२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दिलबहादुर बचाउन साउदी अरबबाट आठ लाख सहयोग

काठमाडौं - ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्युदण्डबाट बचाउन संकलित आठ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

साउदीस्थित विभिन्न संघसंस्थाले संकलन गरेको उक्त रकम मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान’ मूल समितिलाई हस्तान्तरण गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघ साउदीका पूर्वअध्यक्ष हुम सुनारीमगरको नेतृत्वमा साउदीमा क्रियाशील संस्थाहरु पारिवारिक समाज नेपाल, नेपाली प्रवासी समाज, एनए मिडियालगायतले साउदीमा रहेका नेपालीहरुबाट आठ लाख २७ हजार एक सय १८ रुपैयाँ संकलन गरेको थियो ।

उक्त सहयोग रकम नेपाल मगर संघद्वारा आयोजित पत्रकार सम्मेलनमा मगर संघका अध्यक्ष नवीन रोकामगर र नेपाली प्रवासी समाजका पूर्वअध्यक्ष रामप्रसाद सापकोटाले समितिका सदस्य तथा दिलबहादुरकी पत्नी मनिका बुढालाई हस्तान्तरण गरेका छन् ।

रोल्पा नगरपालिका–१०, रोल्पा घर भएका दिलबहादुर विगत दुई वर्षदेखि साउदीको जेलमा छन् । उनले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई दुई लाख २५ हजार रियाल (करिब ६५ लाख रुपैयाँ) क्षतिपूर्ति दिन फैसला गरेको छ ।

साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।पत्रकार सम्मेलनमा दिलबहादुरकी पत्नी मनिकाले आफ्नो श्रीमान जेलबाट सकुशल मुक्त हुने आशा व्यक्त व्यक्त गरिन् । ‘मलाई मेरो श्रीमान फर्केर आउनुहुन्छ कि हुन्न भन्ने द्विविधा थियो । स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइबाट मैले सहयोग पाएँ, अब म ढुक्क छु,’ उनले भनिन् । दिलबहादुरको जीवन रक्षाका लागि मूल समितिको नाममा खोलिएको खातामा हालसम्म ४० लाख रुपैयाँ रकम जम्मा भएको उनले बताइन् । बाँकी २५ लाख रुपैयाँ पनि चाँडै जुट्ने अपेक्षा उनले व्यक्त गरिन् ।

प्रकाशित: २८ असार २०७५ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App