१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अस्ताए ‘पर्यटन हस्ती’ पोखरेल

काठमाडौं - मुलुकको पर्यटन उद्योगको विकास, विस्तार र प्रवर्द्धनमा आफ्नो जीवनको पाँच दशकभन्दा लामो समय बिताएका ‘पर्यटन हस्ती’ टेकचन्द्र पोखरेलको निधन भएको छ।

पर्यटन उद्योगका पदयात्रा, पर्वतारोहण, ट्राभल, टुर क्षेत्रको विस्तार र विकासमा सधैं लागिपरेका पोखरेलको ८४ वर्षको उमेरमा सोमबार राजधानीको ओम अस्पतालमा निधन भएको हो । उनको सोमबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

‘हामीले पर्यटन उद्योगका अगुवा तथा अभिभावक गुमाएका छौं,’ एस होटल्स एन्ड रिसोर्ट्स प्रालिका कार्यकारी अध्यक्ष योगेन्द्र शाक्यले सोमबार नागरिकसँग भने, ‘समग्र पर्यटन उद्योगको विकास र विस्तारमा उहाँ सधैं डटेर लाग्नुभयो । उहाँ कसैको दबाबमा नबस्ने, प्रष्ट वक्ता, भलाद्मी र पर्यटन उद्योगमा ‘क्रान्तिकारी’ स्वभावको हुनुहुन्थ्यो । आफ्ना विचार व्यक्त गर्न कसैसँग डराउनुहुन्थेन ।’शाक्यका अनुसार मुलुकको पर्यटन उद्योगमा विदेशी लगानी ल्याउनुपर्छ, स्वेशीले मात्र पुग्दैन र सकिँदैन भन्ने उहाँको प्रष्ट धारणा थियो । त्यही भएर उहाँले जापानी लगानीकर्तासँग मिलेर सन् ६० को दशकमा ट्रान्स हिमालयन टुर्स नामको ट्राभल कम्पनी, स्याङबोचेमा होटल एभरेस्ट भ्यु स्थापना गर्नुभएको थियो।

त्यसपछि पोखरेलले ट्राभल कम्पनी सांग्रिला टुर्स र सन् १९७४÷७५ तिर ठमेलमा ‘रम डुडल’ नामको रेस्टुरेन्ट खोलेका थिए । यी दुवै कम्पनी हाल नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो) का अध्यक्ष तथा उनका छोरा अशोकचन्द्र पोखरेलले सञ्चालन गरिरहेका छन् ।‘त्यो जमानामा नेपाली लगानीले मात्र पुग्दैन विदेशी लगानी पनि चाहिन्छ भन्ने दूरदृष्टि पोखरेलसँग थियो,’ शाक्यले भने, ‘आफ्नो कम्पनी स्थापना गर्ने वा व्यापार गर्नेभन्दा पनि समग्र पर्यटन उद्योगलाई नेतृत्व गर्ने र अगाडि बढाउनुपर्छ भन्ने ध्याउन्न उहाँको हुन्थ्यो।’

शाक्यका अनुसार फ्रान्सेली नागरिक लेबे्रकको नेतृत्वमा सन् १९७२ मा तयार पारिएको नेपालकै पहिलो ‘पर्यटन गुरुयोजना’ निर्माणका सदस्य भएर काम गरेका थिए । त्यही गुरुयोजनाले पोखराको सराङकोट लगायत पर्यटन गन्तव्य पहिचान गरेको थियो । ‘उहाँ पर्यटन उद्योगमा पनि जहिल्यै नौला काम गर्नुहुन्थ्यो,’ शाक्य सम्झिन्छन्, ‘दशकौं पहिले भक्तपुर नगरकोटमा होटल खोल्ने र स्याउखेती गर्ने परियोजना बनाए पनि पछि स्याउखेती मात्र गर्नुभएको थियो।’

पोखरेलका समकालीनहरूका अनुसार पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन र थप विस्तार गर्न संघसंगठन आवश्यक पर्ने उनको भनाइ रहन्थ्यो । त्यसैलाई पुष्टि गर्न उनले टुर तथा ट्राभल व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्जिस एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो) लगायत पर्यटन क्षेत्रका प्रमुख संघसंस्था स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए र ती संस्थालाई धेरै वर्षसम्म नेतृत्वसमेत दिएका थिए । उनी नाट्टामा आठ वर्ष अध्यक्ष भएका थिए।

प्रेसिडेन्ट ट्राभलका संस्थापक तथा अध्यक्ष भोलाबिक्रम थापाका अनुसार सोलुखुम्बुको स्याङबोचेमा पोखरेलले जापानका मिहारासँग मिलेर होटल एभरेस्ट भ्यु स्थापना गरेका थिए । ‘जापानी पर्यटकलाई नेपाल ल्याउन सुरुवात गर्ने श्रेय सम्भवतः उहाँलाई जान्छ,’ थापाले भने, ‘पदयात्रा, पर्वतारोहण र ट्राभल क्षेत्रमा उहाँको उल्लेख्य योगदान छ । उहाँ ‘माउन्टेन लक्जरी’ र ट्रेकिङमा दक्खल राख्नुहुन्थ्यो।’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पोखरेलको निधनबाट मुलुकको पर्यटन उद्योगले एक अभिभावक र अगुवा गुमाएको बताए । ‘पोखरेलको निधनले समग्र पर्यटन उद्योगमा अपूरणीय क्षति पुगेको छ,’ उनले भने ।पोखरेलको निधनमा पर्यटन बोर्ड, नाटो, नाट्टा, टानलगायत पर्यटन संघसंस्थाले शोक वक्तव्य जारी गरेका छन् । पोखरेलका श्रीमती, एक छोरा र एक छोरी छन् ।

 

 

प्रकाशित: ८ श्रावण २०७५ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App