चितवन – जीविकोपार्जनका लागि कृषिमा निर्भर रहेको परिवारमा हुर्केकी कुमरोजकी ४० वर्षिय लक्ष्मी चौधरीको पेसा कृषि नै हो । सानैदेखि खेतबारीमा गरिने खेतिपातीका सम्पूर्ण काम सिकेकी लक्ष्मीले त्यही सिकाई अनुसार खेती लगाउने, गोडमेल गर्ने, बाली भित्र्यााउनेलगायत खेतीका काम गर्दै आएकी छन्।
गहुँ काटेपछि घाममा सुकाएर लठ्ठी चुट्दै झार्ने काम भने उनलाई झन्झटिलो लाग्छ । ‘सबै काम गरेपनि गहुँ चुट्न गाह्रो लाग्छ,’ उनले भनिन्, ‘अलि पहिले आँखामा गहुँको छेस्का पसेर दुःख पनि पाएको थिएँ ।’ त्यस घटनाले आत्तिएकी उनी पछिल्लो दुई वर्षदेखि गहुँ झार्ने काम मेसिनबाट बारीमै गर्न थालेकी छन् । यससँगै काट्ने, सुकाउने र झाट्ने काम गर्नबाट समेत उनलाई राहत मिलेको छ।
गहुँ भित्र्याउन सजिलो भएको बताउँदै उनले भनिन्, ‘मेसिनले एकैछिन्मा झारिदिन्छ ।’ यस वर्ष पाँच कठ्ठा खेतमा लगाएको गहुँ मेसिन लगाएर झारेको उनले बताइन् । बाली लगाउन, गोडमेल गर्न तथा उत्पादन भित्र्याउने कार्यमा अहिले मेसिनरी सामग्रीको प्रयोग बढ्दो छ ।
खैरहनी नगरपालिका–६ तुल्सिपुर गाउँका पुरन महतो साढे पाँच बिघा जमिनमा व्यावसायिक खेती गर्छन्।
खाद्यान्न र तरकारी बाली दुवै लगाउने उनले पनि खेती गर्दा मिलेसम्म उपकरणको प्रयोग गर्न थालेका छन् । ‘भन्ने बित्तिकै खेताला नपाउने समस्याले ज्यादै दुःख हुन्थ्यो,’ उनले भने, ‘अहिले पाएसम्म यन्त्रको प्रयोग गर्न थालेपछि खेती लगाउन धेरै सजिलो भएको छ।’
धान, गहुँ, तोरी, मुसुरोलगायत बाली चुटेर दाना नै भित्र्याउँदा अलिअलि भएपनि दाना बाँकी रहन्थ्यो । अहिले मेसिनबाट सबै झर्नुका साथै धुँलो हुने, खार लाग्नेजस्ता समस्या नहुने कृषक पुरनले बताए । यसअघि उनले घरैमा ट्याक्टर, थ्रेसर राखेका थिए । अहिले उनको गाउँमा दुईवटा ट्याक्टर छन् । कृषिमा यन्त्रको प्रयोग गर्नका लागि लालिगुराँस कृषक समूहसमेत गठन गरेका छन्।
कृषक समूहमा २६ जना कृषक आबद्ध छन् । समूहमार्फत ५० प्रतिशत सहुलियतमा २० लाख रुपैयाँबराबरको कृषि उपकरण किनेका छन् । ट्याक्टर, कल्टी, हाइड्रो, ट्रेलर, रोटाभेटर, थ्रेसरलगायत मेसिन समूहमा रहेको छ । कृषकको आवश्यकता र प्राथमिकताअनुसार पालो गरेर समूहमार्फत कृषि उपकरणको प्रयोग गरिएको पुरन बताउँछन्।
धान, तोरी, कोदो, फापर, भटमासलगायत बालीमा थ्रेसर लगाइन्छ । बारी जोतेर माटो मसिनो र हलुका बनाउन रोटा भेटर लगाउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कठार, कुमरोज, बछ्यौली, तुल्सीपुरका किसान समूहमा आबद्ध भएर ‘पोस्ट हार्भेस्टिङ’ सामग्री तीन सेट किनेका छन् । सिँचाइ सुविधासँगै यान्त्रिकीकरण परियोजनाअन्तर्गत सहयोग पाइएको कृषक पुरनले बताए।
समूहभित्रका कृषकले सामग्री प्रयोग गर्दा सस्तो दररेटमा उपलब्ध गराइन्छ । समूह बाहिरका कृषकले पनि केही बढी पैसा तिरेर प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । कृषिमा बढ्दै गएको यान्त्रिकीकरणले खेती कार्यमा प्रयोग हुने साना उपकरण उपलब्ध हुँदा समयसँगै पैसाको समेत बचत भएको उनी बताउँछन् । ‘जोत्नकै लागि पनि अहिले बाहिर घन्टाको १३ सय चलेको छ, समूहको ट्याक्टरबाट नौ सयमा जोत्न पाइन्छ,’ उनी भन्छन्, ‘रोटा भेटर लगाउन बाहिर १८ सय चलेको छ, हामीले १४ सय प्रतिघन्टामा प्रयोग गर्न पाएका छौं।’
कृषि क्षेत्रमा कामदारको रुपमा प्रयोग गर्ने जनशक्ति कमी भएपछि यान्त्रिकीकरणमा कृषकको चासो बढेको जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठ बताउँछन् । युवा जनशक्ति धेरै विदेश रहेकाले खेतीको सिजनमा हुने कामदार अभावले किसानलाई समस्या हुने गरेको थियो । खेतीमा यान्त्रिकीकरण सुरु भएसँगै चितवनमा पनि किसानले यन्त्रको प्रयोग गर्न थालेपछि कामदार अभावको समस्या केही हदसम्म घटेको उनले बताए।
मान्छे लगाउँदा लागत बढी पर्ने, धेरै समय लाग्ने भएकाले पनि किसान यान्त्रिकीकरणमा अग्रसर भएको उनको अनुभव छ । ‘कृषिमा यान्त्रिकीकरणको महत्व धेरै छ,’ उनले भने, ‘अहिले महिलामैत्री यन्त्रको माग धेरै हुन थालेको छ ।’ खनजोत, गोडमेल र बाली कटानी कार्यका लागि यन्त्रको प्रयोग बढेको उनी बताउँछन् । कृषिमा नयाँ भित्रिएका हाई टेक प्रविधिसमेत प्रयोग गर्न थालिएको छ।
बाली कटानी तथा थ्रेसिङको काममा भने चितवनका प्रायःजसो किसानले यन्त्रको प्रयोग गर्ने उनी बताउँछन् । रोप्ने, गोडमेल गर्ने काममा पनि मेसिनको प्रयोग बढेको छ। मकैको खोसेल्टा च्यातेर थ्रेसिङ गर्ने मेसिनसमेत प्रयोगमा आइसकेको कृषि कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछाने बताउँछन् । ‘कम्बाइनर थ्रेसर’ तथा ‘कम्बाइनर हार्भेस्टर’ मेसिन किसानले रुचाएका छन् । कृषि कार्यालयका अनुसार ४६ हजार हेक्टर खेतीयोग्य जमिन रहेको चितवनमा ४४ हजार हेक्टरमा खेती गरिन्छ ।
प्रकाशित: २१ चैत्र २०७४ ०१:३९ बुधबार