३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरकारलाई पर्यटन प्रवर्द्धनका योजना ल्याउन माग

फाइल तस्वीर

सरकारलाई पर्यटन प्रवर्द्धनका योजना ल्याउन व्यवसायीले माग गरेका छन्। नयाँ सरकार गठन भएको दुई महिना पुग्दा पनि पर्यटन क्षेत्र सुधारको खाका नआएको व्यवसायीको गुनासो छ।

गत असार ३० गते नयाँ सरकारले बद्री पाण्डेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिएको थियो।

मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र विस्तारको लागि तीन महिनाभित्र समयानुकूलको पर्यटन नीति ल्याउने, भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने विदेशी वायुसेवा कम्पनीलाई हवाई इन्धनमा छुट दिने योजना ल्याएका छन्। मन्त्री पाण्डेले अपेक्षाकृत योजना ल्याएर कार्यान्वयन गर्न नसकेको व्यवसायीको गुनासो छ।

मुलुकको पर्यटन प्रवद्र्धनको लागि प्रभावकारी योजना ल्याउनुपर्ने नेपाल होटल संघ (हान) का अध्यक्ष विनय शाहले बताए। ‘यो दुई महिनामा सरकारले पर्यटन प्रवद्र्धनको लागि समयानुकूल पर्यटन नीति ल्याइसक्ने र विदेशी वायुसेवा कम्पनीलाई हवाई इन्धन छुट दिने राम्रो कामबाहेक खासै अन्य उपलब्धि देखिएको छैन्,’ अध्यक्ष शाहले भने, ‘नयाँ पर्यटन नीति ल्याउन गठित उपसमितिमा म पनि छु, कामहरू भइरहेका पनि छन् तर अलि ढिलो भइरहेको छ।’

उनले थपे, ‘केही पनि नहुनुभन्दा केही हुनु राम्रो भएजस्तै यसलाई पनि उपलब्धि मान्नुपर्छ तर घोषणा गरेर मात्र हुँदैन यसको कार्यान्वयनको लागि गृहकार्य गर्नुपर्छ, त्यसमा सरकार सुस्त छ।’

अहिले आइरहेको पर्यटकको संख्याभन्दा दोब्बर बढीको सेवासुविधा दिन सक्ने क्षमता भएको अवस्थामा परिणाममूखी काम गर्नुपर्ने धारणा राखे। ‘पर्यटन क्षेत्र चलायमान र गतिशील छ’, उनले भने, ‘बोलेर र घोषणा गरेर मात्र हुँदैन्, कार्ययोजना बनाउनुपर्‍यो र कार्यान्वयन गरेर परिणाम निकाल्नुपर्छ।’

उनले पर्यटन क्षेत्र बृहत् भएकाले मन्त्रीले एकदमै धेरै कामहरू गरिहाल्नुपर्ने भएकोमा ढिला भइरहेको बताए।

मन्त्रालयमा पदभार ग्रहण गरिरहँदा मन्त्री पाण्डेले समयानुकूलको पर्यटन नीति बनाउने बताएका थिए। हाल त्यसको लागि उपसमिति गठन गरेको छ।

मन्त्रालय सम्हाल्दै गर्दा मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्नुपर्ने औंल्याउँदै अध्ययन समिति गठन गरेको बताएका थिए। उनले सो समितिले गहिरो अध्ययन गरेर समयानुकूल पर्यटन नीति बनाउने प्रतिबद्धता गरे पनि समयमै सो काम पूरा नहुने हो कि भन्ने चिन्ता अध्यक्ष शाह व्यक्त गरे।

अस्थिर सरकार र समयनुकूल नीति तथा कानुनको अभाव, कोभिड महामारी, आर्थिक संकट, सरकार तथा सरोकारवालाबीचको खाडल जस्ता कारणले मुलुकको संस्कृति, पर्यटन क्षेत्रको विकासले जति गति लिनुपर्ने हो त्यो हुन सकेको छैन।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले वायुसेवा निगमको सुधार नभई मुलुकको पर्यटनको दिगो सुधार नहुने बताए। उनले जुनै मन्त्री आए पनि मुलुकको पर्यटनको विकास वायुसेवा निगमको सुधार र विकाससँग जोडिएको बताउँदै भने, ‘वायुसेवा निगमको सुधार र विकाससँग नेपालको पर्यटनको विकास अडिएको छ।’

विदेशी पर्यटक आकर्षित गर्न सके नेपालको अर्थतन्त्रमा योगदान दिन सक्ने पर्यटन मन्त्री पाण्डे स्वीकार गर्छन्। मन्त्री पाण्डे आर्थिक समृद्धिको लागि सरकारले लगानी मैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै मन्त्रालयले सोही अनुरूप काम गरिरहेको बताउँछन्। संस्कृति, पर्यटन र उडान क्षेत्रको विकास तथा विस्तारका लागि काम गर्ने बताए ।

प्रकाशित: २७ भाद्र २०८१ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App