१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
अर्थ

अन्नपूर्ण क्षेत्रको पदयात्रामा ‘नो म्यूजिक’

<br>

अन्नपूर्ण क्षेत्रको पदयात्रामा रहेका विदेशी। तस्बिरः नागरिक

तपाँइ अन्नपूर्ण आधारशिविर (एबिसी) र मर्दी हिमाल क्षेत्रको पदयात्रामा जाँदै हुनुहुन्छ? पदयात्राका क्रममा गीतसंगीत सुन्ने तपाँइको चाहना छ? त्यसो हो भने अब ख्याल गर्नुस्, तपाँइले चर्काे आवाजमा गुञ्जने स्पीकर साथमा बोक्न पाउनु हुनेछैन। किनकी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पदमार्गमा चर्काे आवाज निकाल्ने स्पीकर लैजान रोक लगाएको छ।  

एबिसी पदमार्गमा पर्ने छोमरोङस्थित चेकपोष्टका प्रमुख नेत्र शर्माका अनुसार चर्काे स्वरमा गीतसंगीत बजाउँदा पदयात्राका अरु पाहुनालाई असर परेकोले कात्तिक ७ गतेदेखि उक्त क्षेत्रमा ‘लाउड स्पीकर’ लैजान नपाउनेगरि रोक लगाइएको हो।

‘आन्तरिक पाहुनाले चर्काे स्वरमा गीतसंगीत बजाउँदै पदयात्रा गर्ने गरेका थिए। त्यसको असर पदयात्रामा रहेका अरु आन्तरिक र विदेशी पाहुनालाई परेकोले रोक लगाइएको हो,’ उनले भने, ‘स्पीकर लगायतका डिभाइसमा चर्काे संगीत बजाउँदै पदयात्रा गर्ने बढेपछि रोक लगाइएको हो ।’ 

उनका अनुसार अहिले पदयात्राका क्रममा फेला पारिएका स्पीकर सहितका डिभाईस छोमरोङ भन्दा माथि लैजान पाइँदैन।  कसैले साथमा त्यस्ता लाउड स्पीकर लगेको भए छोमरोङको चेकपोष्टमा बुझाएर पदयात्रा जाने र फर्किदा आफ्नो सामान फिर्ता पाइने उनले बताए। ‘चेकपोष्टमा पाहुनालाई त्यस्ता डिभाइसबारे सोधपुछ गर्छाै। साथमा डिभाइस हुनेले बुझाउँछन्। हामीले डिभाइस बुझिलिएको कागज दिन्छौ। पदयात्रा सकेर फर्किदा त्यो कागज लिएर उनीहरुको डिभाइस फिर्ता गरिदिन्छौं,’ उनले भने।  

एबिसी पदमार्गको छोमरोङस्थित चेकपोष्टमा राखिएका स्पीकर। तस्बिर सौजन्यः नेत्र शर्मा

प्राकृतिक सुन्दरतामा रमाउँदै गरिने पदयात्रा आफैमा रोमाञ्चक हुने भएपनि कतिपय युवापुस्ताका आन्तरिक पाहुनाले गीतसंगीत सुन्नेगरि साथमा चर्काे आवाज निकाल्ने स्पीकर र डिभाइस लिएर जाने गरेको उनले बताए। ‘विदेशीमा यो समस्या छैन। आन्तरिक पाहुनाले नै यस्ता डिभाइस बोक्ने गरेका छन,’ उनले भने, ‘पदयात्रामा चर्काे संगीत आवश्यक नै पर्दैन। प्राकृतिक सुन्दरताले मनै लोभ्याउँछ । प्रकृतिको गुञ्जन नै काफी हुन्छ।’

खोलानाला, झरना, चराचुरुङगी, वनजंगलबाट निस्कने आवाजले नै पदयात्रालाई रोमाञ्चक बनाउने उनको भनाई छ। शर्माका अनुसार मोवाइलबाट छोटो अवधिको भिडियो खिचेर टिकटक र फेसबुकका लागि  भिडियो बनाउँदा खासै अप्ठ्यारो नभएपनि अरुलाई डिस्टर्ब हुनेगरि चर्काे स्वरमा संगीत बजाउन नपाउने उनले बताए।

‘मोवाइलबाट कनेक्सन गरेर चर्काे आवाजमा स्पीकर घन्काउँदै पदयात्रामा जाने गरेको र त्यसको अप्ठेरो अरु पदयात्रीलाई परेको गुनासो आयो। अनि गीतसंगीतको आवाजबाट चराचुरुङगी र वन्यजन्तुलाई पनि असर परेकोले रोक लगाइएको हो,’ उनले भने।  

उनका अनुसार कतिपय पाहुनाले त बेलुकी बास बसेको होटलमा समेत राती अबेरसम्म चर्काे आवाजमा गीतसंगीत बजाउने गरेको र त्यसको असर अरु पाहुनालाई पनि परेको गुनासो आएपछि कडाईका साथ अनुगमन गरिएको थियो। ‘एकथरी पाहुनाले नाचगान गरिरहँदा सुतेका अरु पाहुनालाई असर पर्छ। शान्त वातावरणमा रातीको समयमा चर्काे आवाजमा संगीत बजाउँदा वन्यजन्तु र चुराचुरुङगी पनि तर्सिने गरेका छन,’ उनले भने, ‘कतिपय पर्यटक यस्तै अप्ठेरोमा पर्दा होटल नै छाडेको पनि गुनासो आएको थियो।’

एबिसी क्षेत्रका पर्यटन व्यावसायी दिलीप गुरुङले चर्काे गीतसंगीतले डिस्टर्ब भएको भन्दै विदेशीले पनि गुनासो गर्ने गरेको बताए। ‘यस्तो शान्त ठाउँमा गीतसंगीत जरुरी छैन भन्ने विदेशीको गुनासो थियो। मानवीय भीड हुनु स्वभाविक छ। तर, आन्तरिक पाहुनाले शान्त ठाउँमा चर्काे आवाज निकाल्ने गरि संगीत बजाउँदा झनै अप्ठेरो परेको थियो,’ उनले भने,‘पर्यटकलाई मात्र नभई वन्यजन्तुलाई पनि असर परेको थियो। हामीले यो गुनासो बारम्बार एक्यापसँग गर्दै आएका थियौ। बल्ल अहिले रोकिएको छ।’

एक्यापका आयोजना प्रमुख रवीन कडरियाका अनुसार मर्दी हिमाल पदयात्रा क्षेत्र र एबिसी क्षेत्रमा यो नियम कडाईका साथ लागु गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रले ओगट्ने सबैतिर नियम लागु भएपनि तत्कालका लागि एबिसी र मर्दी क्षेत्रमा कडाई गरिएको उनले बताए। ‘मुख्यगरि सबैतिरका पदयात्रा क्षेत्रमा यो नियम लागु छ। तर, एबिसी र मर्दी क्षेत्रमा कडाई गरिएको छ,’ उनले भने, ‘दिनकै २५ वटा हाराहारीमा स्पीकर कब्जामा लिइएको छ।’ सबैतिरका चेकपोष्टले पदयात्रामा जाने पाहुनालाई चर्काे आवाजमा संगीत बजाउने डिभाइस साथमा नलैजान आग्रह गर्ने गरेको उनले बताए।  

‘हामीले पनि अनुगमनका क्रममा यो अवस्था देखेका हौ। पदयात्रामा रहेका आन्तरिक पाहुनाले चर्काे स्वरमा संगीत बजाउँदै हिड्ने गरेका थिए। त्यसको असर अरु पदयात्रीलाई पर्ने गरेको छ,’ कडरियाले भने, ‘एकथरी पाहुना रमाउन खोज्दा अरुलाई डिस्टर्ब गर्न पाईदैन।’ 

उनका अनुसार शान्त प्रकृतिको पदयात्रा क्षेत्रमा चर्काे स्वरमा संगीत गुञ्जाउँदा त्यसको अरु पदयात्रीलाई पनि परेको भन्ने गुनासो स्थानीय व्यावसायीले पनि गरेका थिए।  उनका अनुसार हिमालको निकट रहने पदयात्रा आफैमा शान्त र सुन्दर रहन्छ। त्यहाँ गुञ्जने खोलानालाको आवान, झरना, चराचुरुङगीको आवाज आफैमा रोमाञ्चक हुन्छ। पदयात्रामा जानु भनेको प्रकृतिमा रमाउनु पनि हो। तर, प्रकृतिसँग रमाउने बेला प्रकृतिलाई नै अवरोध गर्नेगरि हल्लाखल्ला र संगीत घन्काउन नपाइने उनले बताए। 

‘सुन्दर दृष्य देखेर खुसी हुने र उफ्रने गर्दा खासै फरक परेन, तर, चर्काे आवाजमा संगीत गुञ्जायमान बनाउँदा अरुलाई असर पर्छ,’ उनले भने, ‘प्रकृतिसँग रमाउन नजान्ने समूहबाट यस्ता गतिविधि हुने गरेका छन्।’  

एक्यापका अनुसार वर्षमा करिब ६ लाख आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा घुमघामका लागि जान्छन्। ती मध्ये करिब ४ लाख मुस्ताङ जान्छन्। एबिसी र मर्दी हिमाल क्षेत्रमा वर्षमा २५ हजार हाराहारीमा आन्तरिक पाहुना जान्छन्। बाँकी अन्नपूर्ण फेरोमा पनि जान्छन्। तर, एबिसी र मर्दी क्षेत्रमा जानेले बढीजसो चर्काे म्यूजिक प्रयोग गर्ने गरेको कडरियाले बताए।  

प्रकाशित: १२ कार्तिक २०८१ १६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App