८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

त्रियुगाको २ महिनाको राजश्व सवा एक करोड

त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्षको २ महिनामा सवा एक करोड बढी राजश्व सङ्कलन गरेको छ । ०८१ साउन र भदौ मसान्तसम्मको राजश्व १ करोड २८ लाख ३६ हजार सङ्कलन गरेको नगरपालिकाले जनाएको छ ।  

राजश्व शाखा प्रमुख रुपक तिम्सीनाका अनुसार नयाँ आर्थिक वर्ष सुरु महिना साउनमा उत्साहजनक राजश्व उठेको छ भने भदौमा केही खुम्चिएको छ । साउनमा ७५ लाख ९१ हजार सङ्कलन हुँदा भदौमा ५२ लाख ४५ हजार उठेको उनले बताए ।  

यो अवधिमा सबैभन्दा बढी राजश्व सम्पत्ति कर शीर्षकमा उठेको छ भने व्यवसाय दर्ता, घर बहाल र सिफारिस कर दोस्रो, तेस्रो र एवं रितले उठेको छ । सम्पत्ति कर २ महिनामा ३३ लाख ८७ हजार २० हजार उठेको छ भने व्यवसाय कर २७ लाख ७२ हजार सङ्कलन भएको छ । त्यसैगरी घर बहाल कर १६ लाख ३० हजार, सिफारिस दस्तुर १५ लाख ६५ हजार र अन्य कर १३ लाख १० हजार उठेको छ ।  

घर नक्शा पास, विज्ञापन करलगायत अन्य शीर्षकको राजश्व सङ्कलन पनि सन्तोषजनक रहेको छ । साउनपछि भदौमा केही कम सङ्कलन भएको कर अब दसैँ, तिहार र छठपछि सङ्कलन गति बढ्ने नगरपालिकाको अनुमान छ । नयाँ आर्थिक वर्ष सुरु हुने हुँदा साउनमा व्यवसाय नवीकरणलगायत कामले उत्साहनजक कर उठ्ने गर्छ । पहिलो त्रैमासिक असोज मसान्त र दोस्रो त्रैमासिकको नजिक हुँदा मङ्सिर मसान्तपछि भने कर सङ्कलन कार्य तिब्र हुने तिम्सीनाले बताए ।

त्रियुगाले गत वर्षको दाँजोमा चालुवर्ष राजश्व सङ्कलनको अनुमान ह्वात्तै घटाएको छ । गतवर्ष नगरसभाले २० करोड आमदानी हुने गरेको अनुमान यथार्थमा ११ करोड ४० लाखमा खुम्चिएपछि चालु बजेटमा आय अनुमान घटाउनु परेको प्रमुख प्रशासकीय अधिकृत विष्ण्ुाभक्त सिग्देलले बताए । गत वर्षको आन्तरिक आय अनुमान निकै फराकिलो अङ्कले फेल खानु पर्दा नगर विकासमा गम्भीर असर परेको हुनाले चालु बजेटमा अनुमान घटाइएको उनले बताए ।  

गत र चालु वर्षमा राजश्व आमदानीको अनुमान झण्डै साढे ५ करोडको फरक छ । गत वर्ष २० करोड लक्ष्य राखेकोमा चालुवर्ष ५ करोड ४६ लाख ८० हजार कम गर्दै १४ करोड ५३ लाख २० हजार आय हुने अनुमान गरिएको प्रमुख सिग्देलले बताए । अघिल्लो वर्षको अनुभवबाट पाठ सिक्दै चालु वर्ष आमदानीको लक्ष्य यथार्थ भ्ेट्ने गरी अनुमान गरेको उनको भनाई छ ।  

प्रकाशित: ८ आश्विन २०८१ १७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App