२४ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

मौरी चरनका लागि चिउरीका बिरुवा रोपियो

सर्लाहीको हरिवन नगरपालिकाअन्तर्गत विष्णुपुर महिला सामुदायिक वन क्षेत्रमा चिउरीको बिरुवा रोप्दै उपमेयर रेणुका पौडेल। तस्बिर : टंक क्षेत्री/नागरिक

सर्लाही - जिल्लास्थित दुईवटा सामुदायिक वनमा मौरी चरनका लागि चिउरीका बिरुवा रोप्न सुरु गरिएको छ। हरिवन नगरपालिका–८ अन्तर्गत प्रगतिशिल महिला सामुदायिक वन तथा वडा नं. ९ स्थित विष्णुपुर महिला सामुदायिक वन क्षेत्रमा बिहीबारदेखि चिउरी वृक्षारोपण सुरु गरिएको हो।

हरिवन नगरपालिकाको सहयोगमा दुईवटा सामुदायिक वन क्षेत्रमा पाँच हजार चिउरीका बिरुवा रोपिने आयोजक सर्वांगिण विकास नेपाल काठमाडौंले जनाएको छ । बिहीबार दिउँसो हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेलले चिउरी वृक्षरोपण कार्यको उद्घाटन गरिन् । विष्णुपुर महिला सामुदायिक वन क्षेत्रमा भएको वृक्षरोपणमा वन तथा वातावरण क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो।

संस्थाको जीविकोपार्जनका लागि मौरीपालन कार्यक्रमको चरन क्षेत्र विस्तार तथा प्राविधिक क्षमता अभिवृद्धि परियोजनाअन्तर्गत वृक्षारोपण गरिएको सर्वांगिण विकास नेपालले जनाएको छ । चिउरीको फूलबाट मौरीले प्रसस्त मह उत्पादन गर्न सक्ने र मौरीपालनका लागि अति राम्रो स्रोत मानिने तथा दाना एवं घिउबाट समेत राम्रो आम्दानी गर्न सकिने भएकाले साना कृषकको आर्थिक अवस्थामा टेवा पु-याउने उद्देश्यले मौरिपालन व्यवसाय सुरु भएको दुइटै महिला सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको हो।

प्हिलेदेखि नै १५ घार मौरीपालन गरिएको र अब चिउरी उत्पादन सुरु भएपछि व्यवसायलाई व्यापक बनाइने प्रगतिशील महिला सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष धनमाया विकले बताइन् । ‘अहिले मौरी चराउन अन्तै पठाउनु परेको छ,’ विकले भनिन्, ‘चिउरीको बिरुवा फुल्न थालेपछि धेरै सजिलो हुन्छ र मौरीको घारसमेत बढाउँछौं।’

हाल मौरीपालन व्यवसाय गर्ने सर्लाहीका किसान मौरी चराउनकै लागि कपिलबस्तु, मकवानपुरलगायत विभिन्न जिल्लामा जाने गरेका छन्।

प्रकाशित: २९ भाद्र २०७५ ०६:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App