अविरल वर्षाका कारण आएको बाढीले पुर्याएको क्षतिसम्बन्धी बिमा गरेका विमितहरूले भुक्तानी पाएका छैनन्। जोखिम न्यूनीकरण गर्न बिमितहरूले विभिन्न कम्पनीमा बिमा गरेकोमा बाढीले पुर्याएको क्षतिसम्बन्धी बिमाको रकम नपाएका हुन्।
गत असोजमा अविरल वर्षाका कारण भएको क्षतिमा बिमितले बिमा कम्पनीहरूमा ११ अर्ब ८२ करोड रूपैयाँको दाबी पेस गरेकोमा कात्तिक मसान्तसम्म ६१ करोड रूपैयाँ मात्र भुक्तानी भएको छ। ३४ सय १८ को भुक्तानीका लागि दाबी परेकोमा नौ सय दुई जनाले मात्र भुक्तानी पाएका छन्।
शिखर इन्स्योरेन्समा एक अब पाँच करोड रूपैयाँको दाबीमा २६ करोड ६ लाख रूपैयाँ भएको छ। सबैभन्दा धेरै भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। सिद्धार्थ प्रिमियम इन्स्योरेन्समा दुई अर्ब ६० करोड रूपैयाँको दाबी परेकोमा नौ करोड ३७ लाख रूपैयाँ भुक्तानी भएको छ।
त्यसैगरी, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक अर्ब ५१ करोड २७ लाखका दाबीमा ३५ लाख ८१ हजार, सगरमाथा लुम्बिनी इन्स्यारेन्स लिमिटेडमा एक अर्ब ३६ करोडको दाबीमा पाँच करोड ८२ लाख मात्र भुक्तानी भएको छ।
त्यसैगरी हिमाल एभरेष्ट इन्स्योरेन्स लिमिटेडमा एक अर्ब ९८ लाखमा चार करोड ६१ लाख भुक्तानी, नोका इन्स्योरेन्समा ७६ करोड ३९ लाख दाबीमा ६ करोड ९० लाख, युनाइटेड अजोडमा ७२ करोड ३९ लाखमा ३४ लाख २३ हजार रूपैयाँ भुक्तानी भएको छ।
सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीमा ५३ करोड ३९ लाख दाबी परेकोमा दुई करोड ५८ लाख, आइजिआई प्रुसेन्डियल इन्स्योरेन्समा ५० करोड ५५ लाख दाबी परेकोमा तीन करोड, नेसनल इन्स्योरेन्समा ५० करोड दाबीमा २२ लाख, एनएलजी इन्स्योन्समा ४७ करोड दाबीमा पाँच लाख ९६ हजार, नेपाल इन्स्योरेन्समा ३६ करोड दाबीमा एक करोड आठ लाख रूपैयाँ भुक्तानी भएको छ।
त्यसैगरी, प्रभु इन्स्योरेन्समा २० करोड ७९ लाखमा ५३ लाख, स्टार माइक्रो इन्स्योरेन्समा ३६ लाख ६५ हजारमा २६ हजार, नेपाल माइक्रो इन्स्योरेन्समा चार लाखमा २५ हजार, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा दुई लाख ६० जहारमा ५६ हजार रूपैयाँ भुक्तानी भएको छ।
जोखिम न्यूनीकरण गर्न बिमितहरूले विभिन्न कम्पनीमा बिमा गरेका थिए। गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले क्षति पुर्याएको थियो। बिमा कम्पनीहरूले सम्पत्ति सुरक्षाका लागि सम्पत्ति बिमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमा, सवारी साधन बिमा, कृषि बाली तथा पशुपक्षी बिमा गराएका थिए।
नेपाल बिमा प्राधिकरणले बाढी, पहिरो लगायतका विपद्का समयमा बिमितले गरेका दाबी सरलीकरण गरी छिटो भुक्तानी गर्न निर्देशन दिएको भए पनि प्रभावकारी कार्यान्वयन भएको छैन। बिमा कम्पनीहरूले भुक्तानीमा आलटाल र ढिला गर्ने गरेका छन्।
प्रकाशित: ४ मंसिर २०८१ १०:२८ मंगलबार