८ वैशाख २०८१ शनिबार
अर्थ

टेलिकमले २२ अर्ब लगानी गर्ने

काठमाडौं - नेपाल टेलिकमले चालु आर्थिक वर्षमा पूर्वाधार र गुणस्तर सुधारका लागि करिब २२ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि केही महत्वाकांक्षी योजना अघि सार्दै पूर्वाधार निर्माण, इन्टरनेट सेवा र गुणस्तरका विषयमा ध्यान दिने बताएको छ।

पूर्वाधार विकास
नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) सहयोगमा प्रदेश १, २ र ३ को मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण विस्तार गर्न पाँचवटा बोलपत्र आह्वान भइसकेको छ। यस अनुसार पाँचथरको चियो भञ्ज्याङदेखि गोर्खा–धादिङको आरुघाटसम्म दुई हजार एक सय ७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गरिने टेलिकमले जनाएको छ।

साथै, पहाडी जिल्लाका सदरमुकामहरुमा सञ्चालनमा रहेको एडिएसएस आयोजनामार्फत एक हजार किलोमिटर अप्टिकल फाइबर विस्तार कार्य चालु आर्थिक वर्षको पहिलो त्रैमासभित्रै सम्पन्न गरिने छ।

यसैगरी, काठमाडौं–तराई दु्रत मार्गमा नेपाली सेनासँग सहकार्य गरी भूमिगत रुपमा अप्टिकल नेटवर्क विस्तार कार्य थालनी गरिने कार्यक्रम छ।

वायरलेस र वारलाइन
जिएसएम मोवाइल सेवामा चालु आर्थिक वर्ष ०७५/७६ मा पोस्ट पेडतर्फ ५९ हजार आठ सय ३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने लक्ष्य राखेको छ। मुलुकभर थ्रिजी सेवा उपलब्ध गराउने लक्ष्यसहित यस आर्थिक वर्षमा थप बिटिएस जडान गरी सेवा विस्तारको कार्यलाई तीव्रता दिइने टेलिकमले जनाएको छ। मुलुकका सातै प्रदेशमा फोरजी सेवा विस्तार गर्न बोलपत्र आह्वान भइसकेको र यसै आर्थिक वर्षभित्र आवश्यक उपकरण जडान तथा नेटवर्क विस्तार गरी सेवा सञ्चालनमा ल्याइने टेलिकमको दाबी छ।

यस आर्थिक वर्षमा सिडिएमए प्रविधिका ८१ हजार ६ सय दुई लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको छ।

चालु आर्थिक वर्षमा पिएसटिएन (ल्यान्डलाइन) सेवातर्फ ४२ हजार दुई सय ६१ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको छ। मुलुकका ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा आइपी प्रविधिका उपकरणबाट भ्वाइस, डाटा र अन्य सेवा प्रदान गरिने टेलिकमले जनाएको छ। यस आर्थिक वर्षभित्र थप एक लाख लाइन आइपी प्रविधिबाट प्रतिस्थापन गरी पिएसटिएन सेवाको कुल जडित क्षमताको करिब ५० प्रतिशत उपकरण (चार लाख ५० हजार लाइन क्षमता) आइपी बेस्ड प्रणालीबाट सञ्चालन गरिनेछ। त्यसपछि बाँकी ल्यान्डलाइन सेवालाई पनि क्रमिक रुपमा आइपी बेस्ड प्रविधिमा रुपान्तरण गरिने छ।

जिएसएम बिटिए र टावर निर्माण  
कम्पनीले चालु आवको दोस्रो त्रैमासभित्र कम्पनीको ५.२ एम जिएसएम आयोजनाअन्तर्गत बाँकी रहेका बिटिएस सञ्चालन गर्ने तयारी गरेको छ। साथै सबै प्रदेशमा गरी थप एक सय २० बिटिएस साइट सञ्चालनमा  ल्याउने टेलिकमले जनाएको छ।

त्यस्तै, कम्पनीको १० एम जिएसएम आयोजनाअन्तर्गत बाँकी रहेका बिटिएस तथा थप बिटिएस सञ्चालन गर्न यसका लागि आवश्यक पर्ने टावर खरिद तथा सञ्चालन प्रक्रिया अघि बढाएको छ।

इन्टरनेट सेवा  
आगामी दिनमा डाटा सेवाको विस्तारको लागि फोरजी सेवामार्फत वायरलेस ब्रोडब्यान्ड सेवालाई थप प्रवद्र्धन गर्ने लक्ष्य टेलिकमको छ। साथै सहरी क्षेत्रका ग्राहकलाई उच्च क्षमताको डाटा सेवा प्रदान गर्न काठमाडौं उपत्यका लगायत मुलुकका मुख्य–मुख्य सहरमा तीन लाख क्षमताको फाइबर टू द होम नेटवर्क विस्तार गरी एक लाख ग्राहकलाई सेवा प्रदान गर्ने लक्ष्य टेलिकमको छ।

यसै आर्थिक वर्षभित्र विद्यालय, स्वास्थ्य संस्था र गाउँपालिकामा वाइम्याक्स प्रविधिमार्पmत न्यूनतम पाँच सय १२ केबिपिएस क्षमताको ब्रोडब्यान्ड इन्टरनेट सेवाको हट स्पट स्थापना गरी मुलुकका ७७ वटै जिल्ला सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्रमा वाइफाई सेवा सञ्चालनमा ल्याइने टेलिकमको प्रतिबद्धता छ।

प्रकाशित: २८ श्रावण २०७५ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App