काठमाडौं – एनआइसी एसिया बैंकले बुधबार एकै दिन कास्कीमा दुईवटा शाखा खोलेको छ। बैंकले पोखरा महानगरपालिकाको न्युरोड र अन्नपूर्ण गाउँपालिकाको नौडाँडामा शाखा सुरु गरेको हो। पोखारा शाखा बैंक सञ्चालक राजेन्द्रप्रसाद अर्याल र नौडाँडा शाखा अर्का सञ्चालक विनोदकुमार प्याकुरेलले गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै सञ्चालक अर्यालले वित्तीय सुविधाको फराकिलो पार्ने प्रयत्न अन्तर्गत बैंकले शाखा विस्तार गरिरहेको जानकारी दिए। ‘हामी जनसाधारणको पहुँचमा बैंकिङ सुविधा पु-याउँदै ग्रामीण भेगका बासिन्दालाई बचत गर्न पनि सिकाइरहेका छौं,’ अर्यालले भने।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकृत सुधिरनाथ पाण्डेले बैंकको वासलातको आकार एक खर्ब ८३ अर्ब रुपैयाँ पुगेको जानकारी दिए। उनका अनुसार बैंकको निक्षेप एक खर्ब ५५ अर्ब रुपैयाँ र कर्जा लगानी एक खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। शाखा सञ्जाल, कर्जा र निक्षेपका हिसाबले निजी क्षेत्रको सबैभन्दा ठूलो एनआइसी एसिया बैंकको शाखा संख्या अब दुई सय ४३ पुगेको छ।
एनआइसी एसियाले १२ लाख १९ हजार ग्राहकलाई वित्तीय सेवा दिइरहेको क्षेत्रीय प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास अवलम्बन गरेको उनको भनाइ छ।
प्रकाशित: १४ भाद्र २०७५ ०६:१४ बिहीबार