coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेवानि तीन महिनाभित्र जापान उड्ने

काठमाडौं - नेपाल वायुसेवा निगमले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना जहाजका लागि ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा उपलब्ध गराउन सार्वजनिक प्रस्ताव आह्वान गरेको छ।

निगमले ग्राउन्ड ह्यान्डलिङसँगै त्यहाँ जहाज मर्मत र इन्जिनियरिङ सेवासमेत उपलब्ध गराउने गरी आइतबार सार्वजनिक प्रस्ताव आह्वान गरेको हो ।

सम्बद्ध कम्पनीले १५ दिनभित्र प्रस्ताव पेस गर्ने म्याद निगमले दिएको छ ।‘आगामी भदौ १६ बाट असोज १४ गतेभित्र काठमाडौंबाट सिधा जापानको राजधानी टोकियो नजिक रहेको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित व्यापारिक उडान गर्ने योजनामा छौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले आइतबार नागरिकसँग भने, ‘त्यही भएर नारितामा ग्राउन्ड ह्यान्डलिङ, मर्मत र इन्जिनियरिङ सेवा दिन सम्बद्ध कम्पनीका लागि सार्वजनिक प्रस्ताव आह्वान गरेका हौं।’

उनका अनुसार नारिता विमानस्थलमा निगमले केही दिनअघि ल्याएको २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको जहाज, केही वर्षअघि ल्याएको १ सय ५८ सिटे ‘ए३२०–२००’ सिरिज र १ सय ९० सिटे ‘बि७५७–२००’ सिरिजका जहाजका लागि ग्राउन्ड ह्यान्डलिङ गर्न प्रस्ताव मागिएको हो ।यसमा ए३३० जहाजको धावनमार्ग छोड्दाको अधिकतम तौल २ सय ३० टन, ए३२० को ७७ टन र बि७५७ को १ सय १० टन हुने निगमले जनाएको छ । यी जहाजको ग्राउन्ड ह्यान्डलिङ शुल्क तौल र जहाजपिच्छे फरक पर्ने निगमको भनाइ छ । ‘ग्राउन्ड ह्यान्डलिङ शुल्क मासिक, वार्षिक वा प्रत्येक उडान हेरेर तय गरिने छ,’ प्रवक्ता श्रेष्ठले भने।

सार्वजनिक प्रस्तावमा निगमले आधारभूत प्याकेजमा ग्राउन्ड ह्यान्डलिङ सेवालाई समेटेको छ भने इन्जिनियरिङ र मर्मत सेवालाई छुट्टै लिएको छ । त्यसैगरी काठमाडौंबाट नारिता जानेलाई उडान नम्बर ४ सय ३३ र नारिताबाट काठमाडौं फर्कनेलाई उडान नम्बर ४ सय ३४ तोकेको छ । प्रत्येक साता आइतबार, सोमबार, बुधबार र शुक्रबार जापान उडान गरिने छ ।‘सुरुवातमा हामी सातामा तीन उडान गर्ने व्यापारिक योजनामा छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यसपछि यात्रुको माग र चाप हेरेर विस्तारै दैनिक एक उडान गर्ने लक्ष्य छ।’

ग्राउन्ड ह्यान्डलिङ सेवा दिन प्रस्ताव आह्वान

नेपाल र जापानबीच असार पहिलो साता जापानको राजधानी टोकियोमा भएको द्विपक्षीय हवाई सेवा सम्झौता पुनरावलोकन वार्ताले दुवै देशका तोकिएका वायुसेवाले सातामा १४-१४ उडान गर्न पाउने सम्झौता भएको थियो ।  
दुवै देशका तोकिएको वायुसेवा कम्पनीले सातामा १४ उडान गर्न पाउने र यसमा यसमा सिट संख्या तोकिएको छैन । जत्रो आकारको जहाज भए पनि सातामा १४ उडान गर्ने पाइन्छ । नेपालबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमबाहेक अन्य वायुसेवालाई पनि सरकारले जापान उडान अनुमति दिए त्यही १४ उडानबाट बाँडेर लिनुपर्छ । जापानमा पनि यस्तै नियम लागू हुन्छ।

साढे दुई दशकअघि जापानसँग भएको सम्झौताअनुसार भने दुवै देशका तोकिएका वायुसेवाले सातामा ४ सय सिट अथवा सातामा दुई उडानसम्म गर्न पाउँथे । अहिले भने त्यसमा सात गुणा बढाउन सहमति भएको हो । जापानले टोकियोस्थित हानेदा अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य सबै विमानस्थलमा उडान–अवतरण गर्न दिन सहमति गरेको छ । हानेदा विश्वकै पाँचौं व्यस्त विमानस्थलमा पर्छ।

हानेदा विमानस्थलमा नेपालले उडान गर्न नपाउने भएपछि अब सबैभन्दा उत्तम विकल्प नारिता अन्तर्राष्ट्रिय विमानस्थल भएको छ । विगतमा वायुसेवा निगमले जापानको ओसाकामा उडान गरेको थियो । त्यसबेला १ सय ९० सिट क्षमतायुक्त ‘बि७५७–२००’ सिरिजका जहाजबाट उडान गरेको थियो । निगमले एक दशकअघि जापान उडान बन्द गरेको थियो ।अब भने निगमले लामो दुरीमा उडान गर्ने ठूलो (वाइड बडी) आकारको जहाज ‘ए३३०–२००’ बाट जापान उडान गर्ने तयारी गरेको छ । काठमाडौंबाट जापानको नारिता पुग्न सिधा करिब ९ घन्टा उडान गर्नुपर्छ।
 

प्रकाशित: २५ असार २०७५ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App