विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व सङ्कलनको लक्ष्य घटाएको छ।
आर्थिक वर्ष ०८०/८१ मा ५० अर्ब ८१ करोड ६३ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा चालु आर्थिक वर्षका लागि ४१ अर्ब ८१ करोड ६३ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको छ।
राजस्वको लक्ष अनुसार राजस्व सङ्कलन नभएका कारण विराटनगर भन्सार कार्यालयले पछिल्ला वर्षहरूमा राजस्वको लक्ष्य नै घटाउँदै लगेको छ। विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष ५० अर्ब ८१ करोड, ६३ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा ३० अर्ब ३५ करोड १५ लाख लक्ष्यको करिब ६० प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो।
यस अघि आर्थिक वर्ष ०७९/८० का लागि विराटनगर भन्सार कार्यालयलाई ५९ अर्ब बढीको लक्ष्य तोकिएको थियो। विराटनगर भन्सार कार्यालयको राजस्व सङ्कलनको लक्ष घटाइए पनि चालु आर्थिक वर्षको पहिलो महिना साउनमै लक्ष्य अनुसार राजस्व संकलन नभएको देखिएको छ।
विराटनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन महिनामा लक्षको ८०.५५ प्रतिशत मात्रै राजस्व संकलन भएको छ। साउन महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ३ अर्ब ४९ करोड ७३ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य तोकिएको थियो।
तर, विराटनगर भन्सार कार्यालयले साउन महिनामा २ अर्ब ६२ करोड २६ लाख २५ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। गत वर्ष साउन महिनाका लागि ३ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ८५ करोड २९ लाख रुपैयाँ असुली गरेको थियो। साउन महिनामा गत वर्ष भन्दा पनि चालु आर्थिक वर्षमा सङ्कलन भएको राजस्व २३ करोड रुपैयाँ कम राजस्व संकलन भएको छ।
प्रकाशित: ५ भाद्र २०८१ १६:५८ बुधबार