१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

४० प्रतिशत सकियो

चितवन - भरतपुर महानगरपालिका–१ को ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने पुल निर्माण कार्य ४० प्रतिशत सकिएको छ । त्रिशूली नदीमा २१ करोड ६८ लाख लागतमा ‘प्रिस्ट्रेस्ड’ पुल बन्दै गरेको छ । पुल निर्माण कार्य तीन वर्षमा सक्ने गरी २०७१ कात्तिक १९ गते निर्माण सम्झौता गरिएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धमेन्द्र कुमार झाले बताए।

निर्माण सम्झौता गरिसकेपछि पुलको डिजाइन परिवर्तन भएकाले सम्झौता भएको डेढ वर्षपछि मात्र पुल निर्माण कार्य सुरु भएको उनले बताए । ‘डिजाइन परिवर्तन गरेर नयाँ डिजाइन बनाउन नै पाँच सय ५० दिन लाग्यो,’ उनी भन्छन्, ‘निर्माण ढिला सुरु हुँदा सम्पन्न गर्नुपर्ने समय परिवर्तन गरिएको छ।’

इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी गरी तीनवटा फरक कम्पनी मिलेर संयुक्त रुपमा पुल निर्माणको जिम्मेवारी लिएका छन् । निर्माणकर्ताले २०७६ वैशाख ९ गतेभित्र काम सक्ने गरी निर्माण सुरु गरेको उनले जानकारी दिए । ठिमुरा र देवघाटलाई जोड्ने पुललाई उनले विशेष पुल मानेका छन्। त्रिशूली नदीमा बन्दै गरेको पुलले ठिमुरा र देवघाट जोड्ने काम मात्र नगर्ने उनी बताउँछन्।

‘पुल निर्माणको उद्देश्यअनुसार तत्कालका लागि वारपार जोड्ने काम त गरिहाल्छ नै,’ उनले भने, ‘सडक विभागको पञ्चवर्षीय रणनीतिमा उल्लेख भएअनुसार मुग्लिन–नारायणगढ सडकको विकल्पमा देवघाटदेखि मुग्लिनसम्म सडकको ट्र्याक खोल्ने योजना छ।’ ठिमुरा बन्दै गरेको पुलदेखि मुग्लिनसम्मको २७ किमि दूरी सडक बनाउन विश्व बैंकको सहकार्यमा डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट) बनिरहेको उनले जानकारी दिए।

रिपोर्ट बनाइसकेपछि हालै दुई लेनमा फराकिलो बनाएर विस्तार गरिएको चितवनतर्फको नारायणगढ–मुग्लिन सडकखण्ड जस्तै नदीपारी पनि बाटो बन्ने योजना रहेको डिभिजन प्रमुख झाले बताए। नारायणगढ–मुग्लिनको पारिपट्टी ठिमुरादेखि मुग्लिनसम्मको सडक बनाएर एकातर्फ आउने र अर्कोतर्फ जाने गरेर सवारी आवागमन सहज गराउन सकिने उनी बताउँछन् । ‘नयाँ सडक बनाउन त्यो पुलले काम गर्छ,’ उनी भन्छन्, ‘त्यो सोच र योजनाअनुसार पुल निर्माण कार्य थालिएको हो।’

पुलको निर्माण कार्यले ४० प्रतिशत भौतिक प्रगति लिँदा नौ करोड तीन लाख रुपैयाँ भुक्तानी गरिएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । ओपन फाउन्डेसनको साइडमा लैजानुपर्ने विज्ञहरुको रायअनुसार पुलको डिजाइन परिवर्तन गरेर २०७२ चैत २ गतेबाट काम गर्ने अनुमति दिइएको उनी बताउँछन्।

पिस्ट्रेस्ड कंक्रिट ब्रिज चारवटा ‘स्पान’ राखेर बनाइँदैछ । पुलमा ४० मिटर लम्बाइका तीनवटा क्रंकिट स्पान बनाइनेछ । पुलको प्रमुख भाग ८० मिटर लामो स्टिलको ट्रस्ट स्ट्रक्चरसहित बनाउन लागिएको इन्जिनियर आचार्यले बताए । सबै स्पान गरी पुल दुई सय मिटर लामो बन्ने उनले बताए।

प्रकाशित: १८ भाद्र २०७५ ०५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App