१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

पूर्वाधारै छैनन्, पर्यटक कसरी आउनु ?

पोखरा – बेलायतबाट आएकी मारियासहितको टिमलाई विश्व पर्यटन दिवसको अवसर पारेर राष्ट्रबैंक चोकस्थित पर्यटक बसपार्कमा बिहीबार दिउँसो भव्य स्वागत गरियो । चितवन हुँदै पहिलोपटक पोखरा घुम्न आएका मारियासहितका विदेशीले यहाँका पर्यटन व्यवसायीको स्वागत थापिरहँदा अलपत्र पर्यटक बसपार्कले भने उपस्थित सबैलाई गिज्याइरहेको थियो।

पञ्चेबाजा बजाउँदै नाचगानसहित बसपार्कमा सयपत्री फूलको मालाले स्वागत गरेर जुस पिलाउँदै गर्दा असिनपसिन भएका मारिया जस्ता धेरै पर्यटकलाई एक मिनेट शितलमा उभिने ठाउँसमेत थिएन र छैन । गह्रौ भारीसहितको झोला टेकाउने ठाउँ कतै छैन । बसबाट ओर्लेर हतारहतार गाडी चढेर होटल पुग्नुको यहाँ कुनै विकल्प छैन । बिहीबार मौसम खुलेकाले बसपार्कमा हिलोको सामना भने पाहुनाले गर्नु परेन । तर चर्काे घामले गर्दा चितवनबाट झन्डै ६ घन्टा यात्रा पार गरेर आएका पाहुनाको मुहारमा स्वागत पाउँदाको चमकसमेत देख्न सकिएको थिएन। 

पोखराको पर्यटन बसपार्कको यो एउटा उदाहरण मात्र हो । मुलुकभर बिहीबार विश्व पर्यटन दिवस मनाइरहँदा पर्यटकका लागि चाहिने बसपार्क जस्ता सामान्य पूर्वाधार झल्काउने यो  एउटा उदाहरण मात्र हो । मुलुककै मुख्य पर्यटकीय गन्तव्य पोखराको पर्यटक बसपार्क, जहाँबाट दिनहुँ सयौं विदेशी पर्यटक आउजाउ गर्छन्, वर्षामा हिलो र घाम लाग्दाको धुलोले यहाँको बसपार्कमा ओर्लिने जो कोही पर्यटकलाई पहिलो गासमै ढुंगा लागेजस्तो अनुभव गराउँछ।

घुम्न आएका पर्यटकले सुरुमै यहाँका पूर्वाधारबारे तत्काल नकारात्मक टिप्पणी नगरे पनि त्यसको अन्ततः असर पर्यटन क्षेत्रमा पर्ने यहाँका व्यवसायीको भनाइ छ । त्यसले सरकारले भने झै सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्य पूरा गर्न सहज नहुने व्यवसायी बताउँछन् । अहिलेकै पूर्वाधारका भरमा सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउन ‘फलामे चिउरा चपाए’जस्तै कठिन रहेको उनीहरु बताउँछन्। 

‘यो बसपार्कको अवस्थाले नै नेपालको पर्यटन क्षेत्र कति लथालिंग छ भन्ने पुष्टि गर्छ,’ पाहुनाको स्वागत गर्न पर्यटक बसपार्क आएका नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय च्याप्टरका महासचिव हरिराम अधिकारी भन्छन्, ‘सरकारले सामान्य पूर्वाधारसमेत बनाउन सक्दैन । त्यसको नमूना पोखराको पर्यटन बसपार्क हो । मात्र २० लाख पर्यटकको लक्ष्य अघि सारेको छ । पूर्वाधार बिना सरकारी लक्ष्य पूरा हुनै सक्दैन ।’ बसपार्क, बाटोघाटो, पहुँच, विमानस्थल सहज नभएसम्म कुनै पनि हालतमा सरकारी लक्ष्य पूरा गर्न नसकिने उनले बताए। 

अर्का पर्यटन व्यवसायी तथा नाट्टाका उपाध्यक्ष सञ्जयकान्त सिग्देल पनि एकजना पर्यटकबाट नौजनाले काम पाउने आधार हुँदाहुँदै पनि पूर्वाधार अभावमा नेपालको पर्यटन क्षेत्र कमजोर बन्दै गएको बताउँछन् । ‘मुलुककै समृद्धिको आधार पर्यटन हो । तर, यहाँ त सामान्य पूर्वाधारसमेत छैनन् । अब सरकारले घोषित लक्ष्य पूरा गर्ने हो भने तत्कालै पूर्वाधार बनाउनुपर्छ,’ उनले भने, ‘मुलुकको समृद्धिको आधार पर्यटन भनिए पनि पूर्वाधार निकै नै कमजोर छन्।’

पोखरा पर्यटन परिषद्का महासचिव डिल्लीप्रसाद गौतम पनि अहिलेकै पूर्वाधार र प्रवद्र्धनका भरमा २० लाख पर्यटक भित्र्याउन नसकिने बताउँछन् । ‘सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन चीनतिरको नाका तत्लालै खोल्नुपर्छ । अनि वायुसेवा निगमले ठूला आकारका जहाज थपेर मुख्य पर्यटक आउने गन्तव्यसम्म सिधा उडान गर्नुपर्छ,’ गौतमले भने, ‘बाटोघाटो चिल्लो बनाएर काठमाडौंदेखि पोखरासम्म बढीमा चार घन्टामा आउन सकिने बनाउनुपर्छ । सबै पूर्वाधार बनेमात्र लक्ष्य निकट पुग्न सकिनेमा आशावादी हुन सकिन्छ।’ 

काठमाडौंदेखि दुई सय किलोमिटर दूरीको पोखरा आइपुग्न अहिले कम्तिमा आठ घन्टा (यात्रुबाहक बसमा) लाग्छ । बिहीबार पर्यटन दिवसका अवसरमा बसपार्कमा पाहुनाको स्वागतार्थ पर्खिरहँदा दिउँसो साढे तीन बजेसम्म काठमाडौंबाट बिहान सबा सात बजे छुटेका कुनै पनि पर्यटक बस आइपुगेका थिएनन् । ‘काठमाडौंबाट पोखरा आउन आठ घन्टाभन्दा बढी समय लाग्ने गरेको छ । सडकको यस्तो हालतले मुलुकले पूर्वाधार बिना पर्यटक ल्याउन सकिन्न भन्ने देखाइसकेको छ,’ गौतमले भने। 

माइकमा फुकेर मात्र अहिलेकै पूर्वाधारका आधारमा २० लाख पर्यटक कुनै हालतमा नआउने उनले ठोकुवा गरे । ‘आन्तरिक र भारतीय सहित तेस्रो मुलुकका पाहुना जोड्यो भने २० लाख पुग्ला । नत्र तेस्रो मुलुकबाट मात्र २० लाख पर्यटक भित्र्याउन अहिलेको आधारमा सकिन्न,’ उनले भने, ‘सरकारले साच्चै २० लाख पर्यटक भित्र्याउने हो भने धामधम पूर्वाधार विकास, पर्यटकीय गन्तव्यसम्म सिधा हवाई उडान, चीनतिरका नाका खुला गर्नुपर्छ । त्यसबाहेक भारतीय नाकासम्म सहज पहुँच र प्रवद्र्धनमा जोड दिनुपर्छ ।’ एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अहिले नै १० लाख पाहुना धान्न नसकेको अवस्थामा यही पूर्वाधारका आधारमा २० लाख ल्याउने घोषणा गरे पनि सहज नभएको उनले बताए । 

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई विदेशी पर्यटक भित्र्याउन पूर्वाधारकै कमी भएको बताउँछन् । उनले पनि अहिलेकै पूर्वाधारका आधारमा सरकारी लक्ष्य कुनै पनि हालतमा पूरा नहुने बताए । ‘बाटोघाटोको अवस्था नाजुक छ । हवाई सञ्जाल विस्तारमा सरकारी चाँसो नै छैन । प्रवद्र्धनका कार्यक्रम ठप्प छन्,’ भट्टराईले भने, ‘यही आधारमा सरकारी लक्ष्य पूरा गर्न सहज छैन।’ 

पर्यटन क्षेत्रमा भएका नकारात्मक गतिविधिलाई समेत सरकारले बेवास्ता गर्दा त्यसको मार लक्ष्य पूरा गर्नेमा पर्ने उनले बताए । गलत काम गर्नेलाई सरकारले कारबाही गर्न नसक्दा झनै समस्या भएको उनले बताए । ‘पदयात्रा क्षेत्रमा भएको फर्जी उद्धार (फेक रेस्क्यू) गर्नेलाई कारबाही गर्न नसक्दा सरकार कमजोर सावित भएको छ,’ उनले भने, ‘फर्जी उद्धारमा संलग्न ठगी र बदमासलाई कारबाही गर्ने हो भने बल्ल आशावादी हुन सकिन्छ । नत्र त्यही फेक रेस्क्यूका कारण विदेशी नेपाल आउन मान्ने छैनन्।’ 

फर्जी उद्धारका कारण नेपाल आउने महंगा विदेशी कमी हुन थालेको समेत उनले बताए । ‘नेपालमा जबर्जस्ती बिरामी बनाएर पर्यटकलाइ ठगिन्छ भन्ने सन्देश पुगेको छ,’ उनले भने, ‘त्यसले गर्दा विदेशी पर्यकट आउनै मानेनन् । पर्यटकहरु बिमा नगरी नआउने, तर, बिमा कम्पनी पर्यटकको जोखिम बहन गर्नेगरी बिमा गरिदिन नचाहने अवस्थाले अन्योल छ ।’ त्यसैले सरकारले पूर्वाधार बनाएर प्रवद्र्धन गर्ने हो भने सरकारी लक्ष्य भेट्न नसकिए पनि लक्ष्य निकट पुग्न सकिने भट्टराई बताउँछन्। 

प्रकाशित: १२ आश्विन २०७५ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App