२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरालाई पहिलो गन्तव्य बनाउन मेयर आचार्यको आग्रह

पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले पोखरालाई पहिलो गन्तव्य बनाउन आग्रह गरेका छन्। ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेशले ट्रेकिङ भरिया (पोर्टर)हरूका लागि आयोजना गरेको तालिमको आइतबार आयोजित समापन कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरा पर्यटनको राजधानी भएकाले यसलाई पर्यटनको पहिलो गन्तव्य बनाउन आग्रह गरेका हुन्। पर्यटनको राजधानी घोषणा गरेपछि पनि सरोकारवाला निकायहरूले पोखरालाई पहिलो गन्तव्य भन्न हिच्किचाएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथ्म)की कार्यकारी निर्देशक संगीता ओझाले पोखरा पनि पर्यटकीय गन्तव्य भएको बताएकी थिइन्। सोही विषयलाई समात्दै मेयर आचार्यले भने, ‘पोखरा पर्यटकीय राजधानी हो। त्यसैले पोखरा पनि पर्यटकीय गन्तव्य हो भन्ने होइन, पोखरा नै पर्यटकीय गन्तव्य हो। त्यसलाई सरोकारवालाहरूले बुझेर व्यवहारमा उतारुन्।’ उनले पर्यटकीय राजधानी पोखरा नआई कसैको पनि भ्रमण सफल नहुने दाबी गरे।

मेयर आचार्यले पर्यटकीय राजधानी घोषणा भएर के नै हुन्छ र ? भन्नेहरूले यसको महŒव नबुझेको बताए । पर्यटकीय राजधानी घोषणा भएपछि त्यही अनुसारको पूर्वाधार निर्माण हुने, बजेट प्राथमिकतामा पर्नेदेखि अन्य आवश्यक कुराहरू थपिने भन्दै उनले भने, ‘अहिले पोखरा महानगरले पनि त्यही गरिरहेको छ। अहिले भइरहेको तालिम पनि त्यसैको एउटा रूप हो।’

मेयर आचार्यले पोखरामा आउने पर्यटकको तथ्यांक राख्न सुरु गरिने बताए। अहिलेसम्म पोखरामा हवाई तथा सडक मार्गबाट कति कति पर्यटक आए भन्ने तथ्यांक राख्न नसकिरहेको अवस्थामा उनले भने, ‘हामी अब सडक मार्गबाट आउने पर्यटकको तथ्याङ्क दुई वटा नाकामा चेकपोष्ट राखेर संकलन गर्दैछौं। त्यसरी नै हवाई मार्गबाट आउनेको तथ्यांक पनि राखिनेछ।’ मेयर आचार्यले पर्यटनलाई चलायमान बनाउने प्रयास भइरहेको भन्दै अब चाँडै बेलायतका युवराज चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेकलाई व्यवस्थित गरेर सञ्चालनमा ल्याउन लागेको जानकारी दिए।

कार्यक्रममा बोल्दै नाथमकी कार्यकारी निर्देशक ओझाले पोखरा प्राकृतिक र सांस्कृतिक दृष्टिले धनी भएको बताइन्। पोखरा पनि पर्यटकीय गन्तव्य भएको बताउँदै उनले नाथमले चाँडै पोखरामा शाखा विस्तार गर्ने तयारी गरिरहेको बताइन्। त्यसका लागि सहयोग गर्न पनि उनको आग्रह थियो। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको ब्रान्डिङ गर्न जरुरी रहेको बताए । 

प्राकृतिक र सांस्कृतिक रूपमा धनी भएर पनि प्रचार प्रसारको अभावमा पोखरा ओझेलमा परेको भन्दै उनले स्वदेश तथा विदेशमा आक्रामक रूपमा प्रचारप्रसार गर्न सके पोखरा महानगरले घोषणा गरेको १५ लाख पर्यटक सजिलै ल्याउन सकिने दाबी गरे। टानका पूर्व अध्यक्ष डम्बरबहादुर केसीले पर्यटकीय गन्तव्यको र पूर्वाधार निर्माण हुन नसकेको बताए। टान गण्डकीले नाथमसँगको सहकार्यमा ट्रेकिङ पोर्टर गाईडहरूलाई तालिम दिएको जानकारी वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद आचार्यले दिए। 

उनका अनुसार तालिममा पोर्टर गाईडलाई पर्यटकसँग कस्तो व्यवहार गर्ने, उनीहरूलाई यहाँका पर्यटकीय गन्तव्यहरूको कसरी जानकारी दिने, पर्यटकलाई आकर्षित कसरी गर्ने र समस्या पर्दा कसरी व्यवस्थापन गर्नेबारे तालिम दिइएको हो। दुई सय २७ जना ट्रेकिङ पोर्टर गाइड तालिम दिइएको जानकारी सचिव तीर्थराज सुवेदीले दिए। टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सके ट्रेकिङको गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरे।

प्रकाशित: ५ भाद्र २०८१ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App