२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अर्थ

हवाई भाडा घटाउन प्राधिकरणको निर्देशन

विमानस्थल बन्द भएको बाहना बनाएर हवाई सेवा प्रदायक कम्पनीहरूले यात्रुसँग चर्को भाडा असुल्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई भाडा घटाउन निर्देशन दिएको छ।

परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय, श्रम मन्त्रालय (वैदेशिक रोजगार विभाग), र त्रिवि विमानस्थलका प्रतिनिधिलगायतले अत्यधिक चर्को भाडा असुल्ने हवाई कम्पनीहरूसँगको छलफलमा अस्वाभाविक भाडा वृद्धिबारे क्यानले भाडा घटाउन भनेको हो। छलफलको क्रममा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले चर्को भाडा असुल गर्ने हवाई कम्पनीलाई भाडा घटाउन आग्रह गरे। छलफलमा उनले एयरपोर्ट विस्तार गर्नु प्राधिकरणको आवश्यकता भएको हुनाले यसको गलत फाइदा नउठाउन र स्वाभाविक भाडा कायम गर्न भनेका छन्।

प्राधिकरणको संयोजकत्वमा बसेको उक्त छलफलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा, फ्लाइ दुबाई, इन्डिगो, कोरियन एयर, टर्किस एयर, एयर इन्डिया लगायत १५ बढी हवाईसेवा प्रदायक कम्पनी सहभागी थिए।

सरकारी निकाय र वायुसेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूसँग भएको छलफलमा सबै वाहकहरूले ‘मूल्य निर्धारण’ खण्ड अन्तर्गत ‘एयरपोर्ट सर्भिस एसोसिएसन’का प्रावधानहरूको पालना गर्र्नुपर्ने सहमति भएको छ। यस प्रावधानअन्तर्गत अनुचित मूल्य निर्धारणबाट उपभोक्ताको सुरक्षा गर्नु आवश्यक रहेको उल्लेख छ।

यस्तै छलफलमा सबै वायुसेवा प्रदायक सञ्चालकहरूले आफ्नो क्षेत्रगत मूल्य दायरा र औसत मूल्य घोषणा गरी सार्वजनिक गर्ने सहमति भएको बताए। साथै छलफलले भोल्युममा प्रतिबन्ध, उचित सेवा शुल्कमा सम्झौता जस्ता उपायहरू अपनाउन ट्राभल एजेन्सीसँग आवश्यक व्यवस्था गरिने सहमति भएको छ। साथैै बजेट वाहकले आफ्नो टिकट बिक्रीका लागि ‘टाइम विफोर अराइभल’ अभ्यास गर्न रोक्ने सहमति भएको छ।

यसरी सहमति हुँदै गर्दा अहिलेसम्म पनि यसको कार्यान्वयन भएको देखिएको छैन। अहिले एकातर्फ टिकट पाउन कठिन छ भने अर्कोतर्फ पाएको टिकट पनि यात्रुले एकदमै चर्को मूल्यमा किन्नुपर्ने बाध्यता सिर्जना भएको छ।

अन्तर्राष्ट्रिय उडानका लागि टिकटको भाडा अत्यधिक बढ्नुमा हवाईसेवा प्रदायक कम्पनीले कालोबजारी गरिरहेको बौद्धस्थित एक ट्राभल एजेन्सी सञ्चालकले बताए। ‘ट्याक्सी वे विस्तार गर्दैगर्दा उडान कटौती भएका बेला टिकट नपाउनु पर्ने हो, अस्वाभाविक रूपले भाडा बढ्नुपर्ने होइन’, उनी भन्छन्, ‘यो हवाईसेवा प्रदायक कम्पनीहरूको नियत हो ।’ उनले थोरै जहाज हुँदा टिकट नपाउनु पर्नेमा अस्वाभाविक भाडा बढ्नु भनेको कम्पनीको नियतबाहेक अर्को कारण नभएको र अहिले एजेन्सीहरूले हाई क्लास (धेरै मूल्य पर्ने) टिकट मात्र उपलब्ध गराइरहेको हुँदा टिकट दुई–तीन गुणा महँगोमा मात्र पाइने गरेको बताए।

‘अहिले १२– १५ हजारमा पाउनुपर्ने दिल्ली–काठमाडौंको हवाइ टिकटको ४५– ५० हजार रूपैयाँ छ। ४०–४५ हजार रूपैयाँ पर्ने दुबै–कतारको टिकट ८०–८५ हजार रूपैयाँ परिरहेको छ’, उनी भन्छन्, ‘हवाईसेवा कम्पनीले सस्तो मूल्य पर्ने टिकट सबै अफै कब्जा गरेर केही हाई क्लास (उच्च मूल्य) पर्ने टिकट मात्र राखेको छ।’ यिनै कारणले यात्रुले अहिले टिकट नपाइरहेको र पाए पनि अत्यधिक चर्को मूल्य तिर्नुपरिरहेको उनले बताए। ‘वायुसेवा कम्पनीले अस्वाभाविक फाइदा लिन अहिले जसरी भए पनि यात्रुले महँगोमा टिकट काटुन् भन्ने सोच राखेको छ ’ उनले भने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएससँगै अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक बढेको छ। विमानस्थल ट्याक्सी वे विस्तारका लागि गत शुक्रबार रातीदेखि दैनिक १४ घण्टा मात्र सञ्चालन हुने भएपछि सबैजसो अन्तर्राष्ट्रिय हवाईसेवा प्रदायक कम्पनीले अत्यधिक चर्को भाडा असुल्न थालेका हुन्।

यस्तै ठमेलस्थित अर्का एक ट्राभल एजेन्सी सञ्चालकले हाल अन्तर्राष्ट्रिय हवाई उडानहरू ७० प्रतिशत मात्र भइरहँदा हवाई भाडादर एकदमै बढेको बताए। ३० प्रतिशत अन्तर्राष्ट्रिय उडान कटौतीले २०–२२ हजार रूपैयाँ मूल्य पर्ने टिकटको ६०–६५ हजार रूपैयाँ पुगेको बताए। ‘एक त उडान कतौटीले उडान कम भएर टिकट पाउन मुस्किल छ’, उनले भने, ‘पाए पनि अत्यधिक महँगो छ।’ उनले यसको कारण कम उडान र वायुसेवा कम्पनीको मनोमानी मात्र नभई नियमन गर्ने निकाय बलियो नभएर यस्तो भइरहेको बताए।

यस्तै अन्तर्राष्ट्रिय उडानको भाडा अत्यधिक बढेसँगै वैदेशिक रोजगार व्यवसायीले सरकारसँग आग्रह गरेका छन्। व्यवसायीहरूले हवाई भाडादर घटाउन माग गर्दै विभिन्न सरोकारवाला मन्त्रालय धाइरहेका छन्। यसैक्रममा वैदेशिक रोजगार व्यवसायीले परराष्ट्र र पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गत बिहीबारदेखि दैनिक १० घण्टा बन्द छ। विमानस्थलको स्तरोन्नतिका लागि बिहीबारदेखि दैनिक १४ घण्टा मात्र उडान गरेर विस्तारको काम भइरहेको छ।

प्राधिकरणका अनुसार हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलबाट पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार हुनेछ। स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती भएका छन्।

प्रकाशित: २६ कार्तिक २०८१ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App