सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले चीनको बीआरआई (बेल्ट एण्ड रोड इन्सिएटिभ) परियोजना अन्तर्गत ऋण सहायता लिन नहुने आफ्नो पार्टीको अडान रहेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सो परियोजना अन्तर्गत नेपालले अनुदान सहायता लिँदा राम्रो हुने पार्टीको धारणा रहेको उनले प्रस्ट्याएका हुन।
शुक्रवार सङ्घीय संसद भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रवक्ता महतले चीनसँग सो परियोजनामा आफू परराष्ट्र मन्त्री हुँदा सम्झौता भएको स्मरण गराउँदै त्यसमा लगानी,कनेक्टिभिटी र प्राविधिक सहयोगका कुराहरू भएकाले त्यसलाई अनुदानको रुपमा अघि बढाउन उपयुक्त हुने सुझाव आफूहरूको रहेको स्पष्ट पारे।
उनले मुलुक धेरै ऋणको भारमा रहेकाले कुनैपनि देशसँग थप लिन नहुने तर्क समेत गरे।प्रवक्ता महतले चीनले अनुदान सहायता दिने कुरा विगतमा गरेकाले उसले त्यो कुरा कार्यान्वयन गर्नुपर्ने दोहोर्याए।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सो परियोजनाको कार्यान्वयन योजनामा पनि हस्ताक्षर गर्नुपर्ने चीन सरकारको प्रस्ताव छ। तर सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले भने चीनले विगतमा गरेका सहमतिअनुसार सो परियोजना अन्तर्गत नै अनुदान सहयोग दिनुपर्ने अडान राखेको छ।
प्रकाशित: ७ मंसिर २०८१ १५:०३ शुक्रबार