१७ मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

सुनसरीमा यस वर्ष धान उत्पादनमा वृद्धि

सुनसरीमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ। यसवर्ष यहाँ दुई लाख १७ हजार ४१२ मेट्रिक टन धान उत्पादन भएको छ।  

कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार कुल ४८ हजार ४०९ हेक्टरमा धान खेती गरिएको थियो। अझै पनि कालो बासमती र राधा १२ धान काटी नसकेकाले तथ्याङ्क थप हुने केन्द्रको भनाइ छ। गतवर्ष जिल्लाभर दुई लाख १३ हजार १६० मेट्रिक टन धान उत्पादन भएको थियो।

धान उत्पादनको मुख्य पकड क्षेत्र गढी, भोक्राहा नरसिंह, इनरुवा, बराहक्षेत्र, बर्जु र दुहवी मानिन्छ। कोशी, देवानगञ्ज र हरिनगर पनि धान उत्पादन हुने गरेको छ। तर,  कोशीको पूर्वी तटबन्ध २०६५ भदौं २ गते भत्काएर मानववस्तीमा प्रवेश गरेदेखि केही स्थानमा सोचे अनुसारको धान अहिलेपनि उत्पादन हुन सकेको छैन।

देवानगञ्ज र हरिनगरमा धानसँगै तरकारीलाई पनि किसानले प्राथमिकतामा राख्ने गरेका छन्। सुखी किसान देवानगन्जको पहिचान भन्ने नारा सहित विद्युतीकरणको काम गाउँपालिकाले गरेको छ।

धरान र इटहरीको कतिपय खेतीयोग्य जमीन टुक्रा–टुक्रा पारेर प्लटिङ गर्ने क्रम बढेको छ। जसले गर्दा खेतीयोग्य जमीन घट्दो छ। विशेषगरी धरानको वडा नं। २० त पहाडी क्षेत्रमै पर्छ । धरानको धान बढी हुने वडा नं। ५ र ६ पर्छ। इटहरीमा वडा नं। ४, ६ र  ९ वडाबाहेक अरु वडामा धान उत्पादन बढी मात्रमा हुने गर्छ।

जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार यसवर्ष धरान वडा नं। ६ र बराहक्षेत्रका केही स्थानमा फौजी किराले धानमा असर गरेको थियो। साथै, असोज ९ र १० गतेको वेमौसमी पानीले गर्दा पनि केही हदसम्म असर गरेको थियो। यद्यपी, उत्पादनमा भने धेरै असर नगरेको जानकारी दिइयो। यसपल्ट वर्षा राम्रो भएकाले गर्दा पनि उत्पादन वृद्दि भएको हो।

प्रकाशित: १७ मंसिर २०८१ १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App