९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

डिजिटल कारोबारबाट ठगिँदै सर्वसाधारण

१० रुपैयाँको कारोबार गर्दा ११ रुपैयाँ ३० पैसा खर्चिनुपर्ने

डिजिटल कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा सानो कारोबार गर्ने सर्वसाधारण मर्कामा परिरहेका छन्।

अन्तर बैंक तथा भुक्तानी प्रदायक संस्थाबाट वित्तीय कारोबारमा १३ प्रतिशत भ्याट लिन थालेपछि डिजिटल कारोबार महँगो भएको छ। वित्तीय संस्थाले चेक र नगद नगद कारोबारलाई न्यूनीकरणमा जोड दिए पनि विद्युतीय माध्यमबाट न्यूनतम १० रुपैयाँ पठाउँदा सर्वसाधारणले  ११ रुपैयाँ ३० पैसा खर्चिनुपर्छ।

नगद कारोबारलाई निरुत्साहित गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेका म्याग्दीमा रहेका बैंक तथा वित्तीय संस्थामा दैनिक जसो ग्राहकले गुनासो गर्ने गरेको र पछिल्लो समय चेकबाटै कारोबार गर्नेहरूको संख्या समेत बढेको वित्तीय संस्थाका प्रतिनिधिको भनाई छ।

‘डिजिटल कारोबार बढाउने नीतिमा भ्याटले असर गरेको छ, हामीलाई दैनिक जसो गुनासो आउँछ’ बैंकर्स संघ म्याग्दीका अध्यक्ष नवराज ढुङ्गानाले भने। उनले न्यूनतम कारोबारमा पनि १३ प्रतिशत भ्याट लगाउँदा डिजिटल कारोबार निरुत्साहित हुन जोखिम रहेको बताए।

डिजिटल कारोबारलाई भ्याटको दायरालाई पुनर्विचार नगरे यसका ग्राहक घट्ने सम्भावना रहेको भन्दै म्याग्दीका वित्तीय संस्थाले माथिल्लो निकायमा जानकारी गराएको बताउँछन्। डिजिटल भुक्तानी गर्दा भ्याट फिर्ता दिने घोषणा गरेको अवस्थामा अहिले कारोबार शुल्कमै भ्याट लगाउन थालेपछि दैनिक कारोबार गर्ने ग्राहकले चेकमार्फत भुक्तानी झन्झटिलो भएपनि बाध्यता भएको बताउने गरेका छन्।

‘मोबाइल बैङ्किङमार्फत डिजिटल ट्रान्सफरमा अभ्यस्त भइसकेको अहिले क्यास बोक्दैनन्, उनीहरूलाई यो नीतिले मर्का परेको छ’ बेनीका युवा व्यवसायी डिएल कँडेलले भने। उनको क्याफेमा दैनिक आउने ग्राहकले समेत डिजिटल भुक्तानी गर्ने गरेकोमा एक कप कफीको शुल्क तिर्दा ११ रुपैयाँ ३० पैसा अतिरिक्त खर्च हुन थालेपछि नगद नै दिने गरेका छन्।

मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, वालेट कारोबार ग्राहकको समस्याका बारेमा केही दिन अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल कारोबार निःशुल्क बनाउने घोषणा गरेका थिए।

अन्तर बैङ्क कारोबार र वालेको युटिलिटी पेमेन्टमा सेवा शुल्क लाग्छ। एउटै बैंकमा पैसा पठाउन तथा बैङ्कले प्रदान गरेको क्युआर स्ट्यान्ड स्क्यान गरी भुक्तानी गर्न भने शुल्क लाग्दैन। 

प्रकाशित: ९ आश्विन २०८१ १७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App