स्वदेशमा उत्पादनको प्रचुर सम्भावना भएर पनि नेपालमा वार्षिक करिब ४२ करोड रूपैयाँको कफी आयात भएको छ। पाखोबारीमा अर्गानिक कफी उत्पादन गर्न सकिने अवसर हुँदाहुँदै पनि नेपाली उपभोक्तालाई विदेशमा उत्पादित कफी प्रयोग गर्नुपर्ने बाध्यता रहेको यो तथ्यांकले देखाउँछ।
नेपालमा कफी संस्कृति बढेपछि आयात बढेको हो। आर्थिक वर्ष २०८०/८१ मा नेपाली उपभोक्ताले ४२ करोड रूपैयाँको आयातित कफी प्रयोग गरेका छन्। पछिल्लो दशकमा कफी आयात करिब सात गुणाले बढेको छ।
भन्सार विभागका अनुसार मुलुकमा आर्थिक वर्ष २०८०/८१ मा चार सय ४३ मेट्रिक टन कफी आयात भएको छ। आर्थिक वर्ष २०७१/७२ मा ६३.८ मेट्रिक टन कफी आयात भएको विभागको तथ्यांक छ।
स्वदेशी बजारसँगै अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दो छ। नेपालको कफी अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो २१ सय रूपैयाँ (१६ डलर) मा बिक्री हुने भए पनि यसको खेती फस्टाउन सकेको छैन। यसकारण नेपाली उपभोक्ताले विदेशमा उत्पादित कफीको प्रयोग गर्नुपर्ने अवस्था आएको हो।
कफी खेती विस्तार नहुँदा आयात बर्सेनि बढ्दो छ। नेपालमा उत्पादन भएको केही कफी अन्तराष्ट्रिय बजारमा निर्यात भइरहेको छ। नेपालको कफी युरोपेली देश, कोरिया, जापान, अमेरिकालगायत बजारमा बिक्री हुन्छ। उत्पादन वृद्धि नहुँदा आन्तरिक बजारमा विदेशबाट कफी आयात गर्नुपरेको हो।
आर्थिक वर्ष २०८०/८१ मा ४१ करोड ९८ लाख रूपैयाँबराबरको चार सय ४३ मेट्रिक टन कफी आयात हुँदा १४ करोड ९२ लाख रूपैयाँबराबरको ८९ मेट्रिक टन कफी निर्यात भएको छ। निर्यातका हिसाबले पनि नेपाललाई कफीमा वार्षिक २७ करोड रूपैयाँ व्यापार घाटा छ। आव २०७९/८० मा १३ करोड ४ लाख रूपैयाँबराबरको ७७.८६ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख रूपैयाँबराबरको चार सय ५० मेट्रिक टन कफी आयात भएको थियो। अघिल्लो आर्थिक वर्षभन्दा गत वर्ष कफी आयात करिब १० करोड रूपैयाँले बढेको छ।
आव २०८०/८१ मा नेपालमा पाँच सय एक मेट्रिक टन ग्रिनविन कफी उत्पादन भएको थियो। नेपालमा अहिले ४३ सय ९ हेक्टरमा कफी खेती विस्तार भएको छ। कुल उत्पादनको करिब १७ प्रतिशत कफी विदेश निर्यात हुने गरेको छ। नेपाली कफीले अन्तराष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक बेनुप्रसाद प्रसाईंले बताए। ‘नेपाली कफी निर्यात हुँदा सरदर किलोको १६ अमेरिकी डलरमा बिक्री हुन्छ,’ उनले भने, ‘आयात मूल्यको तुलनामा झन्डै ३ गुणा बढी मूल्यमा नेपाली कफी निर्यात हुँदै आएको छ।’
नेपालमा कफी सेवन गर्नेको संख्या बढ्दै गएको छ। कफी खाने संस्कृतिको विकास हुँदै गए पनि उत्पादन भने बढ्न सकेको छैन। आन्तरिक उत्पादनले एक महिना पनि नेपालको माग धान्न नसक्ने अवस्था रहेको बोर्डले जनाएको छ। कफीको आन्तरिक माग धान्न कफी रोपण तथा उत्पादन वृद्धि गर्नुपर्ने देखिएको छ।
विश्वभर लोकप्रिय पेय पदार्थका रूपमा रहेको कफी खेती नेपालमा भित्रिएको लगभग ८६ वर्ष भए पनि यसको अपेक्षित विस्तार हुन सकेको छैन। कफी खेती विस्तारलाई अभियानकै रूपमा देशव्यापी बनाउन सके मात्र आन्तरिकसँगै बाह्य माग धान्न सकिने बोर्डका कार्यकारी निर्देशक प्रसाईं बताउँछन्। यसबाट अन्तराष्ट्रिय निर्यात व्यापारमा नेपाली कफी स्थापित हुन सक्ने उनको भनाइ छ।
‘कफीका पारखीहरूको पहिलो रोजाइमा अराविका पर्छ,’ प्रसाईंले भने, ‘नेपालको चिसो हावापानी र उच्च पहाडी भूभागमा अराविका कफी उत्पादन हुन्छ।’ नेपाली कफी स्वाद र गुणस्तरका हिसाबले विश्वका उत्कृष्ट कफीहरूसँग प्रतिस्पर्धा गर्न सक्षम छ। नेपालको उत्पादन स्पेसियालिटी कफीको रूपमा विश्व बजारमा परिचित छ।
पाखो क्षेत्रमा पनि यसको खेती गर्न सकिन्छ। कम मेहनतमा राम्रो आम्दानी र सजिलै बेच्न सकिने भए पनि अपेक्षित रूपमा नेपालमा कफी खेती विस्तार हुन सकेको छैन। गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङलगायत ३० भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा कफी खेती हुँदै आएको छ। आठ सयदेखि १६ सय मिटर उचाइमा कफी खेती गर्न सकिन्छ। १९९५ सालमा पश्चिम गुल्मीको आँपचौरबाट नेपालमा कफी खेती सुरु भएको थियो।
कफीको मूल्य बढ्यो
सरकारले कफीको न्यूनतम मूल्य तोकेको छ। चिया तथा कफी विकास बोर्डका अनुसार किसानले उत्पादन गरेको फ्रेस चेरी कफीको मूल्य किलोमा ५ रूपैयाँ बढाएर मूल्य निर्धारण गरिएको छ। ‘ए’ ग्रेडको फ्रेस चेरी कफीको मूल्य किलोको एक सय पाँच रूपैयाँ कायम भएको छ। यसअघि किलोको एक सय रूपैयाँ थियो। ‘बी’ ग्रेड कफीको मूल्य किलोको ९५ रूपैयाँ तोकिएको छ। पार्चमेन्ट कफीको मूल्य किलोमा ३५ रूपैयाँ बढेको छ। ग्रेड ‘ए’ को पार्चमेन्ट कफीको मूल्य किलोको पाँच सय ३५ रूपैयाँ निर्धारण गरिएको छ। यसअघि पार्चमेन्ट कफीको मूल्य किलोको पाँच सय रूपैयाँ थियो।
प्रकाशित: २ मंसिर २०८१ ०५:४२ आइतबार