५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

पैसा माग्दै किसान, उद्योगी खोज्दै प्रशासन

सर्लाहीको पश्चिम धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग । तस्बिर : टंक/नागरिक

सर्लाही – जिल्लाको दक्षिणी पश्चिम क्षेत्रस्थित पश्चिम धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले गत वर्षदेखिकै उखुको पैसा नदिँदा किसानहरु अत्यन्त मारमा परिरहेका छन् ।

उद्योगले पैसा नदिँदा घरव्यवहार मिलाउनै साह्रै गाह्रो परिरहेको विष्णु गाउँपालिका निवासी अजित सिंहले गुनासो गरे । अघिल्लो वर्षसमेत दुई सिजन बेचेको उखुको पैसा नपाएका कारण भर्खरै एसइईमा राम्रो रिजल्ट ल्याएको छोरालाई पढाउने विषयमा समेत अन्यौल छाएको सिंहको गुनासो छ । उनको मात्रै १० लाख रुपैयाँभन्दा बढी रकम उद्योगसँग लिन बाँकी छ।

सिंह जस्तै उक्त उद्योगमा उखु दिने सयौं किसान पैसा नपाउँदा छटपटिन बाध्य छन् । ‘पैसा माग्न उद्योगमा दर्जनौं किसानको लाइन लाग्छ,’ स्थानीय लक्ष्मण रायले भने, ‘तर उद्योगमा कोही भेटिँदैन, अनि मलिन अनुहार पारेर फर्किन्छन् ।’ प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला सबै पक्षलाई गुनासो गर्दा पनि बेसाहारा किसानले उखुको पैसा पाउन नसकेको रायले गुनासो गरे।

उद्योगपतिलगायत जिम्मेवार अधिकारी कोही पनि नबस्ने गरेका कारण स्थानीय किसानहरु उद्योगमा धाउँदा धाउँदा हैरान भएका हरकठवाका संजिव सिंहको गुनासो छ । भुक्तानी नपाउँदा स–साना किसानहरु समेत निकै मर्कामा परेका सिंहले बताए।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले वर्ष दिनको बाली बेचेबापत भुक्तानी नपाउँदा किसानहरु निकै समस्यामा परेको बताए । ‘अन्नपूर्णले किसानको पैसा रोकेर ठूलो शोषण गरिरहेको छ,’ मैनालीले भने, ‘भुक्तानीका लागि पहल गर्न स्थानीय प्रहरी प्रशासनदेखि सरकारका जिम्मेवार निकायमा हारगुहार गर्दा पनि केही लागेन।’

अन्नपूर्णले यस वर्ष १२ लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । अन्नपूर्णले यस वर्ष क्रसिङ गरेको १२ लाख ५० हजार क्विन्टलको सरकारले तोकेको मूल्यअनुसार ६६ करोड ४० लाख रुपैयाँ किसानलाई भुक्तानी गर्नुपर्ने हुन्छ । तर यति धेरै रकम रोकिँदा किसान निकै मर्कामा परेका छन् ।त्यस्तै अन्नपूर्णले अघिल्लो वर्षकै भुक्तानी समेत गरेको छैन । अघिल्लो वर्षको पनि ६ करोड रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको बताइएको छ।

प्रमुख जिल्ला अधिकारी दोर्णप्रसाद पोखरेलले अन्नपूर्णका उद्योगपति पटक–पटक बोलाउँदा पनि नआएको जानकारी दिए । ‘हामीले पटक–पटक उपस्थित हुन लिखित र मौखिक रुपमा जानकारी गराईसक्यौं,’ उनले भने, ‘काठमाडौं तिरै बस्छन् रे भन्ने सुनिएको छ, यहाँ अहिलेसम्म उपस्थित नै भएका छैनन् ।’

उद्योगका सञ्चालक राकेश अग्रवाल एवं ज्ञानप्रसाद भट्टराईको खोजतलास जारी रहेको प्रशासनले जनाएको छ । केही दिनअघि उद्योगपतिबाट इमेलमार्फत यथाशिघ्र भुक्तानी गर्ने प्रतिबद्धता पत्र प्राप्त भएको र विस्तृत छलफलका लागि भने उपस्थित नभएको प्रजिअ पोखरेलले जानकारी दिए  । दुई महिनाभित्र नयाँ र पुरानो सबै भुक्तानी सक्ने प्रतिबद्धता इमेलमार्फत आएको उनले बताए।

४० लाख २० हजार क्विन्टल क्रसिङ गरेको जिल्लाकै हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले भने तालिका बनाएरै किसानलाई भुक्तानी गरिरहेको छ । इन्दुशंकरले गत वर्षको भुक्तानीसमेत त्यहीबेला नै गरिसकेको छ ।
बगदहमा यसै वर्ष क्रसिङको ट्रायलसमेत गसिकेको अर्को महालक्ष्मी सुगर मिलसमेत गरी तीनवटा चिनी उद्योग रहेको सर्लाही मुलुकमै सबैभन्दा बढी अर्थात साढे २१ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुने जिल्ला हो । यस वर्ष भने अझ बढेर २४ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको छ ।


 

प्रकाशित: १ श्रावण २०७५ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App