्। यो पुल हुँदै जाजरकोट, जुम्ला, डोल्पा, रुकुमका जनताहरु नेपालगन्ज, सुर्खेत र काठमाडौं जाने गर्छन्। मुलुककै सबै भन्दा पुरानो र गुणस्तरयुक्त मटेलाको झोलुंगे पुल पुरातत्व विभागमा दर्ता गरेर यसको ऐतिहासिक महत्वलाई सरकारले जोगाउनुपर्ने स्थानीय बालकुमार शर्माले बताए। ईतिहास र विकासको उत्कृष्ट नमुना झल्काउने मटेलाको पुल पर्यकटीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेकोले यस तर्फ सरोकारवालाको ध्यान जान जरुरी रहेको शर्माले बताए।
प्रकाशित: ८ कार्तिक २०७५ ०६:२६ बिहीबार