२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अर्थ

हिमालयन रिसोर्टले माग्यो सुपर त्रिशूली जलविद्युत आयोजनासँग ५ करोड क्षतिपूर्ति

हिमालयन गोरखा आउटडोर सेन्टर प्रालिले सुपर त्रिशूली जलविद्युत आयोजनासँग पाँच करोड क्षतिपूर्ति माग गरेको छ। निर्माणाधीन हाइड्रोपावरले सावधानी नअपनाई नदीको धार फर्काउने क्रममा आएको बाढीले रिसोर्टमा क्षति पुगेको दाबी गर्दै आउटडोर सेन्टरले पाँच करोड बराबरको क्षतिपूर्ति माग गरेको हो। हाइड्रोपावरले त्रिशूलीको धार परिवर्तन गर्दा गत असोज ११ र १२ गते आएको वर्षाका कारण रिसोर्टमा क्षति पुराएको सञ्चालक महेन्द्र थापाले बताए।

‘हाइड्रो बन्नुअघि रिसोर्टभन्दा करिब दुई सय मिटरमाथि त्रिशूली किनारमा चट्टाने पहाड थियो, उक्त पहाडलाई हाइड्रोपावरले ठूला मेसिन प्रयोग कटान गरेर नदीको धार नै रिसोर्टतर्फ फर्कायो’, सञ्चालक थापाले भने, ‘सम्भावित दुर्घटनालाई पूर्व आकलन गरी हामीले सुरक्षा पर्खाल बनाउनुस् भन्दा हाइड्रोले वास्ता गरेन, आज करोडौँको क्षति पुगेको।’ उनका अनुसार ग्याबिन वाल र रोडा बालुवाको थुप्रो मात्रै लगाएर छाड्दा बाढीले रिसोर्टको स्विमिङ पुल, डाईनिङ हल, सफारी टेण्ड लगायत कटेज, रिसोर्टको पर्खाल लगायतका संरचना बगाएको छ। अहिले यी संरचना निर्माण गर्न पाँच करोड रुपैयाँ लाग्ने उनले बताए।

रिसोर्टको अगाडिको जग्गामा हाइड्रोले एक्स्काभेटर लगाएर माल बाहक ट्रक जाने बाटो बनाएको छ। सोही कारणले वर्षापछि त्रिशूलीमा बाढी आउँदा रिसोर्टमा क्षति पुगेको उनले दाबी गरेका छन्। क्षतिपछि उनले जनप्रतिनिधि र जलविद्युतका कर्मचारीलाई समेत राखेर मुचुल्का उठाएको उनले बताए। सोही अनुसार रिसोर्टले सुपर त्रिशूली जलविद्युत आयोजनासँग क्षतिपूर्ति माग गर्दै चिठी समेत काटेको छ। ‘मैले बढी पैसा खोजेको होइन्। बाढीले बगाएको संरचना निर्माण गरिदिन माग गरेको हुँ’, उनले प्राविधिकलाई उद्धृत गर्दै भने ‘पर्खाल बनाउन मात्र डेढ करोड लाग्छ।’

उनले २०६५ सालमा जग्गा किनेर रिपोर्ट सञ्चालनमा ल्याइएका थिए। यहाँ रिसोर्टको ६ रोपनी ३ आना जमिन छ। त्यसमध्ये आधा जमिन बाढीले लगेको उनले बताए।  थापाले यस त्रिशूली नदीमा विसं २०४० सालदेखि ¥याफ्टिङ व्यवसायसमेत सञ्चालन गर्दै आएका छन्।

सुपर त्रिशूली हाइड्रोपावर सरोकार समितिले रिर्सोटभन्दा २ सय मिटर माथि त्रिशूली किनार चट्टानको पहाड रहेको जनाएको कम्पनीले आयोजनालाई पेश गरेको पत्रमा उल्लेख गरिएको छ।  हाइड्रो बन्दै गर्दा सरोकार समितिले सेफ्टी राख्नुपर्दछ भनेर सुझाव समेत दिएको थियो। तर, त्यसलाई बेवास्ता गर्दा बढी क्षति भएको उनले बताए। ‘मेरो जग्गाबाट पुल बनाएर हाइड्रोसम्म आउने बाटो बनाइएको छ। त्यहाँ नदीको लम्बाई १ सय ५० छ । तर १ सय १५ मिटरमा पुल बनाइएको छ,’ उनले भने ‘पिलर थपेर पुल निर्माण गर्नभन्दा पनि मानेनन् अहिले त्यहीबाट क्षति हुन पुग्यो।’

अहिले १६ अर्ब लगानीमा चितवनको इच्छाकामना गाउँपालिका (चुमखोला) र गोरखाको गण्डकी गाउँपालिका (बुटार)मा यतिखेर सुपर त्रिशूली हाइड्रो निर्माणको काम धमाधम भइरहेको छ। असार–साउनको नियमित वर्षासँगै अब बाढी नआउने भनी अनुमान गरेर गत भदौ महिनामा नदीको धार परिवर्तनका लागि बीचभागमा कच्चा पदार्थ थुपार्ने काम परियोजनाले गरेको थियो।

तर, अनुमान विपरीत असोज १२ गते आएको बाढीले नदीको बीचभागमा राखेको कच्चा पदार्थ मात्रै बगाएन डोजर, एक्स्काभेटर र टिप्परसमेत बगायो। परियोजनाका भूगर्भशास्त्री दिव्यराज पन्तले नसोचेको पानीको बहाव आएको बताए। रिसोर्टमा क्षति पुगे पनि क्षतिपूर्तिको दाबी पेस भएको कुरा आफूलाई थाहा नभएको उनले बताए। बाढीले क्षति गरेपछि रिपोर्ट हाल बन्द अवस्थामा छ। वार्षिक ५० लाख रुपैयाँ आम्दानी हुने रिसोर्टले जनाएको छ। 

प्रकाशित: १४ कार्तिक २०८१ १७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App