काठमाडौं – अमेरिकी डलर पुनः अधिमूल्यन भई नेपाली बजारमा एक सय ६ रुपैयाँ नाघेको छ। शनिबार स्वदेशी बजारमा एक अमेरिकी डलर १०७.२८ रुपैयाँमा बिक्री भएको छ। राष्ट्र बैंकले शनिबारका लागि डलरको खरिद दर १०६.६८ रुपैयाँ र बिक्री दर १०७.२८ रुपैयाँ तोकेको छ । यो १३ महिनायताकै महँगो हो।
२०७३ को चैतमा एक अमेरिकी डलर किन्न १०३.४६ रुपैयाँ खर्च गर्नुपथ्र्यो। यो बीचमा त्यसैको हाराहारीमा रहेको डलरको भाउ पछिल्लो समय बढ्दै गएको छ।
यसअघि एक अमेरिकी डलर किन्न १०९ रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको थियो। तर, विस्तारै घटेर एक सय दुई रुपैयाँसम्ममा आएको थियो। अन्तर्राष्ट्रिय बजारमा डलरप्रति आकर्षण बढेकाले यसको भाउ पुनः उकालो लागेको नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका प्रमुख एवं कार्यकारी निर्देशक भिष्म ढुंगानाले नागरिकलाई बताए। ‘डलरको चार्म (आकर्षण) अझै बढ्ने छ,’ उनले भने।
निकासीकर्ता, रेमिट्यान्स बुझ्ने परिवार र पर्यटन व्यवसायीबाहेक अरुलाई घाटा
भारतीय बजारमा अमेरिकी डलरको माग बढेकाले महँगिएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवाली बताउँछन्। ‘भारतीय करेन्सीको अवमूल्यन भएका कारण डलरको भाउ बढेको हो,’ उनले भने, ‘खास गरी मुम्बई मनी मार्केटको रिफ्लेक्सनकै कारण डलरको भाउ उकालो लागेको हो।’
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र सुनमा आएको अस्थिरताका कारण लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्दा डलर महँगिएको एक विज्ञले बताए । ‘विश्व बजारमा सुन र तेलको भाउ अस्थिर भएका कारण डलरमा लगानी बढ्दा भाउ उकालो लागेको हो,’ उनले भने, ‘अमेरिकी सेयर बजारप्रति संसारभरका लगानीकर्ताको आकर्षण बढेको बढ्यै छ, यसले डलरलाई थप बलियो बनाउन सहयोग गरेको छ।’
डलर महँगिदा नेपाली उपभोक्ताले आयातित वस्तु तथा सेवामा मूल्य वृद्धिको सामना गर्नु परे पनि निकासीकर्तालाई भने फाइदा हुनेछ। त्यसैगरी, पर्यटकसँग विदेशी मुद्रामा सेवाको मूल्य लिने पर्यटन व्यवसायी पनि यसबाट लाभान्वित हुनेछन्। त्यसैगरी, विदेशबाट आउने रेमिट्यान्स डलरमै आउने हुँदा उक्त रकम प्राप्त गर्ने परिवारले साबिकको तुलनामा बढी पैसा पाउने छन्।
१३ महिनायताकै उच्च भाउ अझै माथि उक्लिने विज्ञहरुको अनुमान
निकासीकर्ताले पनि डलरमै भुक्तानी हुँदा फाइदा लिन सक्ने भए पनि कच्चा पदार्थ आयात गर्दै डलरमै भुक्तानी गर्नुपर्ने भएकाले भने जस्तो नाफा लिन सक्दैनन् । डलर महँगिदा तेस्रो मुलुकबाट आयात हुने सामानको मूल्य बढ्नेछ। न्यून आय भएका नेपालीका लागि अब भारतबाहेक सबै मुलुकबाट आयात हुने सामानको भाउ उच्च दरले बढ्नेछ भने भारतबाटै आयात हुने कतिपय वस्तुको मूल्य पनि अकासिनेछ । ‘डलर महँगिदा नेपालीले खुसी मान्नुपर्ने एउटैमात्र विषय रेमिट्यान्स आप्रवाहमात्रै हो,’ ज्ञवालीेले भने।
डलर महँगिदा सरकारमाथि पनि वित्तीय दायित्व थपिनेछ । विदेशी ऋणको साँवा ब्याज भुक्तानी गर्दा महँगो डलरनै प्रयोग हुने हुँदा यसले सरकारको वित्तीय दायित्व बढाउँछ।
बढ्दो रेमिट्यान्सले बैंकहरूमा लगानीयोग्य पुँजी (तरलता) भने बढाउनेछ। अहिले बैंक, वित्तीय संस्थामा तरलता कम छ। ‘यसले थप तरलता बढाउनेछ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘बैंक, वित्तीय संस्थालाई लगानी गर्नलाई रकम अभाव हुने छैन।’
अमेरिकी रोजगारी र अर्थतन्त्र सुधारात्मक गतिमा देखिएकाले डलर थप महँगो भएको विज्ञहरू बताउँछन्। अमेरिकी अर्थतन्त्रमा सुधार आएका कारण डलर उकालो लागेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन्। अमेरिकामा बेरोजगारी घटेकाले पनि डलरको मूल्य बढ्न सघाएको उनको भनाइ छ।
करिब पाँच वर्षअघि एक डलर खरिद गर्न लगभग ७१ रुपैयाँ तिर्नुपथ्र्यो। नेपाली रुपैयाँ यति धेरै सस्तिनुमा नेपालको कारण छैन । यो अवस्थामा नेपालको सरकार र केन्द्रीय बैंकले कुनै उपचार खोज्न सक्ने विकल्प पनि छैन। नेपाली मुद्रा र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर कायम गरिएकाले भारुमा आएको उतारचढावको सिधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ। अहिले भारतीय मुद्रा डलरको तुलनामा कमजोर छ।
विश्व बजारमा अमेरिकी डलरको माग उच्च दरले बढ्नु र प्रमुख एसियाली मुद्राहरू कमजोर हुँदै जानुले नेपाली रुपैयाँको तुलनामा पनि अमेरिकी डलर महँगिएको हो। बजारमा सजिलै डलर प्राप्त गर्न सक्ने अवस्था समेत छैन।
डलर महँगिदा भारतको बाटो हुँदै आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा पर्ने चापले ढुवानी लागत बढ्नेछ। यसले आन्तरिक उत्पादनको मूल्यमा समेत प्रभाव पार्नेछ। हवाई भाडामा हुने परिवर्तनले सडक सञ्जाल नपुगेका दुर्गम क्षेत्रको स्वास्थोपचारकक नराम्ररी प्रभावित हुनेछ। व्यापार घाटा चुलिनेछ। जनस्तरमा असमानता अझ बढाउनेछ।
प्रकाशित: २३ वैशाख २०७५ ०४:१२ आइतबार