काठमाडौं – कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोकको पर्यटन प्रवर्द्धन गर्न महोत्सव, मेलाले मुख्य भूमिका खेल्ने बताएका छन्।
सिन्धुपाल्चोक पर्यटकीय हिसाबले सम्भावना बोकेको जिल्ला भएको भन्दै गाउँपालिका तथा नगरपालिकामा महोत्सव आर्थिक समृद्धिको पहिलो आधार हुने कानुनमन्त्री तामाङले बताए।
नयाँ वर्ष २०७५ को अवसरमा इन्द्रावती गाउँपालिकाले आयोजना गरेको प्रथम इन्द्रावती गाउँमापलिका महोत्सवमा कानुनमन्त्री तामाङले उक्त धारणा राखेका हुन्।
‘गाउँगाउँमा सडक जोडिएको छ । अब हरेक गाउँमा आर्थिक सुधारको कार्यक्रम तय हुनु पर्छ, जसले सिन्धुपाल्चोक समृद्ध हुन्छ,’ उनले भने, ‘यहाँको ऐतिहासिक नवलपुर बजार, पर्यटकीय स्थल, सांस्कृतिक पक्षलाई संरक्षण गर्दै आर्थिक रुपान्तरणमा लागौं।’महोत्सवमा ३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले महोत्सव आर्थिक विकासको नयाँ पाटो भएको बताए । हरेक गाउँपालिकाले विकास निर्माणलाई प्राथमिकता दिँदै पारदर्शी हुन समेत सुझाए।
स्थानीय स्रोत साधन, भौतिक विकास र संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले इन्द्रावती गाउँपालिका महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए । गाउँपालिका राष्ट्रिय महासंघका महासचिव समेत रहेका तामाङले गाउँपालिकाको भौतिक विकास र आर्थिक स्तर वृद्धिमा महोत्सवले मुख्य भूमिका खेलेको बताए।
नवलपुरमा गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा १२ वटै वडाको अध्यक्षको नेतृत्वमा विभिन्न सांस्कृतिक झाँकीसहित स्थानीय पहिचान झल्कने र आर्थिक समृद्धि ल्याउने प्रस्तुतिहरु राखिएको थियो।
‘महोत्सवले गाउँपालिको पाँचवर्षे योजना तथा ‘पाश्र्वचित्र’ बनाउन मद्दत पुगेको छ। गाँउपालिकाको पर्यटकीय क्षेत्रको योजना तुर्जमाका लागि महोत्सव आयोजना गरिएको हो,’ अध्यक्ष तामाङले भने, ‘स्थानीय कला संस्कृतिको संरक्षण र गाउँपालिकाका प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउने अभियान हो ।’ उनका अनुसार महोत्सवले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नेछ।’
गुफाँडाडामा प्याराग्लाडिङको सम्भाव्यता अध्ययन भइरहेको अध्यक्ष तामाङले बताए। स्थानीयको आर्थिक वृद्धि र पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन गर्ने योजना उनले सुनाए ।महोत्सवमा लोकगीत प्रतियोगिता समेत गरिएको थियो । १२ वटै वडाका खेलाडी सहभागी गराई फुटबल प्रतियोगिता गरिएको थियो । महोत्सवमा स्वास्थ्य शिविर, शैक्षिक मेलाको साथै स्थानीय उत्पादनको स्टल थिए।
प्रकाशित: ४ वैशाख २०७५ ०१:१५ मंगलबार