१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

निर्माण सामग्री अभावले चार लेन प्रभावित

समयमै काम सम्पन्न नहुँदा प्रदेश राजधानीको धुलाम्ये चार लेन सडक ।    तस्बिरः नगेन्द्र/नागरिक

सुर्खेत – निर्माण सामग्री अभावले प्रदेश राजधानी वीरेन्द्रनगरको चार लेन सडक प्रभावित भएको छ । स्थानीय तहले ढुंगा, गिट्टी र बालुवाको ठेक्का नखुलाउँदा प्रदेश राजधानीको मुख्य सडक निर्माण प्रभावित बनेको हो। 

असारदेखि रोकिएको नदीजन्य उत्खनन स्थानीय तहले अझै खुलाएका छैनन् ।  चार लेन सडक निर्माण नहुँदा प्रदेश राजधानी धुलाम्ये छ । पानी पर्दा हिलोले सवारी चलाउन मुस्किल हुन्छ । सडकमा हिँड्ने पैदलयात्रीलाई सास्ती छ । निर्माण सामग्री अभावमा तीन महिनादेखि सडक र पुल निर्माणको काम ठप्प भएको व्यवसायीले बताएका छन् । धुलियाविटदेखि बांगेसिमलसम्मको आठ किलोमिटरमध्ये पाँच किलोमिटर सडक र पाँचवटा पुलको काम भइरहेको छ।

पाँच किलोमिटर चार लेन सडक र पाँचवटा पुलको ठेक्का स्वछन्द श्याम एन्ड शंकर÷आशिष श्याम एन्ड शंकर जेभीले ठेक्का लिएको छ । ‘स्थानीय तहले असोजको मध्यसम्म पनि गिट्टी, बालुवा उत्खननका लागि ठेक्का नखुलाउँदा निर्माण कार्य प्रभावित भएको छ,’ प्रोप्राइटर पदमबहादुर खड्काले भने, ‘यसले स्थानीयलाई सास्ती त भएको छ नै हामीले पनि समयमै काम सम्पन्न गर्न सकेका छैनौं।’

सञ्चय कोषदेखि मूलपानीसम्मको (दोस्रो चरण) चार लेन सडक निर्माणका लागि २०७३ सालमा ठेक्का भएको थियो । असार मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने यो सडकको काम ठाउँठाउँमा रोकिएको छ । स्थानीयको अवरोध, निर्माण सामग्री अभाव र सरोकारवाला निकायले आफ्ना संरचना नहटाउँदा निर्माण कार्यमा समस्या आएको उनले बताए । 
पुरानो बसपार्कदेखि चाइना पुलसम्म स्थानीयको अवरोध छ । अरु ठाउँमा विद्युत् प्राधिकरण, नेपाल टेलिकम र झुप्रा बृहत् खानेपानी संस्थाले आफ्ना संरचना हटाएका छैनन् । ‘केही ठाउँमा स्थानीयको अवरोध छ, केहीमा सरकारी निकायले नै अवरोध गरिरहेका छन्,’ खड्काले भने, ‘यस्तोमा काम गर्न समस्या भइरहेको छ।’  

कुइनेपानी हुँदै बग्ने पानीले बर्खाको समयमा बौद्धिक टोल हरेक वर्ष जलमग्न हुन्छ । स्थानीय माथिल्लो भागको पानी सडकमुनि आउन नदिने पक्षमा छन् । ‘माथिल्लो भागबाट आउने पानीलाई व्यवस्थित नगर्दासम्म हामी कल्भर्ट बनाउन दिँदैनौं,’ टोल विकास संस्थाका अध्यक्ष भानु खड्काले भने, ‘हामीलाई चार लेन सडकभन्दा आफ्नो टोलको बढी चिन्ता छ ।’ बौद्धिक टोलका स्थानीय बाटोको दुवैतर्फ पक्की नाला बनाएर माथिल्लो भागबाट आउने पानीको निकास दिइनुपर्ने बताउँछन्।

कुइनेपानी मात्रै होइन, मंगलगढी चोकदेखि इन्जिनियरिङ क्याम्पस लाइनको पानीको निकास यही ठाउँ हो । चार लेन सडकका लागि कल्भर्ट बनाइने तल्लो क्षेत्रमा बर्खाको बेला थप क्षति हुने उनीहरु बताउँछन् । स्थानीयको अवरोधका कारण बसपार्क क्षेत्रमा निर्माण कम्पनीले कुनै पनि काम गरेको छैन । मंगलगढी चोकदेखि चाइना पुलसम्मको समस्या पनि उस्तै छ । इस्टिमेट अनुसार दुवैतर्फ पक्की नाला निर्माण गरिनुपर्ने हो । स्थानीयको अवरोधकै कारण यहाँ पनि पक्की नाला निर्माण भएको छैन । पक्की नाला निर्माण नगरी यो ठाउँमा सडक कालोपत्रे गरिएको छ। 

तेस्रो चरण अन्तर्गतको मुलपानीदेखि बाङ्गेसिमलसम्मको २.२ किलोमिटर सडक निर्माणको काम पनि सुस्त छ । फोरलेनमा स्थानीयको मात्रै अवरोध छैन्, सरकारी निकाय पनि त्यत्तिकै जिम्मेवार छन् । विद्युत्, टेलिकमलगायत कार्यालयले फोरलेन सडकमा पर्ने पोल र तार हटाएका छैनन् । सुर्खेत उपत्यका खानेपानी संस्थाले सडकमा गाडिएका पाइपलाइन हटाएको छैन । ‘चार लेनभित्र पर्ने विद्युत् र टेलिकमका तार हटाइदिन सडक डिभिजन कार्यालयमार्फत सरोकारवाला निकायलाई पत्राचार गरेका हौं,’ खड्काले भने, ‘अहिलेसम्म कुनै सुनुवाइ नै भएको छैन ।’ यस्तै निर्माण सामग्रीको अभावमा पुलहरु निर्माणको सुरुवात भएकै छैन।

वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले नगरपालिकाले केही दिनभित्रै बालुवा र गिट्टी उत्खनन् अनुमति दिने तयारी गरिरहेको बताए । ‘प्राविधिक समस्याका कारण असोज १ गतेदेखि खुलाउनुपर्ने अझैसम्म हामीले खुलाउन सकेका छैनौं,’ उनले भने, ‘अमानतमा भए पनि कर उठाएर अहिलेको प्रतिबन्ध हटाउँछौं।’

प्रकाशित: १७ आश्विन २०७५ ०४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App