१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सरकारले वृद्धि गरिएको हवाई भाडा दर नियन्त्रण गर्छ: मन्त्री दाहाल

फाइल तस्बिर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा नियन्त्रण गर्ने बताएका छन् ।

दसैँजस्ता चाडपर्वका बेला अत्याधिक मात्रामा हवाई भाडा वृद्धि गरिएको उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए। सोमबार काठमाडौंमा आयोजित ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री दाहालले सो भाडा दर नबढाउनका लागि आफूहरूले नागरिक उड्डयनका क्षेत्रका व्यवसायीहरूसँग कुरा गरिरहेको समेत बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हाललाई सो भाडा वृद्धि नगर्न सम्बन्धित व्यवसायीहरुलाई अनुरोध गरेको स्मरण गराउँदै त्यस अनुसार काम नभए सरकारले त्यसको नियमनको कामलाई कडाई गर्ने मन्त्री दाहालले बताए ।

मन्त्री दाहालले बाढी, पहिरो र डुबानका कारण सिङ्गो मुलुक दुःखमा परेको उल्लेख गर्दै पीडितलाई राहत दिने, घाइतेहरूको उपचार गर्ने र क्षति भएका भौतिक पूर्वाधार निर्माणको काममा सरकार लागि परेको बताए । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मात्रै विपद्का कारण करिब २५ अर्ब, २५ करोड क्षति भएको अनुमानित आँकडा प्रस्तुत समेत गरे । 

मन्त्री दाहालले मुलुकले भौतिक पूर्वाधारको क्षेत्रमा ठुलो नोक्सानी व्यहोर्नु परेको भन्दै पुनर्निर्माणको कामलाई तीव्रता दिने बताए । 

प्रकाशित: १४ आश्विन २०८१ १५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App