रौतहट– रौतहटको गौर भन्सार कार्यालयले सीमा क्षेत्रमा निगरानी बढाएपछि भन्सार राजस्वमा वृद्धि भएको छ । भन्सार छली हुने गरेको आशंकामा सीमा नाका तथा अन्य सहायक बाटोहरुमा निरन्तर स्थलगत अनुगमन हुन थालेपछि गौर भन्सारको राजस्वमा वृद्धि भएको हो ।
वार्षिक लक्ष्यको साथै मासिक लक्ष्य पुरा गर्न निकै चुनौतीपूर्ण रहँदा गत फागुनको अन्तिम सातादेखि गौर भन्सार कार्यालयका शाखा अधिकृत विमल साहको कमाण्डमा भारतसंग सीमा जोडिएको रौतहटको २६ किलोमिटर क्षेत्रमा नियमित रुपमा अनुगमन कार्यलाई तिव्रता दिँदा राजस्व संकलन कार्यमा सुधार आएको हो।
खुला सीमाको फाइदा उठाउँदै अवैध कारोवार गर्नेहरू दुवै तर्फका स्थानीय सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारी सरकारी राजस्वलाई प्रतिकूल असर पार्दै आउँदा प्रत्येक महिनाको निर्धारण गरिएका लक्ष्य पुरा गर्न निकै कठिनाई भइरहेपछि भन्सार कार्यालय गौरबाट ठोस नीतिका साथ चोरी पैठारी कार्यलाई निस्तेज बनाई राजस्व संकलनमा सुधार ल्याउने योजनाबद्ध तवरबाट अनुगमन सुरु गर्दा असर देखिएको गौर भन्सार कार्यालय श्रोतले बताएको छ।
गत चैत महिनामा १ करोड ५६ लाख राजस्व संकलन गर्ने लक्ष्य रहँदा नियमित अनुगमन तथा व्यापारीलाई मुख्य नाकाबाट आउन विवश बनाइएपछि १ करोड ६३ लाख राजस्व संकलन गरिएको अधिकृत साहले जानकारी दिए । दुवै तर्फका कारोवारीहरू निर्धक्कका साथ राति राति अबैध कारोवार गर्न थालेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई भन्सार कार्यालय संगै अनुगमन गर्नमा सघाउन आग्रह गर्दा भन्सार राजस्व संकलनमा सुधार आई लक्ष्यभन्दा बढी राजस्व संकलन हुन सकेको भन्सार अधिकृत साहको भनाइ छ।
सीमामा निगरानी बाहेक यहाँबाट पलायन भइसकेका व्यापारीहरुलाई केही सहुलियत दिएर सिमेन्ट बनाउनमा प्रयोग गरिने क्लिंकर लगायतका र मेटेरियलहरु, आलुप्याज, लगायतका खाद्यान्न सामग्रीहरु भित्रँदा राजस्व संकलनमा वृद्धि भएको हो जसको फलस्वरुप आर्थिक वर्ष सकिन ३ महिना बाँकी रहदा वार्षिक लक्ष्य ६० प्रतिशत असुल भएको उनले भनेका छन्। यही रफ्तार रह्यो भने वार्षिक लक्ष्य भन्दा बढी राजस्व ३ महिनामा संकलन हुने समेत अधिकृत साहले स्पष्ट पारेका छन्।
विगत ३ सातामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले लाखौं मूल्य बराबरको कपडा लगायत अन्य सामानहरु बरामद गरेर आवश्यक कारवाहीका लागि यस कार्यालयमा दाखिला गराएको छ र नियमित चेकजाँच एवं गस्तीका कारण कालो कारोवार गर्ने व्यापारीहरुमा त्रास उत्पन्न भएको हुँदा चोरी पैठारीमा निकै कमी आएको अधिकृत साह बताउँछन् ।
प्रकाशित: ७ वैशाख २०७५ १६:४० शुक्रबार