२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मौरीपालनका लागि कृषकलाई अनुदानमा घार

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिकाले कृषकलाई मौरीको घार वितरण गरेको छ। कृषकको आयआर्जन बढाउन गाउँपालिकाका २० जनालाई २४ वटा मौरीसहित र ६ वटा खाली घार वितरण गरिएको हो। स्थानीय बासिन्दाको माग र आवश्यकताको आधारमा गाउँपालिकास्थित कृषि शाखाले ७५ प्रतिशत अनुदानमा घार वितरण गरेको हो। 

गाउँपालिकामा कफी खेतीको बिस्तार भएको र स्थानीय तहबाट नै सेवा उपलब्ध हुने भएपछि कृषकले घारको माग गरेको कृषि शाखा प्रमुख शम्भुप्रसाद राईले बताए। ‘यहाँका धेरै कृषकको माग मौरीको घार थियो, शाखा प्रमुख राईले भने, तर शाखाको सीमित बजेटका कारण यो वर्ष माग अनुसारको आपूर्ति गर्न सकेनौँ।’ 

घार खरिदका लागि दुई लाख ७५ हजार बजेट रहेको शाखाले जनाएको छ। गाउँपालिकामा व्यावसायिक रुपमा मौरी पालन व्यावसाय सञ्चालनका लागि घार बितरणका साथै क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिने कृषि शाखा प्रमुख राईले बताए। 
कृषकले प्रतिघार दुई हजार ७ सय तिरेका छन्। सो गाउँपालिकामा कृषि कार्यक्रम सञ्चालनका लागि ६३ लाख बजेट छुट्याइएको छ। मौरी पालन व्यावसायबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका मौरीपालक कृषकले क्षेत्र बिस्तार गर्दै लगेका छन्। जिल्लामा ८ सय २० मौरीपालक कृषक छन्। 

जिल्लाको कालिका, उत्तरगया, नौकुण्ड र गोसाइँकुण्ड गाउँपालिकामा स्थानीय तथा उन्नत जातको मौरीको घार गरी दुई हजार ५ सय ९१ वटा घार रहेको जिल्ला कृषि विकास कार्यालय रसुवाको तथ्याङ्क छ। 

स्थानीय जातको मौरीको ११५२ वटा र उन्नत जातको मौरीको १४३८ वटा घार रहेको कार्यालयले जनाएको छ। जिल्लामा वार्षिक रुपमा १८ क्वीन्टल मह उत्पादन हुँदै आएको छ।

प्रकाशित: २० चैत्र २०७४ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App