उदयपुरको त्रियुगा नगरपालिका-६ जलजलेमा ‘प्रथम त्रियुगा जलजले महोत्सव २०८१’ सुरु भएको छ। बुधबार एक कार्यक्रमकाबिच नगरप्रमुख बसन्त बस्नेतले औपचारिक उद्घाटन गरे।
‘स्वदेशमै शिक्षा, रोजगार र कृषि, पर्यटनसँगै स्थानीय व्यवसायी प्रवर्द्धन क्षेत्रमा लगानी’ भन्ने मूल नाराका साथ स्थानीय स्वर्णिम युवा क्लब जलजलेले महोत्सव आयोजना गरेको हो।
त्रियुगा नगरपालिकाको संयोजनमा उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेको खेल मैदानमा सञ्चालित महोत्सव आउँदो फागुन तीन गतेसम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष एवं महोत्सव संयोजक रमाकान्त चौधरीले जानकारी दिए।
११ दिनसम्म चल्ने महोत्सवमा स्थानीय उत्पादन, कृषि उपज, कला संस्कृति, खाना परिकार, फलफूल र घरेलु उद्यमबाट उत्पादित सामग्रीदेखि बहुराष्ट्रिय कम्पनीका समान तथा यन्त्र उपकरणसमेतको प्रदर्शनी तथा विक्री वितरण स्टलहरू राखिएका छन्।
खासगरी थारु, दनुवार, नेवार, राई, लिम्बु, गुरुङ, मगर, तामाङ समुदायको रैथाने र पारम्परिक खानाका परिकारहरू महोत्सवका आकर्षण रहेका छन्। महोत्सवमा कुल सय स्टल रहनेछन्।
आयोजक क्लबका अनुसार हरेक दिन स्थानीय तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलकारको उपस्थिति रहने महोत्सवको पहिलो दिन कमल खत्री र एल्जिना रेग्मीले प्रस्तुति दिने कार्यक्रम छ। महोत्सवमा चर्चित गायकहरु सविन राई, तिर्सना गुरुङ, दुर्गेश थापा, ज्योति मगरलगायत दर्जन बढी कलकारहरुको प्रस्तुति देख्न पाइने आयोजकले जनाएको छ।
धरान–गाईघाट–कटारी भएर सञ्चालन भएको मदन भण्डारी लोकमार्ग बनेपछि धराशायी हुँदै गएको गाईघाट–लाहान खण्डमा पर्ने जलजले बजारको उत्थानका लागि महोत्सव सहयोगी बन्ने अपेक्षा आयोजकले लिएको छ।
८० लाख हाराहारी खर्च हुने महोत्सवलाई नाफामा लगेर फाइदाको ४० प्रतिशत हिस्सा जलजलेस्थित पोखरीलाई पर्यटकीयस्थलमा रूपान्तरण गर्ने काममा खर्च गर्ने क्लबले घोषणा गरेको छ।
सो पोखरीमा व्यावसायिक डुङ्गा शयर मार्फत् पर्यटकीयस्थलका रुपमा विकास गर्न महोत्सवको नाफाले सहज हुने बताइएको छ। सुरक्षा व्यवस्थापन नहुँदा सो पोखरीमा विगतका दशकयता आधा दर्जन बढीको डुबेर ज्यान गइसकेको छ।
पोखरीलाई चारैतिर घेराबार गरी सुरक्षित गर्दै बोटिङ गर्ने तथा पोखरीक्षेत्रलाई वनभोज (पिकनिक) स्थलमा रूपान्तरण गर्ने योजना क्लबले बनाएको चौधरीले बताए।
प्रकाशित: २३ माघ २०८१ २१:०६ बुधबार





