९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

कोरला नाकामा पूर्वाधार निर्माणको माग

चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङको कोरला नाकामा भौतिक संरचना निर्माण गर्न सांसदले माग गरेका छन्। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमाना पर्ने कोरला नाकामा चीनले संरचना निर्माण गरे पनि नेपालतर्फ भने पूर्वाधार निर्माण हुन सकेको छैन। नाका खुलेर व्यावसायिक रूपमा सञ्चालन गर्न सके त्यसले नेपाली अर्थतन्त्रमा सघाउ पुग्ने बताउँदै आए पनि नेपाली पक्षले पूर्वाधार निर्माणमा चासो देखाएको छैन। चीनले सीमा पूर्वाधार निर्माण गरिसकेको छ।

स्थानीय प्रशासनले दिएको पासको आधारमा मुस्ताङका स्थानीय आवतजावत गरे पनि व्यापारिक दृष्टिकोणले नाका सञ्चालनमा ल्याउन सके नेपाललाई फाइदा पुग्छ । नाकामा पूर्वाधार नभएको विषय प्रतिनिधिसभामा पनि प्रश्न उठेको छ। 

प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले) का सांसद देवीप्रकाश भट्टचनले मुस्ताङको कोरला सीमामा भौतिक संरचना निर्माण थाल्न सरकारको ध्यानाकर्षण गराए। ‘कोरला सीमा नाकामा नेपालतर्फको भौतिक संरचना शून्य छ,’ भट्टचनले संसद्मा भने, ‘व्यापारिक, पर्यटकीय एवं धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण कोरला नाकामा भौतिक संरचना निर्माणको कार्य यथासक्दो चाडो पहल गर्न ध्यानाकर्षण गराउँछु।’

सांसद भट्टचनले कोरला सीमामा नेपालतर्फ भन्सार, सीमा प्रहरी, सैनिक तथा कर्मचारीहरूका लागि आवाससहितको भौतिक संरचना निर्माण कार्य थाल्न सरकारको ध्यानाकर्षण गराएका हुन्। कोरला सीमाको कालीगण्डकी करिडोर सडक म्याग्दीदेखि कोरलामा आवश्यक बजेट उपलब्ध गराइ सडक कालोपत्रे र पुलहरूको निर्माण गर्न पनि आग्रह गरेका छन्।

चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या छ। लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि खुलाइएको कोरला नाकाको नेपालतर्फ आवश्यक भौतिक संरचना नहुँदा व्यापारी, स्थानीयवासी र पर्यटक समस्यामा छन्। नेपालतर्फको सिमानामा भन्सार, सामान भण्डारण, सुरक्षा निकायका लागि भवनलगायतका पूर्वाधार बनेको छन्। 

चिनियाँ बजारबाट सामान किनेर नेपाली भूगोलमा गाडीमा ल्याउनुपर्दा झन्झट हुने व्यवसायी मिना गुरुङले बताए। कोरलाबाट ल्याएको सामान जाँचपास गराउन १३ किमी तल नेचुङ भन्सार कार्यालय र प्रहरी चेकपोष्टमा ल्याउनुपर्दा झन्झट हुने गरेको छ।नाकामा भन्सार र सुरक्षा निकायको नियमित उपस्थितिका लागि भवन, खानेपानी, सञ्चार सुविधा र शौचालयको व्यवस्थापन तत्कालै गर्नुपर्ने लोमान्थाङ–१ छोसेरका छिरिङ ल्यामो गुरुङले बताए ।  

कोरला घुम्न आउने पर्यटक र व्यापारीका लागि छोसेरका व्यवसायीले त्रिपालको अस्थायी टहरा बनाएर चिया तथा खाजा पसल सञ्चालन गर्ने गरेका छन्। चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । नेपालतर्फबाट फापरको पिठो, चिउरा, चाउचाउ, जडीबुटी, पश्मिनालगायत सामान निर्यात गर्न सकिने सम्भावना छ। हाल चीनबाट आयात मात्र भएको छ । नेपाली सामान निर्यात हुन सकेको छैन।

चीनतर्फ निर्मित भवनभित्र पसलहरू छन्। चीनले कोरलासम्म कालोपत्र सडक निर्माण गरेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जारी गरेको प्रस्थान प्रवेशपत्र भएका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा कोरलाको चिनियाँ बजार जान पाउँछन्। करिब एक हजार जनाले प्रस्थान प्रवेशपत्र लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कोरोना महामारी फैलिएपछि २०७६ सालदेखि कोरला नाका पूर्णरूपमा बन्द भएको थियो। त्यसअघि कोरलामा वर्षमा दुई पटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो। २०३२ सालदेखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो। २०५८ सालसम्म रोकटोक नरहेको सीमा २०५९ सालदेखि चीनले तारबार गरेर मेलाबाहेकको अवधिमा बन्द गर्दै आएको थियो। 

कोरला नाका नियमित सञ्चालन र सबै मुस्ताङवासीलाई आवतजावतको व्यवस्था भएपछि स्थानीयलाई सहज भए पनि व्यावसायिकरूपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधारको खाँचो रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए।

प्रकाशित: ९ भाद्र २०८१ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App