पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक पोखरा–छेन्दु चार्टर उडान भएको छ।
पोखरा पर्यटन परिषद्को पहलमा आज (मंगलबार) पहिलो पटक पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यावसायिक उडान भएको हो।
सिचुवान एयरलाइन्सको विमानमा आज १२६ जना पोखरेली छेन्दू गएका छन्। दिउँसो १२ः४५ बजेको उडानमा उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन्।
copy.jpg)
यसअघि सो जहाज १२७ जना चिनियाँ पर्यटक बोकेर दिउँसो ११ः४५ बजे पोखरा विमानस्थलमा अवतरण भएको थियो। सोही विमानले पोखरेली पर्यटक बोकेर छेन्दू उडेको हो।

पोखराबाट पहिलो पटक भएको ऐतिहासिक व्यावसायिक चार्टर उडानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य तथा पोखरेली पर्यटन व्यवसायीहरू छेन्दू गएका हुन्।

सो विमानमा पोखरा भ्रमण वर्ष २०२५ का कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन बोर्ड पोखराका कार्यालय प्रमुख मणीराज लामिछाने लगायत छन्। त्यस्तै, पोखराका पाँच पत्रकार पनि सो विमानबाट छेन्दू गएका छन्।
पोखराबाट गएका पोखरेली पर्यटन एक हप्ताको छेन्दू बसाइपछि फर्किनेछन्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य भने २ दिनपछि काठमाडौं ट्रान्जिट बनाएर फर्किनेछन्। आफ्नो कार्य व्यस्तताका कारण भ्रमण छोट्याएर आफू फर्किने उनले बताए।
यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार वटा अन्तर्राष्ट्रिय चार्टर फ्लाइट भइसकेपनि पोखराबाट सिधै अन्तर्राष्ट्रिय फ्लाइट भएको पहिलो पटक हो। विदेशबाट पोखरा सिधै चार्टर उडान भएपनि पोखराबाट सिधै विदेश उडान भने हुन सकेको थिएन।

यो चार्टर फ्लाइटबाट नियमित अन्तर्राष्ट्रिय फ्लाइटको लागि ढोका खुल्ने विश्वास गरिएको छ। विश्वका जुनसुकै विमानस्थलबाट नियमित फ्लाइट हुनुअघि पहिलो फ्लाइट चार्टर फ्लाइटबाटै सुरुवात भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि यो फ्लाइट नियमित चार्टर फ्लाइटका लागि कोशेढुंगा साबित हुने पोखरेली पर्यटन व्यवसायीहरूको विश्वास छ।
मंगलबारबाट सुरु भएको चार्टर फ्लाइटपछि अब हरेक हप्ता पोखरा–छेङ्दु नियमित फ्लाइट हुने व्यवसायीको दाबी छ। पहिलो चरणमा ३ हप्ताका लागि चार्टर उडान गर्ने सम्झौता भइसकेको छ।
त्यसबाहेक थप ७ हप्ता चार्टर उडान गर्ने मौखिक सहमति भइसकेको पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले बताए। उनका अनुसार पहिलो चार्टर फ्लाइटमा पोखरेली पर्यटन व्यवसायीहरू सहभागी छन्।
पहिलो फ्लाइट भएको एक हप्तापछि दोस्रो फ्लाइटमा पोखराका लब्ध प्रतिष्ठित व्यक्तिहरूसँग पत्रकारहरूको टोली छेङ्दु जानेछन् भने त्यसपछिको हप्तामा हुने तेस्रो फ्लाइटमा सामाजिक अभियन्ता तथा नागरिक अगुवाहरू जाने पोखरा पर्यटन परिषद्ले जनाएको छ।
नियमित चार्टर फ्लाइटका लागि चीनस्थित चाइना ट्राभल्स इन्टरनेसनल छेन्दु र नेपालस्थित चाइनिज ओभरसिज एसोसिएसनले समन्वय गरेको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए।
उनका अनुसार आगामी तीन महिना भित्रमा चीनको सिचुवानबाट एक हजार २५० जना भन्दा बढी चिनियाँ पर्यटकलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने प्रयास भइरहेको छ।
यो प्रयास चिनियाँ दूतावासको सहयोगमा भइरहेको उनको भनाई छ।
व्यावसायिक चार्टर उडानबाट सुरु भएको यो अभियान व्यावसायिक उडानमा परिणत हुने विश्वास पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको छ।
‘अब व्यावसायिक उडान हुनुपर्छ। त्यसका लागि धेरै ढिला भइसक्यो। अब हुने चार्टर फ्लाइटले त्यसको ढोका खोल्नेछ’– उनले भने।
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले चार्टर फ्लाइट नियमित व्यावसायिक उडानका लागि लगानी हुने बताए।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेसनल हो कि इन्टरनेसनल ? भनेर बारम्बार प्रश्न उठ्ने गरेको छ’, उनले भने ‘यो चार्टर फ्लाइटले त्यसको जवाफ दिनेछ।’
प्रकाशित: ५ चैत्र २०८१ २०:०२ मंगलबार