ह्यारी केनको ६९औं अन्तर्राष्ट्रिय गोलसँगै दोस्रो हाफमा गोल वर्षा भएको खेलमा इङ्ल्यान्ड आइतबार आयरल्यान्डमाथि जित निकाल्दै नेसन्स लिगको शीर्ष स्थानमा फर्किएको छ।
अन्तरिम मुख्य प्रशिक्षक ली कास्र्लेको प्रशिक्षणमा इङ्ल्यान्डले आयरल्यान्डमाथि ५–० को फराकिलो जितसँगै युरोपेली फुटबलमा आफूलाई पनि शीर्ष टोलीका रूपमा उभ्यायो। ‘इङ्ल्यान्डको फुटबल हेर्न उत्साहित हुने वातावरण सिर्जना गर्न चाहन्छु,’ कार्स्लेले भने, ‘सबै खेलाडीको प्रशिक्षण हेरेको छु। उनीहरू प्रशिक्षण मैदानमा राम्रा छन्। सोहीअनुरूप आजको खेलमा पनि देखियो।’
इङ्ल्यान्डले दोस्रो स्थानको ग्रिसलाई गोलअन्तरले पछि परेको छ। ग्रिसले पनि फिनल्यान्डलाई २–० ले हराएको थियो। केनले ५३औं मिनेटमा पेनाल्टी गोल गर्दै देशका लागि कीर्तिमान सुधार गरे। पाँच मिनेटकै अन्तरमा इङ्ल्यान्डले ३–० को अग्रता बनायो।
यस क्रममा ५५औं मिनेटमा एन्थोनी गोर्डन र ५८औं मिनेटमा कनर गालागरले गोल गरेका थिए। अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका जारोड बोएनले पनि प्रभाव जमाए। उनले आफ्नो पहिलो टचमा नै ७५औं मिनेटमा गोल गरे। डेब्युटेन्ट टेलर हारवुडले पनि इङ्लिस जर्सी लगाएको दिन यादगार बनाए। उनले चार मिनेटपछि नै हेडमार्फत गोल गरे। ‘यो जित हाम्रा लागि महत्त्वपूर्ण छ,’ केनले भने, ‘पहिलो हाफ धेरै कठिन रह्यो। तर, दोस्रो हाफमा हामी लयमा फर्कियौं र गोल स्कोरिङ गर्न सफल भयौं।’
इङ्ल्यान्डले आगामी जनवरीमा नयाँ प्रशिक्षकका रूपमा थोमस टुचेललाई भित्र्याउँदै छ। कार्स्लेले पछिल्ला ६ खेलमा पाँच जित दिलाएका छन्। उनी अब स्थायी रूपमा नै इङ्ल्यान्डको यु–२१ टोलीको प्रशिक्षक भइसकेका छन्। जर्मन प्रशिक्षक टुचेलले आगामी जनवरीदेखि इङ्ल्यान्डको सिनियर टोली हेर्नेछन्।
टुचेलको नेतृत्वमा इङ्ल्यान्डले सन् २०२६ को विश्वकप छनोट यात्रा खेल्नेछ। उनीसँग आफ्नो टोली तय गर्न धेरै अवसर पनि हुनेछ। किनकी कास्र्लेले आफ्नो छोटो कार्यकालमा आठ खेलाडीलाई डेब्यु गर्ने अवसर दिएका छन्।
सिनियर टोलीका लागि अन्तिम प्रशिक्षणमा पनि कार्स्लेले गोर्डन, गालागर, बोएन र हारवुडलाई डेब्यु गराएका थिए। यी सबैले गोल पनि गरे। ‘कार्स्ले लीले हाम्रो लक्ष्यअनुरूप नै काम गरे। उनले ६ खेलबाट इङ्ल्यान्डलाई नेसन्स लिगको शीर्ष स्थानमा फर्काएका छन्,’ इङ्ल्यान्ड फुटबल एसोसिएसनका सिइओ मार्क बुलिङ्घमले भने,‘उनको प्रशिक्षणमा खेलाडी पनि उत्साहित रहे। अन्तरिम प्रशिक्षकका रूपमा पनि उनले राम्रो जिम्मेवारी निर्वाह गरेका छन्।’
राबियटको दुई गोल
एड्रियन राबियटको दुई गोल प्रेरणामा फ्रान्सले बलियो इटालीमाथि ३–१ को जित निकाल्यो। यो खेलअगाडि नै दुवै टोलीले मिलानमा हुने क्वार्टरफाइनल खेलमा स्थान बनाइसकेका थिए।
तर, फ्रान्स कम्तीमा दुई गोल अन्तरमा जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा बस्न चाहन्थ्यो। राबियटले हेड गोलमार्फत खेलको दुई मिनेटभित्र नै पाहुना टोली फ्रान्सलाई अग्रता दिलाए।
३३औं मिनेटमा लुकास डिग्नेले २५ यार्डबाट गरेको फ्रिकिक प्रहार माथिल्लो बारमा लागेर इटालियन गोलकिपर गुग्लिइल्मो भिकारियोमा ठोकिँदै गोलमा परिणत भयो। यससँगै सान सिरोमा रहेका इटालियन समर्थक शान्त बने। उनी जियालुइगी डोनारुम्मा बिरामी भएपछि उनले गोलपोस्ट समालेका थिए। तर, आत्मघाती गोल बेहोर्न पुग्दा उनका लागि सुखद भएन। तर, दुई मिनेटपछि नै इटालीले गोल फर्कायो। आन्द्रे काम्बियासोको भली प्रहार फ्रान्सका गोलकिपर माइक मेइगनानलाई पार गर्न सफल भयो।
त्यसपछि घरेलु टोलीले खेलमा फर्कन संघर्ष गरिरह्यो। यद्यपि, ६५औं मिनेटमा राबियटले अर्को हेड गोल गर्दै इटालीमाथि दबाब बढाए। त्यसपछि थप गोल भएन र फ्रान्सले इटालीको भूमिमा सहज जित निकाल्यो। यससँगै इटालीले सन् १९८३ पछि पहिलोपल्ट घरेलु भूमिमा दुई गोलभन्दा बढी अन्तरमा हार बेहोर्यो। यसै समूहको इजरायलले फिफा विश्व वरीयतामा छैटौं स्थानमा रहेको बेल्जियममाथि १–० को जित निकाल्दै सनसनी मच्चायो। इजरायल विश्व वरीयतमा ८१औं स्थानमा छ।
८६औं मिनेटमा यार्डन सुएले गरेको गोल नै हंगेरीको बुडापेस्टमा इजरायललाई ऐतिहासिक जित दिलाउन पर्याप्त बन्यो। यो जितका बाबजुद इजरायल लिग ‘बी’ मा घटुवा भएको छ। अब बेल्जियमले रेलिगेसनबाट बच्न संघर्ष गर्नुपर्नेछ। इर्लिङ हालान्डको ह्याट्रिकमा नर्वेले पनि काजाखस्तानमाथि ५–० को रबाफिलो जित निकाल्यो। यो जितपछि नर्वे पनि शीर्ष स्थानमा फर्किएको छ। समूहको दोस्रो स्थानमा रहेको अस्ट्रियाले स्लोभानियासँग १–१ को बराबरी सामना गर्यो।
प्रकाशित: ४ मंसिर २०८१ ०८:३७ मंगलबार